सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नदी सफाइदेखि बाढी पूर्वसूचनासम्म, काठमाडौँलाई बस्नयोग्य बनाउने कार्यवाहक प्रधानमन्त्रीको प्रतिबद्धता

कङ्क्रिटको पर्खालमा नदी थुन्नुको सट्टा प्राकृतिक बहाव कायम गर्ने योजना; १७ नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि काम सुरु गर्ने घोषणा

जलसरोकार
सोमबार, मंसिर ०७, २०८३ | १३:४१:४१ बजे

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीको प्रदूषण नियन्त्रण, प्राकृतिक बहाव क्षेत्र संरक्षण तथा काठमाडौँको बाढी जोखिम न्यूनीकरणका लागि सङ्घीय सरकारबाट विभिन्न योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नदी संरक्षण, बाढी पूर्वसूचना प्रणाली, भूमिगत जल पुनर्भरण, वायु प्रदूषण नियन्त्रण र हरित सहरी विकासलाई प्राथमिकतामा राखेरबताए काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहर बनाउने योजना सुनाए।

‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई सम्बोधन गर्दै श्रेष्ठले नदीलाई कंक्रिटको पर्खालभित्र थुन्नुभन्दा प्राकृतिक रूपमा फैलिन र खुम्चिन दिने अवधारणामा संरक्षणका काम अघि बढाउनुपर्ने बताए। नदी प्रणालीसँग जोडिएका काठमाडौँ महानगरपालिका र आसपासका १७ नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्ने उनले जानकारी दिए।

श्रेष्ठले जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले स्थानीय तहसँग मिलेर नदी संरक्षणका योजना अघि बढाउने बताए। विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्रको संरक्षणलाई समेत योजनामा समेटिने उनको भनाइ थियो।

बाढी आउनुअघि नै सूचना दिने प्रणाली

काठमाडौँ उपत्यकामा बाढीको जोखिम घटाउन वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीलाई बलियो बनाउने योजना सरकारले अघि सारेको छ। जल तथा मौसम विज्ञान विभागमार्फत महानगरपालिका र अन्य नगरपालिकासँग सहकार्य गरी वडा तथा घरपरिवारसम्म बाढी आउनुअघि सूचना पुर्‍याउने व्यवस्था मिलाइने श्रेष्ठले बताए।

हिमनदी पग्लिने क्रम र झुन्डिएका हिमचट्टानको जोखिम अनुगमनका लागि वैज्ञानिक, विज्ञ, अभियन्ता र युवाहरूलाई सहभागी गराउने योजना पनि उनले सुनाउनुभयो।

जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमनदी पग्लिने घटना र नदीमा ढुङ्गा तथा गेग्रानसहितको बाढी बढ्दै गएको उल्लेख गर्दै श्रेष्ठले पछिल्लो ४६ दिनमा तीनवटा नदी करिडोरमा भएका ठूला विपद् गम्भीर चेतावनी भएको बताए।

नदीलाई प्राकृतिक रूपमा बग्न दिने योजना

नदी किनारमा कंक्रिटका संरचना निर्माण गरेर नदीलाई साँघुरो बनाउने प्रवृत्तिको विकल्प खोज्नुपर्नेमा श्रेष्ठले जोड दिए। नदीलाई प्राकृतिक रूपमा फैलिन र खुम्चिन दिने, मुहान क्षेत्र जोगाउने तथा नदीको पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने अवधारणालाई सरकारले अघि बढाउने उनले बताए।

नदीको प्राकृतिक बहाव कायम राख्ने योजनासँगै वर्षाको पानी जमिनमा सोसिने क्षेत्र बढाएर भूमिगत जलभण्डार पुनर्भरण गर्ने कार्यक्रम पनि अघि बढाइने भएको छ। घरघरमा आकाशे पानी सङ्कलन, पानी सोस्ने पैदलमार्ग निर्माण, खुला ठाउँ संरक्षण तथा सडक किनारमा रैथाने रूख रोप्ने कार्यका लागि महानगरपालिकाले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने श्रेष्ठले बताए।

वायु प्रदूषण नियन्त्रण र फोहोरबाट ऊर्जा

सरकारले विद्युतीय सार्वजनिक यातायात विस्तार, स्वच्छ इँटाभट्टा प्रवर्द्धन तथा फोहोर दहन नियन्त्रणलाई वायु प्रदूषण न्यूनीकरणको योजनामा समेटेको छ। वायु गुणस्तरसम्बन्धी तथ्याङ्क सर्वसाधारणका लागि खुला राख्ने र जाडो तथा तुवाँलोको समय सुरु हुनुअघि नै प्रदूषण नियन्त्रणका तयारी पूरा गर्ने उनले बताए।

फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने योजना पनि सरकारले अघि सारेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरपालिकाबीच भएको समझदारी तथा टेकु बायोग्यास प्लान्टलाई छिटो सञ्चालनमा ल्याउन घरबाटै फोहोर वर्गीकरण गर्न उनले नागरिकलाई आग्रह गरे।

जलवायु वित्त परिचालनका लागि हरित बन्ड र जलवायु कोषमार्फत स्रोत जुटाउन नगर विकास कोषसँग सहकार्य गरिने पनि श्रेष्ठले बताए। भोटेकोशी विपद्पछि पुनर्लाभका लागि छिटो परिचालन गर्न सकिने कोषको आवश्यकता महसुस भएको उनको भनाइ थियो।

पुराना जलप्रणाली र नयाँ प्रविधिको संयोजन

श्रेष्ठले पछिल्ला चार वर्षमा पुराना ढुंगेधारा (हिटी) र राजकुलो पुनःस्थापना गरेर भूमिगत जलभण्डार संरक्षणमा योगदान गरेकोमा काठमाडौँ महानगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरूको प्रशंसा गरे।

कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउन सक्ने सञ्चार प्रणाली निर्माण गरेको उदाहरण प्रस्तुत गर्दै उनले नयाँ पुस्ताको प्रविधि र ज्येष्ठ नागरिकसँग रहेको परम्परागत जलप्रणालीसम्बन्धी ज्ञानलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताए।

कस्तो काठमाडौँको परिकल्पना?

श्रेष्ठले रूखले भरिएका शीतल सडक, १५ मिनेट पैदल दूरीमा पुग्न सकिने ऐतिहासिक टोल तथा बहाल, साइकल लेन, सफा बागमती-विष्णुमती करिडोर र वरपरका जंगल तथा राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनसहितको काठमाडौँको परिकल्पना प्रस्तुत गरे।

पार्कमा ज्येष्ठ नागरिक ढुक्कले घाम ताप्न सक्ने, चोकमा बालबालिका सुरक्षित रूपमा खेल्न सक्ने र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्रहरू विकास हुने सहर निर्माण गर्न सबैलाई उनले आह्वान गरे।

विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनको असर हिमनदी पग्लिने, बाढी र पहिरोका रूपमा नेपालीले भोगिरहेको उल्लेख गर्दै श्रेष्ठले नदी, मुहान, रूख, चराचुरुङ्गी तथा वन्यजन्तुको बासस्थान संरक्षणलाई जलवायु न्यायको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरे।

कार्यवाहक प्रधानमन्त्रीका प्रतिबद्धतामा नदी संरक्षणदेखि जलवायु वित्तसम्मका विषय समेटिएका छन्। तर नदी प्रदूषण नियन्त्रण, बाढी पूर्वसूचना प्रणाली, १७ नगरपालिकाबीचको समन्वय, भूमिगत जल पुनर्भरण र हरित पूर्वाधारका योजना कार्यान्वयनमा कसले नेतृत्व गर्ने, कति बजेट परिचालन हुने र कुन समयसीमाभित्र काम पूरा गरिने भन्ने विस्तृत खाका भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : सोमबार, मंसिर ०७, २०८३ | १३:४१:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया