सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बेनी हाइड्रोपावरको आईपीओ चैत १ देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

जलसरोकार
शुक्रबार, फागुन १५, २०८२ | ०९:२४:४१ बजे

काठमाडौं  : बेनी हाइड्रोपावर लिमिटेडले चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँबराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। यसमध्ये १० करोड ४० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

प्रभावित क्षेत्रअन्तर्गत ५ लाख २० हजार कित्ता शेयर अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दामा बाँडफाँट गरिनेछ। यस्तै ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दालाई र २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ।

आवेदन अवधि र सीमा

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २४ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ५.७८ वर्ष तथा डिस्काउण्ट गरिएको लगानी फिर्ता अवधि ८.१५ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनअघि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी–इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबी बैंक सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक सल्लेरी शाखा, ग्लोबल आइएमई बैंक सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंक नेचा सल्यान शाखाबाट समेत आवेदन दिन सकिनेछ। प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

 

 

प्रकाशित मिति : शुक्रबार, फागुन १५, २०८२ | ०९:२४:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया