कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
जलसरोकार
बागलुङ: कालीगण्डकी करिडोरमा चार वर्षदेखि निरन्तर पहिरो खस्दै अवरुद्ध हुँदै आएको सडक समस्याको दीर्घकालीन समाधानका रूपमा बागलुङको दक्षिण भेगलाई जोड्ने मोटरेबल पुल निर्माण कार्य सुरु गरिएको छ । बर्खामा सडक ठप्प हुने अवस्था दोहोरिएपछि पहिरोको विकल्पमा कालीगण्डकी नदीमाथि पक्की पुल बनाउन थालिएको हो ।
बागलुङ नगरपालिका–१० स्थित गलुवाको दब्ल्याङ क्षेत्रमा विसं २०७८ देखि ठूलो पहिरो खस्न थालेको छ। त्यस्तै नगरपालिकाको १३ नम्बर वडाको कालाखोला बगरमा गत वर्षबाट सडकको ट्रयाक बगाएपछि करिडोर नियमितरूपमा अवरुद्ध हुँदै आएको थियो। यसले दक्षिण बागलुङ हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रुलाई वर्षेनि ठूलो सास्ती खेप्ने अवस्था सिर्जना हुँदै आएको थियो ।
रु १७ करोडमा मोटरेबल पुल बनाउन ठेक्का
गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग कालीगण्डकी नदीमाथि मोटरेबल पुल बनाउन रु १७ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।
पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्नेगरी निर्माण हुन लागिएको यो पुल लम्बाइ ः १०० मिटर, चौडाइ ः ११ मिटर रहेको छ । उक्त पुलको निर्माण अवधि ः ३ वर्ष रहेको छ ।
निर्देशनालयका सब–इन्जिनियर विजय सुवेदीका अनुसार अहिले ठेकेदार कम्पनीले पुल निर्माण स्थलमा दुवै किनारबाट २० मिटर तलको माटो निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि पिल्लर निर्माणसहित मुख्य काम सुरु हुनेछ।
करिडोर अवरुद्ध, विमानस्थल–मालढुङ्गा खण्डमै सबैभन्दा बढी असर
गत वर्ष कालाखोलामा खसेको भीषण पहिरो र गलुवामा वर्षेनि खस्ने पहिरोका कारण कालीगण्डकी करिडोरको बलेवा विमानस्थलदेखि मालढुङ्गा खण्डसम्म यात्रा अत्यन्त जोखिमपूर्ण र अवरुद्ध हुँदै आएको छ।
करिडोर कालोपत्र गर्ने तयारी भए पनि पहिरोका कारण पूर्वाधार निर्माण अघि बढ्न सकेको छैन।
पुल निर्माणले यातायात सहज, वैकल्पिक मार्ग मजबूत
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री तथा बागलुङ क्षेत्रका प्रतिनिधि कृष्ण पाठकका अनुसार वर्षेदेखि निरन्तर पहिरोमा परेको करिडोरलाई विकल्पका रूपमा पुल निर्माण अघि बढाइएको हो।
“पुल बनेपछि दक्षिण बागलुङबाट गुल्मी, पाल्पा हुँदै बुटवल यात्रु सबैले सहज यातायात सुविधा पाउँछन्,” मन्त्री पाठकले बताए ।
यस पुललाई मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जोड्ने महत्वपूर्ण संयोग बिन्दुका रूपमा लिइएको छ ।
पहिरोको जोखिम हटाउँदै दीर्घकालीन समाधानतर्फ
पटक–पटक पहिरोले करिडोर अवरुद्ध हुँदा बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा ठप्प हुने समस्या बढ्दै आएको थियो। स्थानीयको निरन्तर दबाब, जनप्रतिनिधिको पहल र भू–जोखिमा आधारित वैकल्पिक संरचनाको आवश्यकता देखिएपछि नदीमाथि मोटरेबल पुल निर्माणलाई प्राथमिकता दिइएको हो ।
लेखकको बारेमा