सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी-त्रिशूली विपद् : ८६५ जना बेपत्ता, परिवारको क्षतिपूर्ति प्रक्रिया अझै अनिश्चित

मृत घोषणा गर्ने निकाय र प्रमाणको मापदण्ड तय भएन; बेपत्ता व्यक्तिका परिवारलाई एकमुष्ट रकम, आश्रितलाई रोजगारी, बालबालिकाको शिक्षा र स्वास्थ्य उपचार सुनिश्चित गर्न SEEN को सिफारिस

जलसरोकार
सोमबार, मंसिर ०७, २०८३ | १४:१२:५४ बजे
फाइल तस्बिर

काठमाडौं : भोटेकोशी-त्रिशूली करिडोरमा आएको विनाशकारी विपद्मा बेपत्ता भएका ऊर्जा क्षेत्रका ८६५ जना कामदार तथा कर्मचारीका परिवारले अझै क्षतिपूर्ति र दीर्घकालीन सहायताको स्पष्ट बाटो पाउन सकेका छैनन्। बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने कानुनी प्रतीक्षा अवधि ४५ दिनमा झारिएको र उक्त अवधि समाप्त भइसकेको भए पनि निवेदन लिने निकाय, शव नभेटिएको अवस्थामा स्वीकार गरिने प्रमाण र क्षतिपूर्ति दाबी प्रक्रिया निर्धारण हुन नसकेको भन्दै सो क्षेत्रका इन्जिनियरहरूको संस्था सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (SEEN) ले तत्काल स्पष्ट व्यवस्था गर्न सरकारसँग सिफारिस गरेको छ।

SEEN ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको Post-Disaster Recovery and Resilience Roadmap for the Hydropower Projects of the Bhote Koshi-Trishuli Corridor प्रतिवेदनमा बेपत्ता व्यक्तिका परिवारको अधिकारलाई विपद्पछिको पुनरुत्थानको पहिलो प्राथमिकतामा राखेको छ।

प्रतिवेदनअनुसार बेपत्ता ८६५ जनामध्ये नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीका ३४३ जना तथा निजी क्षेत्रका आयोजनाका ५२२ जना छन्। यो संख्यामा स्थायी कर्मचारी, सहायक कम्पनीका कर्मचारी, निजी आयोजनाका कर्मचारी, ठेकेदारका कामदार र दैनिक ज्यालादारीमा कार्यरत श्रमिकसमेत समावेश छन्।

संस्थाले परिवारका सदस्यसमेत प्रभावित क्षेत्रमा बसोबास गरिरहेका कारण बेपत्ता व्यक्तिको संख्या परिवारसहित गणना गर्दा करिडोरमा सम्पर्कविहीन हुनेको संख्या ९०० भन्दा बढी रहेको उल्लेख गरेको छ।

४५ दिन बित्यो, तर परिवारले क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया नै स्पष्ट छैन

प्रतिवेदनले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने प्रतीक्षा अवधि ४५ दिनमा झारिएको र उक्त समयसमेत बितिसकेको उल्लेख गरेको छ। तर सम्बन्धित परिवारले कहाँ गएर निवेदन दिने, शव फेला नपरेको अवस्थामा कस्ता प्रमाण पेश गर्ने र कुन निकायले मृत घोषणा प्रक्रिया अघि बढाउने भन्ने विषयमा स्पष्ट व्यवस्था हुन सकेको छैन।

बेपत्ता व्यक्तिको कानुनी अवस्था स्पष्ट नहुँदा परिवारले पाउने क्षतिपूर्ति, बीमा रकम, पेन्सन तथा आश्रित परिवारका अन्य सुविधाको प्रक्रिया अघि बढ्न सकेको छैन।

SEEN का अनुसार हालसम्म कुनै पनि सार्वजनिक वा निजी कम्पनीले बेपत्ता व्यक्तिका परिवारले अन्तिम रूपमा पाउने क्षतिपूर्तिबारे स्पष्ट निर्णय वा सूचना जारी गरेको छैन। एकमुष्ट आर्थिक सहायता, परिवारका आश्रितलाई रोजगारी, बालबालिकाको शिक्षाको व्यवस्था र निरन्तर स्वास्थ्य उपचारजस्ता विषय अझै अनिश्चित छन्।

सामाजिक सुरक्षा कोषमा योगदान गरेका व्यक्तिले मात्र त्यसबाट सुविधा पाउने व्यवस्था रहेकाले सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका दैनिक ज्यालादारी र करार श्रमिकका परिवार थप जोखिममा परेको प्रतिवेदनले औंल्याएको छ।

सार्वजनिक र निजी क्षेत्रका कामदारबीच विभेद नहोस्

विपद्मा एउटै कार्यस्थलमा, एउटै जोखिमको सामना गरेर काम गरिरहेका श्रमिकको रोजगारदाता फरक भएकै आधारमा परिवारले पाउने सुविधा फरक हुनु हुँदैन भन्ने SEEN को मुख्य प्रस्ताव छ।

संस्थाले स्थायी कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीका कर्मचारी, निजी जलविद्युत् आयोजनाका कर्मचारी, ठेकेदारका कामदार, दैनिक ज्यालादारी श्रमिक र विदेशी कामदारसमेतलाई एउटै क्षतिपूर्ति तथा सहायता मापदण्डमा समेट्नुपर्ने सिफारिस गरेको छ।

प्रतिवेदनमा क्षतिपूर्तिका न्यूनतम चार आधार प्रस्ताव गरिएको छ:

  • एकमुष्ट आर्थिक रकम: बेपत्ता वा मृतक व्यक्तिको परिवारलाई निश्चित रकम उपलब्ध गराउने।
  • आश्रित परिवारलाई रोजगारी: परिवारका एक जना आश्रितलाई रोजगारीको व्यवस्था गर्ने।
  • बालबालिकाको शिक्षा: मृतक वा बेपत्ता व्यक्तिका छोराछोरीको शिक्षाको जिम्मेवारी सुनिश्चित गर्ने।
  • निरन्तर स्वास्थ्य उपचार: परिवारका सदस्यलाई स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउने।

SEEN ले यी सुविधा कुनै कम्पनीको कर्मचारी नियमावली वा रोजगारदाताको प्रकृतिमा मात्र निर्भर नराखी प्रभावित कार्यस्थलमा काम गर्ने सबै श्रमिकका लागि समान रूपमा लागू हुने व्यवस्था बनाउन आग्रह गरेको छ।

रोजगारदाताले पहिले भुक्तानी गर्ने, त्यसपछि बीमाबाट असुल गर्ने प्रस्ताव

क्षतिपूर्ति भुक्तानीको स्रोत र प्रक्रियाबारे पनि प्रतिवेदनले स्पष्ट सुझाव दिएको छ। संस्थाका अनुसार पहिलो दायित्व रोजगारदाताको हुनुपर्छ र त्यसपछि बीमा कम्पनीबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाउनुपर्छ।

यदि रोजगारदाता वा बीमाबाट भुक्तानी हुन नसकेमा लाइसेन्स प्राप्त आयोजनाहरूबाट उठाइएको योगदान र यस प्रयोजनका लागि संकलित रकमसमेत समेटेर साझा कोष स्थापना गरी त्यसबाट भुक्तानी गर्ने व्यवस्था बनाउन प्रस्ताव गरिएको छ।

परिवारले पाउने क्षतिपूर्ति आयोजना बीमित छ वा छैन भन्ने आधारमा निर्भर हुनु नहुने SEEN को धारणा छ। बीमा नभएको वा बीमा दाबी विवादमा रहेको अवस्थामा पनि परिवारको अधिकार सुनिश्चित हुनुपर्ने उसको सिफारिस छ।

यसैगरी, विपद्पछि तत्काल खर्चका लागि परिवारलाई दिइएको राहत रकमलाई अन्तिम क्षतिपूर्तिमा घटाउन नहुने प्रतिवेदनले स्पष्ट गरेको छ। राहत र क्षतिपूर्ति फरक उद्देश्यका रकम भएकाले दुवैलाई छुट्टाछुट्टै राख्नुपर्ने सुझाव छ।

क्षतिपूर्ति वितरणको निगरानी गर्न छुट्टै समिति

SEEN ले बेपत्ता र मृतक व्यक्तिका परिवारको दाबी प्राप्त गर्ने, मूल्यांकन गर्ने र भुक्तानी टुंग्याउने छुट्टै प्रशासनिक समिति गठन गर्नसमेत प्रस्ताव गरेको छ।

उक्त समितिले परिवारका दाबी प्राप्त गर्ने, अधिकार निर्धारण गर्ने र भुक्तानी प्रक्रिया अघि बढाउने जिम्मेवारी लिनुपर्नेछ। साथै, कति परिवारको सुविधा निर्धारण भयो, कति रकम भुक्तानी भयो र कति दाबी बाँकी छन् भन्ने विवरण मासिक रूपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ।

यसले क्षतिपूर्ति वितरणमा पारदर्शिता कायम गर्ने, परिवारले विभिन्न निकाय धाउनुपर्ने अवस्था घटाउने र सार्वजनिक निगरानी सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

विपद्को क्षतिभन्दा ठूलो संकट परिवारको अनिश्चित भविष्य

भोटेकोशी-त्रिशूली करिडोरको विपद्मा १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् र करिब ७५९ मेगावाट उत्पादन क्षमता प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। प्रारम्भिक क्षतिको अनुमान ८२ अर्ब रुपैयाँभन्दा बढी छ। तर भौतिक संरचना पुनर्निर्माणको लागतभन्दा बेपत्ता व्यक्तिका परिवारले सामना गरिरहेको अनिश्चितता अर्को गम्भीर संकट बनेको छ।

बेपत्ता व्यक्तिको कानुनी अवस्था नटुंगिँदा परिवारले आर्थिक सहायता, बीमा, पेन्सन, रोजगारी र बालबालिकाको भविष्यसम्बन्धी निर्णय गर्न सकिरहेका छैनन्। विपद्को तत्कालीन राहतले केही समयको खर्च धान्न सहयोग गरे पनि दीर्घकालीन जीवन निर्वाहको आधार तयार गर्न नसक्ने अवस्था छ।

SEEN ले त्यसैले बेपत्ता व्यक्तिका परिवारको अधिकार सुनिश्चित गर्ने निर्णयलाई पुनर्निर्माणका अन्य कामभन्दा अघि सम्बोधन गर्नुपर्ने विषयका रूपमा प्रस्तुत गरेको छ।

विपद् प्रभावित जलविद्युत् आयोजनाको संरचना पुनर्निर्माण गर्न समय र ठूलो वित्तीय स्रोत लाग्न सक्छ। तर बेपत्ता व्यक्तिका परिवारको कानुनी पहिचान, क्षतिपूर्तिको मापदण्ड र दाबी प्रक्रिया निर्धारण गर्न सरकारले तत्काल निर्णय गर्न सक्छ। यही निर्णयको प्रतीक्षामा अहिले सयौँ परिवार छन्।

प्रकाशित मिति : सोमबार, मंसिर ०७, २०८३ | १४:१२:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया