भोटेकोशी-त्रिशूली विपद्पछि ऊर्जा क्षेत्रको पुनर्निर्माण र सुरक्षाका लागि ‘सीन’ को व्यापक अध्ययन
मानवीय क्षतिदेखि आयोजना पुनर्निर्माण, वित्तीय राहत, पूर्वसूचना प्रणाली र संस्थागत सुधारसम्म समेट्दै मन्त्रालयलाई ६ विषयमा सुझाव
जलसरोकार
काठमाडौं : भोटेकोशी-त्रिशूली जलविद्युत् करिडोरमा गएको विनाशकारी विपद्पछि प्रभावित आयोजनाको पुनर्निर्माण, ऊर्जा प्रणालीको पुनःस्थापना र भविष्यमा यस्ता विपद् सामना गर्न सक्ने क्षमता विकासका लागि सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले व्यापक अध्ययनसहित सरकारलाई सुझाव दिएको छ।
सीनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई केही दिनअघि बुझाएको “भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत् आयोजनाको विपद्पछिको पुनःस्थापना र जोखिम प्रतिरोधी क्षमता विकास कार्ययोजना” (Post-Disaster Recovery and Resilience Roadmap for the Hydropower Projects of the Bhote Koshi-Trishuli Corridor) नामक प्रतिवेदनले विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण मात्र प्रस्तुत गरेको छैन, ऊर्जा क्षेत्रमा विद्यमान नीतिगत, संस्थागत, प्राविधिक र वित्तीय कमजोरी पहिचान गर्दै दीर्घकालीन सुधारका उपायसमेत प्रस्ताव गरेको छ।
नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा आयोजित छलफल, प्रभावित आयोजनाका प्रस्तुतिहरू, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, नियामक, विज्ञ, प्राविधिक संस्था र प्राज्ञिक क्षेत्रको सुझाव समेटेर तयार गरिएको प्रतिवेदनले विपद्पछिको पुनःस्थापनालाई सामान्य पुनर्निर्माणभन्दा फराकिलो दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएको छ।
भदौ १०, २०८३ मा ल्हेन्दे-भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा गएको हिम तथा चट्टानी पहिरो, नदी थुनिएर बनेको अवरोध र त्यसपछि आएको ढुंगा-माटोसहितको बाढीजन्य प्रवाह (debris flow) ले भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत् आयोजना, प्रसारण संरचना, सडक, पुल र वितरण प्रणालीमा व्यापक क्षति पुर्याएको थियो। प्रतिवेदनअनुसार १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने २२० केभी त्रिशूली ३बी हब सबस्टेसन पूर्ण रूपमा ध्वस्त भएको छ। छवटा प्रसारण लाइनमा रहेका ५१ टावरमा क्षति पुगेको छ।
प्रारम्भिक मूल्यांकनअनुसार क्षति करिब ८२ अर्ब रुपैयाँ पुगेको छ। विपद्मा ऊर्जा क्षेत्रका ८६५ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको विवरण प्रतिवेदनमा उल्लेख छ। तीमध्ये नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीसँग सम्बन्धित ३४३ जना तथा निजी क्षेत्रका आयोजनासँग सम्बन्धित ५२२ जना छन्। प्रतिवेदनले यी विवरणलाई परामर्शमा प्रस्तुत गरिएका तथ्यांकका रूपमा उल्लेख गर्दै अन्तिम आधिकारिक विवरणबाट मिलान गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ।
पुनर्निर्माणभन्दा पहिले जोखिमको पुनर्मूल्यांकन
सीनले प्रभावित आयोजनालाई पुरानै डिजाइन र संरचनाका आधारमा पुनर्निर्माण गर्ने निर्णय गर्न नहुने सुझाव दिएको छ। नदीको धार, नदीको सतह, भूगर्भीय अवस्था र विपद्को प्रकृति परिवर्तन भएको अवस्थामा प्रत्येक आयोजनाको छुट्टाछुट्टै जोखिम मूल्यांकन आवश्यक हुने प्रतिवेदनको निष्कर्ष छ।
स्वतन्त्र विज्ञ टोलीबाट अध्ययन गराएर आयोजना पुनर्निर्माण गर्ने, सुधारसहित पुनः सञ्चालन गर्ने वा स्थायी रूपमा बन्द गर्ने निर्णय गर्नुपर्ने प्रस्ताव गरिएको छ। नयाँ जोखिम मूल्यांकन र संशोधित डिजाइन मापदण्ड तयार नभएसम्म पुनर्निर्माण स्वीकृत नगर्न पनि प्रतिवेदनले सुझाएको छ।
मानवीय क्षतिलाई पहिलो प्राथमिकता
बेपत्ता कर्मचारी तथा कामदारका परिवारले राहत, क्षतिपूर्ति, बीमा, पेन्सन र अन्य सुविधा प्राप्त गर्न कानुनी रूपमा मृत घोषणा तथा दाबी प्रक्रियामा स्पष्टता आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
सरकारी, प्राधिकरणका सहायक कम्पनी, निजी क्षेत्र, ठेकेदार तथा दैनिक ज्यालादारी कामदार सबैलाई समान आधारमा राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सीन ले प्रस्ताव गरेको छ। परिवारलाई एकमुष्ट रकम, आश्रितमध्ये एक जनालाई रोजगारी, बालबालिकाको शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
पुनर्निर्माणका लागि वित्तीय स्रोत र नियामकीय सहजीकरण
विपद्बाट क्षतिग्रस्त आयोजनाले पुनर्निर्माणका लागि थप ऋण लिनुपर्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाको कर्जा वर्गीकरण, कालोसूची, ऋण पुनर्संरचना र किस्ता भुक्तानीसम्बन्धी व्यवस्थाले थप समस्या सिर्जना गर्न सक्ने प्रतिवेदनले देखाएको छ।
यसका लागि नेपाल राष्ट्र बैंकले तत्काल राहतसम्बन्धी निर्देशन जारी गर्नुपर्ने, ऋण भुक्तानी स्थगन तथा पुनर्संरचना, खराब कर्जामा वर्गीकरण र कालोसूचीमा पर्ने जोखिमबाट राहत तथा सहुलियतपूर्ण पुनर्वित्तको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
बीमा रकम, प्रवर्द्धकको आफ्नै स्रोत, सरकारी पुनर्निर्माण सहायता र सहुलियतपूर्ण तथा जलवायु वित्तलाई पुनर्निर्माणको स्रोतका रूपमा उपयोग गर्नुपर्ने प्रतिवेदनको प्रस्ताव छ। नयाँ जोखिमअनुसार अपनाउनुपर्ने थप सुरक्षा मापदण्डको लागत प्रवर्द्धक वा विद्युत् महसुलमा भार पार्नुको सट्टा जलवायु वित्तबाट जुटाउनुपर्ने विषयसमेत उठाइएको छ।
पूर्वसूचना प्रणाली र आपत्कालीन तयारीमा सुधार
प्रतिवेदनले नदीको जलस्तर मात्रै मापन गर्ने प्रणालीले हिमपहिरो, चट्टानी पहिरो तथा debris flow जस्ता विपद्को प्रभावकारी पूर्वसूचना दिन नसक्ने औँल्याएको छ। त्यसैले भूगर्भीय हलचल, पहिरो तथा हिमपहिरोको गति र गतिविधि पत्ता लगाउने उपकरण, भूकम्पीय तथा infrasound detector, माथिल्लो क्षेत्रको निगरानी, क्यामेरा र अन्य आधुनिक प्रविधि समेटिएको प्रणाली विकास गर्नुपर्ने सुझाव दिएको छ।
पूर्वसूचना प्रणालीलाई उपकरण जडानमा मात्र सीमित नराखी नियमित परीक्षण, मर्मत, जिम्मेवारी, वित्तीय व्यवस्था र विपद्का बेला सूचना प्रवाहको स्पष्ट संयन्त्रसहित संस्थागत गर्नुपर्ने प्रतिवेदनको जोड छ। अन्य हिमनदीयुक्त नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाको जोखिम पनि तत्काल मूल्यांकन गर्न प्रस्ताव गरिएको छ।
