१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु
जलसरोकार
म्याग्दी : १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित विद्युत्गृह निर्माणस्थलबाट मुख्य सुरुङसँग जोडिने अडिट सुरुङ निर्माण थालेको हो ।
मुख्य सुरुङमा पुग्ने पहुँचमार्गलाई अडिट भनिन्छ । आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार पहुँचमार्ग निर्माण सम्पन्न भएपछि चार ठाउँबाट मुख्य सुरुङ खन्ने तयारी गरिएको छ ।
उनका अनुसार भालेबासस्थित ४८५ मिटर लामो पहिलो अडिटमध्ये तीन महिनामा १३० मिटर सुरुङ खनिसकिएको छ । विद्युत्गृहस्थित चौथो तथा अन्तिम अडिटको लम्बाइ १७० मिटर रहनेछ ।
आयोजनामा पाँच किलोमिटर ६०० मिटर मुख्य सुरुङ निर्माण हुनेछ । बाँध र गाडपार क्षेत्रबाट थप दुईवटा अडिट सुरुङ निर्माण गर्ने तयारी भइरहेको वरिष्ठ प्रबन्धक श्रेष्ठले जानकारी दिए । अडिटसहित आयोजनामा करिब सात किलोमिटर सुरुङ निर्माण हुने उनले बताए।
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको पहिरा थाप्लामा बाँध तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माण गर्ने योजना रहेको छ । आयोजनाका निर्देशक रमण सिंहले आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताए ।
उनका अनुसार बर्खायाम सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई समानान्तर रूपमा अघि बढाइनेछ । सिभिल निर्माणका लागि एन्जेलिक इन्टरनेसनल र साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालन भइसकेका छन् । थप जनशक्ति तथा उपकरण परिचालन गरी विद्युत्गृह र बाँध निर्माणको तयारी भइरहेको आयोजनाले जनाएको छ ।
‘रन अफ द रिभर’ प्रकृतिको आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन निर्माण हुनेछ । विद्युत्गृहदेखि आउटलेटसम्मको उचाइ ४८० मिटर रहेको छ । आयोजनाका लागि प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी तथा नेपाली सेनाका कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवनसमेत तयार भइसकेका छन् ।
आयोजनास्थलसम्म पुग्न आठ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । गाडपारमा बेलिब्रिज जडानको तयारी भइरहेको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको करिब एक किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ ।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ । अडिट सुरुङ निर्माण सुरु गर्ने कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामी, जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो ।
वडाध्यक्ष फगामीले कालीगण्डकी ‘गर्ज’लाई म्याग्दी जिल्लाकै हालसम्मको ठूलो जलविद्युत् आयोजना भएको बताउनुभयो । उहाँका अनुसार नारच्याङ भएर बग्ने नदीमा यसअघि १६२ मेगावाट क्षमताका पाँचवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् ।
नारच्याङमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ र छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा छन् । नारच्याङको सीमाबाट बग्ने कालीगण्डकीमा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ भने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो
-
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु
-
कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-१ मा अझै ४३९ जना सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
-
विद्युत्मा लगाइएको भ्याट हटाउने सरकारको तयारी