दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
जलसरोकार
काठमाडौं : १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटान गर्न आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत तनहुँमा पर्ने रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको हो। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने तनहुँका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ।
प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच तथा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा छ–छ वटा सामुदायिक वन रहेका छन्। चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण तथा ७८ वटा टावर जडान गर्ने काम सम्पन्न गरेको छ।
आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ। तनहुँतर्फ रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।
तनहुँ जलविद्युत आयोजनाको निर्माण तीनवटा प्याकेजमा भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ। उक्त प्याकेजको निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ।
त्यस्तै, प्याकेज–२ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। यस प्याकेजको निर्माण प्रगति ७९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।
आयोजनाको समग्र भौतिक प्रगति भने ७८ प्रतिशत पुगेको छ। प्रसारण लाइन निर्माणमा देखिएको वन क्षेत्रसम्बन्धी कानुनी प्रक्रिया अघि बढेसँगै बाँकी कामले गति लिने आयोजनाको विश्वास छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २३ लाखभन्दा बढी आवेदकमध्ये ८६ हजार ३२० जनाले पाए १० कित्ता शेयर
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
-
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
काठमाडौंका विभिन्न क्षेत्रमा ११ दिन विद्युत् प्रभावित हुने
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व