मुलुकमा ठूलाे परिवर्तन हुन लागेको छ : ऊर्जामन्त्री खड्का
जलसरोकार
नवलपुर (नवलपरासी) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा ठूलो परिवर्तन हुन लागेको बताएका छन् । सरकारले साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न लागेकाले सन्दर्भ उल्लेख गर्दै मन्त्री खड्काले युवाहरुलाई निरास नहुन आग्रह गरे ।
मन्त्री खड्काले युवाले त्यस परिवर्तनलाई बिर्सन लागेकाले सबैलाई सम्झाउन जरुरी रहेको बताए । “हामीहरूले अहिले साढे २८ हजार मेघावाट विद्युत् उत्पादन गर्ने भनेका छौँ”, उनले भने, “जहाँ ४७ खर्बभन्दा बढीको लगानी हुन्छ, त्यति लगानी गरिँदा कति रोजगारी सिर्जना हुन्छ होला एक पटक विचार गर्नुहोस् ।”
मन्त्री दीपक खड्काले मुलुक परिवर्तनको जिम्मा युवा पुस्तामा रहेको बताए । उनले निराशालाई आशामा परिणत गर्ने जिम्मा युवा पुस्तामा आएको बताए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा शुक्रबारदेखि सुरु भएको नेपाल जेसीजको सम्मेलन उद्घाटन गर्दै मन्त्री खड्काले आफू पनि विदेशमा काम गरेर नेपालमा केही गर्नुपर्छ भनेर फर्किएको बताए ।
“विदेश जानु अपराध होइन, त्यहाँ गएर सीप आर्जन गर्नु, मेहेनत गर्नु र फेरि आएर स्वदेशमा त्यसको सदुपयोग गर्नु अत्यन्त राम्रो पक्ष हो”, उनले भने, “त्यसैले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भनेर निर्माण गरिएको गलत भाष्य हटाउने दायित्व युवाकै काँधमा छ ।”
त्यहाँ प्रयोग हुने र उत्पन्न हुने रोजगारी महत्त्वपूर्ण भएको उहाँको भनाइ छ । युवाहरू निराश नभइ सङ्घर्ष गर्दै हिम्मतले काम गर्नुपर्ने र त्यसमा सरकारले सघाउने उनले बताए ।
आजदेखि सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनमा गैँडाकोटदेखि पश्चिमतर्फ महेन्द्रनगरसम्मका जेसीजका ५८ वटा शाखाबाट तीन सय ५० जना सहभागी भएको सम्मेलनका निर्देशक गोकुल सापकोटाले जानकारी दिए । गैँडाकोटमा आयोजना गरिएको यस सम्मेलनले गैँडाकोटको पर्यटनसँगै यहाँको सम्भावना र लगानीको अवसरका बारेमा युवाहरूलाई जानकारी गराउने सापकोटाले बताए ।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा गोष्ठी, साधारण सभा, सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तृत्वकला प्रतियोगिता, व्यापार कार्ड साटासाट, तालिम सकरात्मक कम्पन, पुरस्कार वितरणलगायत कार्यक्रम हुने नेपाल जेसीजका अध्यक्ष रवीन पोखरेलले बताए ।
जेसीजको आन्तरिक सम्मेलन भए पनि देशभरबाट प्रतिनिधिहरू आएकाले सम्मेलनलाई यस क्षेत्रको कला, संस्कृतिको प्रदर्शनी, स्थानीय उत्पादनको प्रवर्द्धन एवं पर्यटकीय आकर्षणको माध्यमबाट गैँडाकोटलाई चिनाउन भूमिका खेल्ने पोखरेलको भनाइ छ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा