सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल गरिने : अध्यक्ष ढकाल

जलसरोकार
शुक्रबार, पुस २५, २०८२ | १५:१४:०९ बजे

भक्तपुर :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि महासंघले पहल गर्ने बताएका छन्।

भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व आवश्यक रहेको उल्लेख गरे। सो उद्देश्यका लागि आफूले सक्रिय पहल गर्ने उनको भनाइ थियो।

ढकालले महासंघले निजी क्षेत्रको साझा छाता संगठनका रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको हक-हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताए। निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने विषयको पैरवी, अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन तथा लगानीमैत्री वातावरण निर्माणका लागि दर्जनौँ कानुन संशोधनमा महासंघले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

उत्पादन, रोजगारी र लगानी प्रवर्द्धनका लागि नीतिगत स्थायित्व र सरकार-निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै ढकालले महासंघको निरन्तर प्रयासकै कारण धेरै नीतिगत सुधार सम्भव भएको दाबी गरे। उनका अनुसार मुलुकभित्र लगानी प्रवर्द्धनमा महासंघको बलियो उपस्थिति देखिएको छ।

पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै उनले यस्तो अवस्थामा निजी क्षेत्रले शान्ति-सुरक्षा र लगानीमैत्री वातावरणको सुनिश्चितता खोजिरहेको बताए।

मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल उकास्नु आजको प्रमुख आवश्यकता रहेको बताउँदै ढकालले भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा गलत नियतले घुसपैठ गरी उद्योग-व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

महासंघले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले महासंघकै पहलमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना गरी काम अघि बढिरहेको जानकारी दिए। उक्त कम्पनीमार्फत ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता, उत्पादनमूलक क्षेत्रमा लगानी र रोजगारी सिर्जनालाई लक्ष्य बनाइएको उनले बताए। साथै, स्थानीय उद्यमीहरूलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरे।

भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले मात्र होइन, परम्परागत हस्तकला, घरेलु उद्योग तथा साना-मझौला व्यवसायको केन्द्रका रूपमा पनि परिचित जिल्ला भएको उल्लेख गर्दै ढकालले स्थानीय उद्योग, व्यवसाय र पर्यटन प्रवर्द्धनमा उद्योग वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण हुने बताए।

प्रकाशित मिति : शुक्रबार, पुस २५, २०८२ | १५:१४:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया