ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चोभारको गल्छी साँघुरो भयो, उपत्यकामा बाढी नै कम गराउन जरुरी

ओम राउत
शुक्रबार, असार १३, २०८२ | १७:२२:१२ बजे

हिजो नागमती बाँध र चोभारको गल्छीबारे महत्वपूर्ण छलफल भएछ । मलाई पनि एकजना हितैषी मित्रले ‘दाई तपाईंको क्षेत्र परेकोले सूचना गरें है’ भनेर निम्ता दिनुभएको हो । तर आफ्नै कार्य व्यस्तताले  जान पाइनँ। राम्रा कुराहरु भए होलान्, हितकारी कुराहरु भए होलान् भनेर अनुमान मात्र गर्ने हो, निचोड के आयो थाहा छैन। नागमतीको औचित्यबारे म पनि त्यति धेरै सकारात्मक छैन। बागमतीको low flow augmentation and pollution dilution भन्दा पनि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति मेलाम्चीको सट्टामा वैकल्पिक श्रोतको रुपमा काम गर्ने योजना बनाएको भए त्यसमा निहित जोखिमलाई पनि उचित ठहर्‍याउन सकिन्थ्यो होला । नत्र यसलाई ‘ओहो क्या गजबको योजना’ भन्ने निचोडमा म पनि पुगेको छैन, शिवाय यो कि म त्यहाँ नजिक निर्माण भइसकेको धाप ड्यामसम्म दुईपल्ट पुगें— हाइकिङ् र घुमघाम गर्न । रमाइलै ठाउँ छ। एकपल्ट धाप बाँधसम्म सबैलाई पुग्न रमाईलै छ है भनेर सुझाव दिन पनि चाहें।

अब जहाँसम्म चोभारको गल्छी साँघुरो भयो, अब आउने बाढी राम्रोसँग पास हुन नसक्दा चोभारमाथिको भूभाग डुबानमा पर्ने भयो भन्ने सबाल छ, यसमा इतिहास, संस्कृति, राजनिति, भू-उपयोग, मानवीय भावना सबै मिसिएको हुनाले प्रस्तुति पनि यी सबै विषयलाई मध्यनजर गरेर नै भए होलान् । सबैको चित्त बुझ्यो होला । नयाँ ज्ञान बाँडियो होला । आफू बञ्चित भएकोमा केही खेद पनि छ। तर जहाँसम्म कति पानी पर्दा कति बाढी आउँछ र कति बाढी कत्रो ठाउँबाट पठाउँदा माथितिर कतिसम्म डुबान हुन्छ भन्ने कुरा छ, त्योचाहिं विशुद्ध विज्ञान हो र यसले इतिहास, संस्कृति, मानवीय भावना र मनगढन्ते विचारलाई पटक्कै आदर गर्दैन, भाउ दिंदैन। यसको मिहिन अध्ययन आजसम्म उपलब्ध उपत्यकामा कति पानी पर्छ र हालसम्म कति ठूलो बाढी आएको छ, पहिले पर्ने जति नै परेको आजको पानीले किन पहिलेको भन्दा डेढीदेखि दोब्बर बाढी पहिलेको भन्दा चौबर छिटो समयमा आउँछ भन्ने ज्ञान चाहिं आंकडामा आधारित hydrogeological and hydraulic modelling, rainfall-runoff modelling को आधारमा गरिनु वाञ्छनीय होला नि भनेर झण्डै ४/५ घण्टा लगाएर मैले केही काम गरें । आज र परिणाम यहांहरु समक्ष राख्दै छु।

१. चोभारमा River gauging station थियो र यो स्टेशनमा १९६३ देखि १९८० सम्मको फ्लो डाटा उपलब्ध छ, जसमा मासिक अधिकतम, न्यूनतम, औसत बहाव र वार्षिक अधिकतम बाढिको डाटा जल तथा मौसम विज्ञान विभाग (DHM) ले प्रकाशित गरेको छ।

२. चोभारको करिब १ किलोमिटर तल खोकनामा सन् १९९२ देखि २०१९ सम्मको माथिका सबै डाटा मसँग उपलब्ध छन् तर किन खोकना सारियो र १९८१ देखि १९९१ का डाटा कतै छन् वा छैनन्, न भए किन छैनन् भन्ने तथ्य पर जानकार मित्रहरुले प्रकाश पारिदिन हुन अनुरोध पनि गर्न चाहन्छु। र, साथै पोहोर सालको बिनासकारी बाढीको खोकनामा नापिएको डाटा कसैसंग भए inbox गरी दिनु हुन पनि बिनम्र अनुरोध गर्दछु।

३. उपलब्ध डाटाहरु प्रयोग गरी मैले तीनवटा ग्राफ बनाएर यहां शेयर गरेको छुः 1.Q-H relation (Rating Curve) at Chovar, 2. Rating Curve at Khokana, 3. Flood Frequency Curve of the combined flood data at Chovar and Khokana.

४. मेरो अध्ययनको निष्कर्ष निम्न बमोजिम छः

क. खोकनामा पुग्दा बागमतीको catchment area ६५८ वर्गकिलोमिटर छ, औसत बहाव १५.९ घनमिटर प्रतिसेकेन्ड र उपत्यकाको औसत वार्षिक वर्षा १३५० मिमि छ जस अनुसार यतिबेला खोकनामा बग्ने पानी उपत्यकामा परेको पानीको करीब ६० प्रतिशत हो (Runoff/Rainfall = 0.60)

ख. उपत्यकामा अब सबै नगरपालिका मात्र भएको र सबै खेतीयोग्य जमीन घडेरीमै बिक्री हुने हुनाले अन्ततोगत्वा यो अनुपात बढेर ९० प्रतिशत हुने हुनाले भविष्यको बाढी आजको भन्दा डेढ गुना बढी हुन सक्ने अनुमान गर्न सकिन्छ, बाढी कम गर्ने कुनै उपाय नअपनाएको खण्डमा। आजको बाढी आज भन्दा ५० वर्ष पहिलेको भन्दा दोब्बर ठूलो आउँछ किनभने खेत, बारी, चौरीहरु सबै नै कि घर कि पिच बाटो बनेर जमिनमुनि साेस्ने, खेतबारीमा अडिने भाग पानी पनि तुरुन्त बाढी बनेर खोलामा पुग्छ। यसलाई बिजुली शट भएको जस्तै प्राविधिक भाषामा Short-circuiting of hydrological cycle भनिन्छ। पानी पर्न थालेको १५ मिनटभित्रमा उपत्यकाका सबै खोला भरिभराउ भएर बाढी आउँछन्। यसको प्रभाव न्यूनीकरणको उपाय भनेको खोलामा पुग्ने पानीलाई बीचमै रोक्नु हो, जस्तै घर कम्पाउण्डको पानी कम्पाउन्डभित्रै जम्मा गरेर राख्ने, ठाउँ-ठाउँमा ठूला पोखरी बनाएर खोलाको बाढी तर्काउने, जमाउने जसबाट भूमिगत जलभण्डारको पुनरभरण पनि हुन जान्छ, बाढी पनि कम हुन जान्छ र खोलाको बहाव क्षेत्रमा बनेका बस्ती उजाडेर खोलालाई उसको अंश फिर्ता गर्ने।

५. पूल, कल्भर्ट बनाउँदा फराकिलो खोलालाई सांगुरो पारेर लागत कम गर्न पूल, कल्भर्टको चौडाइ कम गरेर खोला साँघुरो पारिन्छ, त्यसो गर्दा कल्भर्ट/पुलको मास्तिर खोला ढाडिन्छ, खोलाको सतह उचालिन्छ र जमिन डुबानमा पर्छ। चोभार एउटा प्राकृतिक कल्भर्ट जस्तै खोला साँघुरो पार्ने विन्दु हो र ठूलो बाढी आउँदा यसको माथितिर पानीको सतह निकै बढेर जमिन डुबानमा पर्ने कुरा शाश्वत सत्य हो भन्ने कुरा चोभारमा आजसम्म गएको अधिकतम बाढीमा पानीको गहिराई १३ मिटर सम्म पुगेको र त्यति नै बाढीमा १ किलोमिटर तल खोकनामा ६ मिटर मात्र भएकोबाट सजिलै अनुमान गर्न सकिन्छ। त्यसैले बुझ्नुपर्ने कुरा के हो भने चोभारबाट जति पनि पानी पास त हुन्छ तर जति ठूलो बाढी त्यति माथि सतह बढ्ने हुँदा धेरै क्षेत्र डुबानमा पर्छ र यो flow constriction लाई flow area बढाएर डुबानको समस्या पक्कै कम गर्न सकिन्छ तर त्यो भन्दा उत्तम उपाय भनेको बाढी नै कसरी कम गर्ने भन्नेमा फोकस हुनु जरुरी छ।

 

प्रकाशित मिति : शुक्रबार, असार १३, २०८२ | १७:२२:१२ बजे

लेखकको बारेमा

ओम राउत
सिनियर हाइड्रोलोजिस्ट

प्रतिक्रिया