संस्थागत समन्वय र कानुनी सुधार
विपद्का बेला विभिन्न निकायबीच समन्वय भए पनि प्रारम्भिक उद्धार तथा प्रतिक्रिया संयन्त्र समयमै सक्रिय हुन नसकेको प्रतिवेदनले औँल्याएको छ। ऊर्जा क्षेत्रका लागि छुट्टै आपत्कालीन कार्यप्रणाली, पूर्वनिर्धारित नेतृत्व, जिम्मेवारी बाँडफाँट र स्पष्ट सक्रियता मापदण्ड आवश्यक रहेको सुझाव दिइएको छ।
ऊर्जा क्षेत्रका नियामक निकायहरूले आ-आफ्नो अधिकारक्षेत्रभित्र आवश्यक निर्देशिका जारी गर्नुपर्ने, विपद्को कानुनी परिभाषा र force majeure सम्बन्धी व्यवस्था एकरूप बनाउनुपर्ने, संकटग्रस्त क्षेत्र घोषणाको ऊर्जा क्षेत्रमा पर्ने प्रभाव स्पष्ट गर्नुपर्ने तथा पुनर्निर्माणका क्रममा उत्पन्न हुने कानुनी अवरोध हटाउनुपर्ने प्रतिवेदनको प्रस्ताव छ।
सीन ले विद्यमान विपद् व्यवस्थापन संरचनाभित्रै ऊर्जा क्षेत्रको आपत्कालीन संयन्त्र स्थापना गर्न, एउटै समन्वय प्रणाली विकास गर्न तथा प्राविधिक ज्ञान, अनुभव र संस्थागत स्मृति सुरक्षित राख्ने स्थायी व्यवस्था गर्न पनि सुझाव दिएको छ।
विपद्बाट सिकेका पाठलाई स्थायी सुधारमा बदल्ने प्रयास
सीन को प्रतिवेदनले भोटेकोशी-त्रिशूली विपद्लाई एउटा करिडोरमा भएको क्षतिको घटनाका रूपमा मात्र नहेरी नेपालको जलविद्युत् क्षेत्रको सुरक्षा, लगानीको दिगोपन, विपद् तयारी र संस्थागत क्षमता परीक्षणका रूपमा प्रस्तुत गरेको छ।
प्रतिवेदनले विगतका विपद्, भूकम्प, बाढी र ऊर्जा क्षेत्रका संकटबाट प्राप्त अनुभवलाई स्थायी नीति, मापदण्ड र संस्थागत संरचनामा रूपान्तरण गर्न नसकिएको उल्लेख गर्दै यसपटक प्राप्त सिकाइलाई स्थायी रूपमा संस्थागत गर्न आग्रह गरेको छ।
विपद् प्रभावित आयोजना र ऊर्जा क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक विज्ञता, प्राविधिक सहयोग, अध्ययन, डिजाइन मापदण्ड, नियामकीय सुधार तथा तालिममा सहयोग गर्न सीन ले आफ्नो सदस्यहरूको प्राविधिक क्षमता मन्त्रालयलाई उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
ऊर्जा क्षेत्रमा विपद्पछिको पुनःस्थापनालाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन बनाउन तयार गरिएको प्रतिवेदनले तत्कालीन राहतदेखि भविष्यको ऊर्जा पूर्वाधारलाई थप जोखिमप्रतिरोधी बनाउनेसम्मका विषय समेटेको छ। यसको कार्यान्वयन भने मन्त्रालय तथा सम्बन्धित सरकारी निकायले प्राथमिकता निर्धारण गरी अघि बढाउनुपर्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी-त्रिशूली विपद्पछि ऊर्जा क्षेत्रको पुनर्निर्माण र सुरक्षाका लागि ‘सीन’ को व्यापक अध्ययन
-
बालेनको भारत भ्रमणलाई दिल्लीले रणनीतिक सम्बन्ध पुनःस्थापना गर्ने अवसरका रूपमा हेर्यो
-
हिमाली क्षेत्रमा बादल र हल्का हिमपातको सम्भावना, अधिकांश ठाउँमा मौसम सफा रहने
-
विद्युत् प्राधिकरण टुक्र्याएर होइन, सुधारेर बलियो बनाऊ
-
प्राधिकरणमा कर्मचारी सरुवा, १० वर्षभन्दा बढी सहायक कम्पनीमा रहेका कर्मचारी फिर्ता बोलाइने
-
कोरला नाकाबाट चार महिनामै सात हजार विद्युतीय सवारी आयात, राजस्व पनि लक्ष्यभन्दा ३ अर्ब बढी