सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढी : सरकार भन्छ जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन, इप्पानको तथ्यांकमा ८९४

जलसरोकार
मंगलबार, भदौ १६, २०८३ | १३:२८:३७ बजे

 

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिको सम्पर्कविहीन संख्यामा सरकारी र निजी क्षेत्रको तथ्यांक फरक देखिएको छ। सरकारको पछिल्लो आधिकारिक विवरणमा जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन रहेको उल्लेख छ भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ११ आयोजनाबाट ८९४ जना सम्पर्कविहीन रहेको जनाएको छ।

तथ्यांकमा देखिएको फरकको मुख्य कारण प्रभावित आयोजनाबाट प्राप्त विवरण अद्यावधिक हुने क्रम र सम्पर्कविहीन व्यक्तिको यकिन पहिचान हुन नसक्नु रहेको देखिन्छ। बाढीबाट आयोजनाका संरचना, पहुँचमार्ग तथा सञ्चार प्रणालीमा ठूलो क्षति पुगेकाले आयोजनामा कार्यरत सबै व्यक्तिको अवस्था तत्काल यकिन गर्नसमेत कठिन भएको छ।

इप्पानका अनुसार सबैभन्दा ठूलो संख्या २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ठुलाे संख्यामा मानिसह सम्पर्कविहीन छन्। निर्माणाधीन उक्त आयोजनाबाट ५७३ जना सम्पर्कविहीन रहेको इप्पानको दाबी छ। सोमबार तीन जनाको उद्धार भए पनि ठूलो संख्या अझै सम्पर्कमा आउन सकेको छैन।

सम्पर्कविहीनमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने कामदार रहेको जनाइएको छ। उनीहरू बाढी आएको समयमा सुरुङभित्रै काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन। बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० जनाले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

त्रिशूली–३ ‘ए’मा सुरुङभित्रै उद्धारको पर्खाइ

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि तीन दिनदेखि निरन्तर प्रयास भइरहेको छ। उद्धार टोलीले टनेल पोर्टल सफा गर्ने, सुरुङभित्र जमेको पानी हटाउने र भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम गरिरहेको छ।

सुरुङभित्र पानी भरिएका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

यस्तै, लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको उद्धार टोली पुगे पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन। आयोजनाले मंगलबार पनि आफ्नातर्फबाट उद्धार प्रयास जारी राख्ने जनाएको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि आइतबारदेखि सम्पर्कविहीनको खोजी भइरहेको छ। बाढीले आयोजनाका संरचना बगाउनुका साथै २२० केभी त्रिशूली–३ बी हब सबस्टेसनमा समेत पूर्ण क्षति पुर्‍याएकाले खोजी कार्य थप कठिन बनेको छ।

रसुवागढीमा ९३ जना सम्पर्कविहीन

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ४९ कर्मचारीसहित ९३ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीले आयोजनाको सुरुङभित्र खोजी गरेको थियो। सुरुङको अन्तिम भागमा मानिस फसेको हुनसक्ने आशंकामा ड्रोनबाट समेत अवलोकन गरिए पनि कोही फेला नपरेपछि टोली फर्किएको जनाइएको छ।

नुवाकोटका आयोजनामा पनि ठूलो क्षति

इप्पानको विवरणअनुसार नुवाकोटका प्रभावित आयोजनामध्ये त्रिशूली जलविद्युत् आयोजनाबाट एक, देवीघाटबाट एक, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ४२, माथिल्लो त्रिशूली–३ ‘बी’बाट १९८ र मिडल त्रिशूली गंगाबाट दुई जना सम्पर्कविहीन छन्।

बाढीले आयोजनाका भौतिक संरचना ध्वस्त पार्नुका साथै पहुँचमार्ग र सञ्चार प्रणालीमा समेत क्षति पुर्‍याएकाले हराइरहेकाको खोजी कठिन बनेको छ।

किन फरक भयो सरकारी र इप्पानको तथ्यांक ?

सरकारको आधिकारिक तथ्यांकमा ६३९ जना र इप्पानको विवरणमा ८९४ जना सम्पर्कविहीन देखिनुले बाढी प्रभावित आयोजनाबाट प्राप्त विवरण अझै पूर्ण रूपमा एकीकृत भइनसकेको संकेत गर्छ। विशेषगरी निर्माणाधीन आयोजनामा कार्यरत कामदार, ठेकेदार तथा परामर्शदाता कम्पनीका कर्मचारीको विवरण छुट्टाछुट्टै संकलन भइरहेकाले संख्यामा अन्तर देखिएको हुन सक्छ।

त्यसैले हालको अवस्थामा दुवै तथ्यांकलाई अन्तिम नमान्नुपर्ने देखिन्छ। उद्धार टोलीले सम्पर्कविहीन व्यक्तिको खोजी जारी राखेको र आयोजनाहरूबाट थप विवरण संकलन भइरहेकाले आगामी दिनमा संख्या थपघट हुन सक्नेछ।

भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका संरचनामा मात्रै ठूलो क्षति पुर्‍याएको छैन, सयौँ कामदारको अवस्थासमेत अनिश्चित बनाएको छ। सरकारी निकाय र ऊर्जा उत्पादकहरूले अलग–अलग संकलन गरेका विवरणलाई एकीकृत गरी सम्पर्कविहीन व्यक्तिको यकिन संख्या सार्वजनिक गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

प्रकाशित मिति : मंगलबार, भदौ १६, २०८३ | १३:२८:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया