माथिल्लो त्रिशूली थ्री ‘बी’ मा इँटा र कंक्रिटका भग्नावशेष भेटिए, भवनको अवस्थाबारे अझै निष्कर्ष छैन
जलसरोकार
काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीले बगाएको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको कार्यालय तथा आवासीय भवन रहेको क्षेत्रमा गरिएको उत्खननका क्रममा इँटा र कंक्रिटका भग्नावशेष भेटिएका छन्। तर भेटिएका टुक्राबाट भवनको वास्तविक अवस्था वा स्थानबारे ठोस निष्कर्षमा पुग्न नसकिएको आयोजनाका प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द ढुंगेलका अनुसार मंगलबार बिहान करिब ८ बजेदेखि साँझ ६ बजेसम्म लगातार उत्खनन गरिएको थियो। यस क्रममा बी-१ र बी-२ आवासीय क्वार्टर तथा कार्यालय भवन रहेको क्षेत्रतर्फ उल्लेखनीय प्रगति भएको उनले जानकारी दिएका छन्।
“उत्खननका क्रममा फुटेका इँटाका ब्लक तथा कंक्रिटका बीमजस्ता देखिने टुक्राहरू भेटिएका छन्,” ढुंगेलले जलसरोकारलाई दिएको जानकारीमा भनेका छन्, “तर तीबाट कुनै ठोस निष्कर्ष निकाल्न सकिने अवस्था छैन। हालसम्म कुनै पनि संरचना अक्षुण्ण अवस्थामा फेला परेको छैन।”
उनका अनुसार बुधबार उत्खननलाई अझ गहिरो र थप अगाडिसम्म पुर्याइनेछ। बी-१, बी-२ क्वार्टर तथा कार्यालय भवन रहेको क्षेत्रको उत्खनन सम्भवतः बुधबार नै पूरा गर्ने लक्ष्य लिइएको छ।
नदीको बगर बनेको थियो कार्यालय क्षेत्र
गत भदौ १० गतेको भीषण बाढीपछि माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनाको कार्यालय तथा निर्माण क्षेत्र पुरिएर पूर्ण रूपमा नदीको बगरजस्तो बनेको थियो। त्यसपछि आयोजनास्थलमा रहेको कार्यालय, बी-१ र बी-२ क्वार्टरसहितका संरचनाको अवस्थाबारे खोजी गर्न भारी उपकरण पुर्याउने प्रयास सुरु गरिएको थियो।
पहिले स्थलगत निरीक्षणका क्रममा कम्पनीका सीईओ ढुंगेल, कम्पनीका कर्मचारी तथा नेपाली सेनाको टोली आयोजनाको क्याम्प तथा कार्यालय क्षेत्रसम्म पुगेको थियो। त्यसपछि बाढीले थुपारेको विशाल मात्राको माटो, ढुंगा र गेग्रान हटाउन उत्खननको तयारी गरिएको थियो।
यसअघि कम्पनीले तीन ठूला एक्स्काभेटर परिचालन गरी नदी किनारबाट कार्यालय भवन तथा बी-१ र बी-२ क्वार्टर रहेको क्षेत्रतर्फ उत्खनन अघि बढाएको थियो। नेपाली सेनाले समेत आफ्नो खोज तथा उद्धार अद्यावधिकमा उक्त क्षेत्रमा संयुक्त टोलीले बोबक्याट प्रयोग गरी करिब १० फिट गहिराइसम्म उत्खनन गर्दा पनि कुनै भौतिक संरचना फेला नपरेको जनाएको थियो।
मंगलबारको उत्खननमा भने इँटा र कंक्रिटका टुक्रा भेटिएपछि उक्त क्षेत्र भवनका भग्नावशेष हुन सक्ने सम्भावनालाई थप खोजीमार्फत स्पष्ट पार्ने प्रयास भइरहेको छ। तर कम्पनीले अहिलेसम्म भेटिएका सामग्रीका आधारमा भवन फेला परेको निष्कर्ष निकाल्न नमिल्ने स्पष्ट गरेको छ।
अब बुधबारको थप गहिरो उत्खननपछि बी-१, बी-२ र कार्यालय भवन बाढीको गेग्रानमुनि कहाँ र कस्तो अवस्थामा छन्, वा ती संरचना बगाएर अन्यत्र पुर्याइएका हुन् भन्नेबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा इँटा र कंक्रिटका भग्नावशेष भेटिए, भवनको अवस्थाबारे अझै निष्कर्ष छैन
-
चिलिमे सुरुङमा ९० मिटर अघि बढ्यो उद्धार टोली, पावरहाउसको सुरक्षित क्षेत्रमा ६ जना जीवित हुन सक्ने आशा
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा
-
म्याग्दी नदी बेसिनको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न डाडाखेतमा सबस्टेसन तयार
-
भोटेकोशी बाढी : पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन
-
सुन तोलामा ३५ सय र चाँदी सय रुपैयाँले बढ्यो