राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च न्यून, प्रगति सन्तोषजनक
जलसरोकार
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च अपेक्षाअनुसार हुन नसकेको जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये समीक्षा अवधिसम्म १५.४५ प्रतिशत मात्र खर्च भएको छ भने भौतिक प्रगतिमा भने केही आयोजनामा सन्तोषजनक सुधार देखिएको छ ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको संख्या २७ पुगेको छ । तीमध्ये समयमै सम्पन्न भएका बाहेक २३ आयोजना कार्यान्वयनरत रहेका छन् ।
मन्त्रालयका अनुसार यी आयोजनाहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा राष्ट्रिय सुरक्षाका दृष्टिले रणनीतिक महत्वका रूपमा वर्गीकृत गरिएको छ । यसले दीर्घकालीन आर्थिक वृद्धि र समृद्धि हासिल गर्न योगदान पुर्याउने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय गौरवका आयोजनाका लागि लागत अनुमान करिब ८.५० अर्ब रुपैयाँ रहेको र यसले राष्ट्रिय सुरक्षा, रणनीतिक महत्व तथा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउने बताइएको छ ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा २३ आयोजनाका लागि कुल ६७ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर, समीक्षा अवधिसम्म विनियोजित बजेटमध्ये जम्मा १० अर्ब २९ करोड ३२ लाख रुपैयाँ (१५.४५ प्रतिशत) मात्र खर्च भएको छ, जुन लक्ष्यको तुलनामा न्यून हो ।
सम्पन्नमुख आयोजना अन्तर्गत माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको प्रतिवेदनमा उल्लेख छ ।
आयोजनागत प्रगतिमा पनि उल्लेखनीय सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ सम्म पुष्पलाल राजमार्गमा ५९.७३ प्रतिशत, हुलाकी राजमार्गमा ५७.३४ प्रतिशत र काठमाडौं–तराई द्रुतमार्गमा ४२.१३ प्रतिशत भौतिक प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ ।
यद्यपि, जग्गा प्राप्ति तथा मुआब्जा वितरण समस्या, वन क्षेत्रको उपयोगमा जटिलता, अन्तर-निकाय समन्वयको अभाव र स्थानीय तहका अवरोधजस्ता चुनौतीहरू आयोजनाका मुख्य समस्याका रूपमा रहेका छन् ।
मन्त्रालयले परियोजनाको पूर्वतयारी (डीपीआर, जग्गा प्राप्ति) समयमै सम्पन्न गर्ने, लागत अनुमान यथार्थपरक बनाउने र आयोजनाको प्रभावकारी अनुगमन प्रणाली विकास गर्ने सुधारका उपाय अघि सारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी