चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
जलसरोकार
काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालको बाह्य क्षेत्र उल्लेख्य रूपमा सुदृढ देखिएको छ। चालु खाता र शोधनान्तर दुवै उच्च बचतमा रहनुका साथै विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेर १८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनासम्मको “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति” प्रतिवेदनअनुसार माघ मसान्तसम्म चालु खाता रु चार खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा पनि चालु खाताको बचत उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता यस वर्ष तीन अर्ब ४७ करोड डलर बचतमा पुगेको छ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ। माघ मसान्तसम्म यस्तो ट्रान्सफर रु ११ अर्ब ४३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु पाँच अर्ब ८३ करोड रहेको थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि बढ्दै रु १० अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु सात अर्ब ४३ करोड रहेको थियो।
शोधनान्तर स्थिति पनि उल्लेख्य बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। माघ मसान्तसम्म शोधनान्तर स्थिति रु पाँच खर्ब ७२ अर्ब ७३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु दुई खर्ब ८४ अर्ब ४१ करोड मात्र रहेको थियो।
विदेशी मुद्रा सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ। गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनाको अवधिमा २३ दशमलव तीन प्रतिशतले वृद्धि भई रु ३३ खर्ब दुई अर्ब ६६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६ दशमलव सात प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति उल्लेख्य रूपमा बढेको छ। असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म २१ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि ४२ दशमलव आठ प्रतिशतले बढेर रु तीन खर्ब ७५ अर्ब ६७ करोड पुगेको छ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव पाँच प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ प्रणालीसँग रहेको विदेशी मुद्रा सञ्चिति २१ दशमलव तीन महिनाको वस्तु आयात र करिब १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
विश्लेषकहरूका अनुसार विप्रेषण आप्रवाह, आयात नियन्त्रण तथा सेवा क्षेत्रमा आएको सुधारका कारण बाह्य क्षेत्रको अवस्था पछिल्लो समय बलियो देखिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्