सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | १२:२९:३६ बजे
फाइल तस्वीर

काठमाडौं : चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यका क्रममा करिब १०५ मिटरभित्रबाट चिसो हावा बाहिर आएको तथा हावाको दोहोरो बहाव देखिएको जानकारी प्राप्त भएको छ। उद्धार टोलीले सुरुङभित्र आवाज पठाउँदा प्रतिध्वनि (इको) समेत आएको बताइएको छ।

चिलिमे आयोजनास्थलमा उद्धार प्रयासमा समन्वय गरिरहेका इन्जिनियर श्रीराम न्यौपानेले नेपाली सेनाको उद्धार टोलीबाट भर्खर प्राप्त जानकारी उद्धृत गर्दै सुरुङभित्रको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्।

न्यौपानेका अनुसार उद्धार टोली सुरुङभित्र करिब १०५ मिटर पुगेको स्थानबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव भएको छ। त्यस्तै उद्धार टोलीले सुरुङभित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि आएको जानकारी पनि प्राप्त भएको उनले बताएका छन्।

यो संकेतलाई उद्धार कार्यका लागि महत्वपूर्ण मानिएको छ। यद्यपि चिसो हावाको बहाव र प्रतिध्वनि कुनै खाली स्थान वा ठूलो खुला संरचनाबाट आएको हो भन्ने यकिन भने उद्धार टोलीले थप अगाडि बढेपछि मात्रै हुनेछ।

के संकेत गर्छ चिसो हावा र प्रतिध्वनिले ?

सुरुङभित्रबाट चिसो हावा आउनु, हावाको दोहोरो बहाव महसुस हुनु र आवाजको प्रतिध्वनि फर्किनु—यी तीनवटै संकेतलाई सँगै हेर्दा उद्धार टोलीको अगाडि पूर्ण रूपमा लेदोले भरिएको अवरोध मात्र नभई हावायुक्त कुनै खाली स्थान हुन सक्ने सम्भावना देखिन्छ। यस्तो खाली स्थान पावरहाउस, सुरुङको अर्को खुला भाग वा अन्य कुनै संरचनात्मक खाली ठाउँ हुन सक्छ।

यसअघि न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको पावरहाउसको माथिल्लो भागमा मानिस बस्न सक्ने खाली स्थान रहेको हुन सक्ने प्राविधिक विश्लेषण प्रस्तुत गरेका थिए। उनका अनुसार पावरहाउस क्षेत्रमा खाद्यान्न, खानेपानी तथा ठूलो क्षमताका ब्याट्री बैंकसमेत रहेको जानकारी प्राप्त भएको थियो।

चिलिमेमा सुरुङभित्र फसेका मानिसको खोजीका लागि नेपाली सेना, भारतीय सेना तथा अन्य प्राविधिकसहितको संयुक्त टोलीले लेदो हटाउने, पहुँचमार्ग विस्तार गर्ने तथा आवश्यक उपकरण परिचालन गर्दै उद्धार कार्य जारी राखेको छ।

यसअघि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि दुई जना कामदारलाई जीवितै उद्धार गरिएको घटनाले रसुवा क्षेत्रका अन्य सुरुङमा जारी उद्धार प्रयासमा पनि आशा बढाएको थियो। उद्धारका क्रममा आवाज र सम्भावित खुला स्थान पहिचान हुनु खोजीका लागि महत्वपूर्ण हुन सक्ने भए पनि चिलिमेको पछिल्लो संकेतबारे भने उद्धार टोलीको थप प्राविधिक पुष्टि आवश्यक रहेको छ।

हाल उद्धार टोलीको सम्पूर्ण ध्यान सुरुङभित्र थप अगाडि बढेर उक्त हावाको स्रोत र प्रतिध्वनिको वास्तविक कारण पहिचान गर्नेतर्फ केन्द्रित छ। सुरुङभित्रको यो नयाँ संकेतसँगै चिलिमेमा जीवित उद्धारको आशा फेरि बलियो बनेको छ।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | १२:२९:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया