काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
जलसरोकार
तनहुँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र छ भने ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अगाडि बढाउन सकिने बताएका छन् । शुक्लागण्डकी नगरपालिकामा आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सह्य नहुने स्पष्ट गरे ।
मन्त्री घिसिङले निर्माण व्यवसायीले काम नगरे तत्काल ठेक्का तोड्नुपर्ने पक्षमा आफू रहेको बताउँदै भने, “प्रदेश सरकारका विकास आयोजना पनि अलपत्र अवस्थामा छन् । त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ। पुराना ठेक्का तोडेर कसरी काम गर्न सकिन्छ भन्नेमा लागिपरेको छु ।”
उनले कतिपय स्थानमा नयाँ पुल र सडक बनाउनुपर्ने आवश्यकता रहेको र भएका सडकको मर्मतसम्भार गर्नुपर्ने उल्लेख गरे । शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीहरूले पेश गरेको विकास निर्माण सम्बन्धी ज्ञापनपत्रसम्बन्धी विषय काठमाडौँमा सम्बन्धित निकायसँग समन्वय गरी छलफल गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री घिसिङले तनहुँमा निर्माण हुँदै गरेको तनहुँ जलविद्युत् आयोजनाले आर्थिक रूपमा ठूलो प्रभाव पार्ने बताउँदै उक्त आयोजना १०० प्रतिशत विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको र जनतालाई शेयर प्रदान गर्न सकिने सकारात्मक पक्ष रहेको जानकारी दिए ।
साथै, उनले, शुक्लागण्डकी–५, बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण समेत गरे । केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले डेडिकेटेड विद्युत् लाइन जडानका लागि अनुरोध गरे भने कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले यहाँबाट प्रवाह भइरहेका सेवाबारे जानकारी दिनुभयो। मन्त्री घिसिङले भारत सरकारसँग ३०० शय्यामा स्तरोन्नति गर्ने डिपिआरको सम्झौता प्रक्रियामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु