बागमती नदीको सफाइ, हराभरा काठमाडौं र चोभारको गल्छी

काठमाडौं महानगरपालिकाको "हराभरा काठमाडौं" भन्ने नारा पुरानो भइसकेको छ तर एकातर्फ महानगरपालिकाको नारा नारामा मात्र सीमित भएको पाइन्छ भने यो नाराको सान्दर्भिकतामा केही कमी आएको छैन। तर, हराभरा काठमाडौंसँगै हराभरा र सुरक्षित काठमाडौंको नारा मात्र होइन, काठमाडौंबासीहरू सबैलाई वास्तविक रूपमा वातावरणमैत्री तथा सही अर्थमा सुरक्षित काठमाडौंको आवश्यकता छ। वातावरणमैत्री भन्नाले हराभरा मात्र होइन, यसभित्र सुरक्षित काठमाडौं पनि अटाउन सक्नुपर्छ। हराभराले हरियाली विशेषमा मात्र केन्द्रित गराउँछ भने वातावरणमैत्रीले हरियालीका साथै यस उपत्यकाभित्र निवास गर्ने सबै प्राणीहरूको सुरक्षामा चासो राख्छ। सुरक्षित काठमाडौंभित्र यस उपत्यकाभित्र विचरण र वसोबास गर्ने सबैका सबै खाले अधिकार सुनिश्चित गरिएको हुनुपर्छ। यस्तो अधिकार केवल उपत्यका निवासी मानिसहरू, वा प्राणीहरू वा वनस्पतिहरूमा मात्र सीमित नरही, यस उपत्यकाभित्र विचरण गर्ने नदी नालाहरूको अधिकारसमेत सुनिश्चित गरिएको हुनुपर्छ। सबैको अधिकार सुनिश्चित गरिएको काठमाडौं मात्र एक सुसंस्कृत, सभ्य र आदरणीय सहरको रूपमा सुरक्षित र स्थायी हुन सक्छ। यस प्रणालीभित्रका कसैको पनि अधिकार खोसिएमा कुनै न कुनै प्रकारको असन्तुलन सिर्जना भई सो असन्तुलनका कारण काठमाडौंबासीको पुनः प्राकृतिक सन्तुलन कायम नभएसम्म जोखिम बढ्ने हुन्छ। सुरु गर्न चाहन्छु चोभारको गल्छीबाटः
चोभारको गल्छी
चोभारको गल्छी काठमाडौं उपत्यकाको प्राकृतिक निकास हो, यो कसैले कृत्रिम रूपमा बनाएको होइन। प्रकृतिको दशौं हजार वर्षको परिश्रमले यस गल्छीलाई यो स्वरूप दिएको हो। भौतिक भूगर्भशास्त्रले यस्तो प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रियामा राखेको हुन्छ। तर, दशौं हजार वर्षदेखिको उपत्यकाका वासिन्दा जनसमुदायसँगको यस गल्छीको अनन्याश्रित सम्बन्धले यस प्राकृतिक स्वरूपलाई राष्ट्रिय सम्पदामा रूपान्तरण गरेको छ। त्यसैले, अब यो एक प्राकृतिक संरचना मात्र रहेन, यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्वका कारण यो अद्वितीय सम्पदा बनेको छ र यस सम्पदाको संरक्षण गर्नु सबै विवेकशील नेपालीहरूको कर्तव्य हो। तर, यो सबै हुँदाहुँदै पनि यो बागमती नदीको एकमात्र निकास हो। एकमात्र निकास भएकाले यस निकासमा केही तलमाथि हुन गएमा डुबान हुने र यसै डुबानका कारण प्रकोप सिर्जना हुने पक्का छ। त्यसैले, यो प्राकृतिक सम्पदा कत्तिको सुरक्षित छ भन्ने अध्ययन अनुसन्धान गरी आवश्यक कार्य गर्नु गराउनु सम्बन्धित सरकारी निकायहरूको कर्तव्य हुन आउँछ। यसका साथै यस सरकारी कार्यको औचित्य र गुणस्तरबारे चासो राखेर यस अमूल्य निधिको संरक्षणमा उचित रूपमा सहभागी हुनु उपत्यकाका सजग जनताको कर्तव्य मात्र होइन अधिकारसमेत हो भन्ने मेरो धारणा छ। त्यसैले, चोभार गल्छीको सुदृढीकरण एक विशेष कार्य हुन आउँछ। यसको बनावट, अध्ययन, अन्वेषण तथा यसबारेमा आवश्यक सबै प्राविधिक जानकारी उचित रूपमा प्राप्त गरी यस निधिको महत्वलाई यथावत राखी यसको सुदृढीकरण गर्नु पहिलो आवश्यकता हो।
यस सम्बन्धमा आजको दोस्रो आवश्यकता के हो भने, यस गल्छीमा आइपुग्दा काठमाडौंको अधिकतम ठूलो बाढीको परिमाण कत्रो हुन्छ र सो गल्छीबाट प्रकोप ननिम्त्याउने गरी कति ठूलो बाढी पास गराउन सकिन्छ भन्ने सही अनुमान गर्नु हो। ठूलो पानी पर्दा ठूलो बाढी आउनु र सानो पर्दा सानो बाढी आउनु साधारण प्रक्रिया नै हो तर कुन ठाउँमा ठूलो पानी आउँदा कहाँ कत्रो बाढी आउँछ भनेर अनुमान गर्नु त्यति सजिलो छैन। यसका लागि ठीक किसिमको ‘म्याथमेटिकल मोडेल’ (गणितीय प्रतिरुप) तयार गरी ठीक तथ्यांक त्यस मोडेलमा दिन सकियो भने आउन सक्ने बाढीको धेरै नजिकको अनुमान गर्न सकिन्छ। त्यसैले, चोभारको गल्छीबाट कति ठूलोसम्म भेल बाढी कुनै प्रकोप ननिम्त्याइकन जान सक्छ वा चोभारको गल्छी नजिक मापन गरिएको अधिकतम ठूलो बाढीको दुई गुणा ठूलो बाढी आउँदा चोभारको गल्छीको माथिल्लो भागमा कस्तो अवस्था हुन्छ सो को आंकलन अथवा उक्त बाढी गल्छीबाट सजिलै बग्न सक्छ कि सक्दैन भन्ने अनुमानबाट सही निष्कर्ष निकाल्न सकिन्छ जस्तो लाग्छ। चोभारको गल्छीको नजिक मापन गरिएको अधिकतम ठूलो बाढी ११५० क्युमेक्सको हाराहारीमा भएकाले चोभारको गल्छीबाट २३०० क्युमेक्सको बाढी आउँदा गल्छीको माथिल्लो भागको अवस्था कस्तो हुन्छ भन्ने अनुमान लगाउन चाहन्छु।
चोभारको गल्छीबाट २३०० क्युमेक्सको बाढी पास हुँदा गल्छीको माथिल्लो भागमा बन्ने पोखरीको गहिराइ करिब १३.८ मिटर हुने र गल्छीमा पानीको गति (भेलोसिटी) १६.५ मिटर प्रति सेकेन्ड हुने देखिन्छ। यस्तो गतिको वहावलाई थेग्न हाल वर्णन गरिएजस्तो अवस्थामा रहेको चोभारको गल्छीले सक्ला जस्तो मलाई लाग्दैन। तर, चोभारको गल्छीको माथिल्लो भाग निकै चौडा भएकाले पानीको सतह त्यति माथि जान सक्छ जस्तो लाग्दैन। त्यसैले, चोभारको गल्छीको उपयुक्त सुदृढीकरणका लागि पानीको वहाव समेतको उचित मूल्यांकन गरिनु पर्छ। साथै, माथि उल्लेखित उच्चतम बाढीको समयमा Backwater (पानी थन्किने प्रभाव) कति परसम्म पुग्छ र त्यसले कहाँसम्मको जमिन संरचनाहरू डुबाउने सक्छ भन्ने कुराको सही आंकलन हुनु जरुरी छ। काठमाडौं उपत्यकालाई चोभारको गल्छीका कारण हुन सक्ने बाढीको खतराको आंकलन गर्दा काठमाडौं उपत्यकाको जमिनको उचाइ र चोभारको गल्छीको जमिन (इनभर्ट) को उचाइलाई राम्रोसँग ख्याल गरेर गर्नु उचित हुन्छ। त्यसैले, चोभारको गल्छीका कारण काठमाडौंमा बाढी आउँछ भन्ने विचार राख्नु बुद्धिमानी देखिँदैन।
काठमाडौंको बाढीको कुरा गर्दा अर्को विचार गर्नुपर्ने कुरा नदीको चौडाइ हो। नदीको चौडाइ जतिसुकै साँघुरो बनाइन्छ, पानीको सतह त्यति नै माथिसम्म आउँछ र पानीको बेग पनि केही मात्रामा बढ्छ। यसले बाढीको प्रकोपमा ठूलो वृद्धि गर्नुका साथै अनियन्त्रित भूक्षय गराउन सक्छ। त्यसैले, नदी साँघुर्याउने काम पूर्णतः गैरकानुनी घोषणा गरिनुपर्छ। यो कार्यको रेखदेख स्थानीय सरकारहरूले गर्नुपर्छ र यसको अनुगमन केन्द्र सरकारले गर्नुपर्छ। बाढी वा विपद्को बेलामा मात्र अरण्यरोदन गरेर यसको समाधान निस्कँदैन। बाढीको कुरा गर्दा बाढीसँगै नदी किनारमा फालिने फोहरमैलाको समेत उचित व्यवस्थापन गरिनुपर्छ। काठमाडौं उपत्यकाका सरकारी निकायबाट हुँदै आएको यस्तो कार्यलाई सरकारले नै गैरकानुनी घोषणा गरिनुपर्छ र तत्काल बन्द गरिनुपर्छ।
काठमाडौं खाल्डोका वरिपरिका पहाडमा स्थापना गरिएका वर्षामापन यन्त्रहरूले वार्षिक सालाखाला २,०८०.०८ मिलिमिटर र खाल्डो क्षेत्रमा राखिएका मापन यन्त्रहरूले वार्षिक सालाखाला १,३६८.२२ मिलिमिटर पानी परेको देखाउँछन्। यसरी काठमाडौं उपत्यकाको कुल करिब ६५० वर्ग किलोमिटर क्षेत्रमा वार्षिक सालाखाला १,८३०.९३ मिलिमिटर पानी पर्ने हिसाब निस्कन्छ। यो पानीमध्ये करिब ८१ प्रतिशत पानी वर्षात्का करिब ११३ दिनमा पर्ने हिसाबले काठमाडौंमा वर्षात्को समयमा सालाखाला कूल १,४८३.०५ मिलिमिटर पानी पर्दछ। तर, यो परिमाण सालाखालाको औसत हो। यस परिमाणमा धेरै उतारचढाव हुन सक्छ र सबैभन्दा ठूलो कुरा के पनि हुन सक्छ भने यो परिमाणको औसत पानी वर्षात्का ११३ दिनभित्र कहिले अत्यन्त उच्च गतिमा (High Intensity) र कहिले साधारण तथा कहिले न्यून गतिमा पर्न सक्छ। उच्च गतिमा केही लामो समयसम्म वा उच्च गतिमा केही ठूलो क्षेत्रफलमा वर्षा भए ठूला र भीषण बाढीहरू आउन सक्छन्। त्यसैले, वार्षिक औसत वर्षाले धेरै कुराको जवाफ दिन सके पनि उक्त तथ्यांकका आधारमा बाढीको मूल्याङ्कन गर्न सकिँदैन। त्यसैले, बाढीको जोखिमको मूल्याङ्कन गर्दा र खासगरी मानव बस्तीबाट वहने नदीबाट हुनसक्ने जोखिमको मूल्याङ्कन गर्दा मानव बस्तीहरूको उच्चतम सुरक्षालाई मध्यनजर गरेर गर्नु उचित हुन्छ।
हराभरा काठमाडौं र सुरक्षित काठमाडौंको सन्तुलन भनेको काठमाडौं सफा र हराभरा हुनु पर्ने र यो सहर प्रकोपका दृष्टिकोणबाट सुरक्षित पनि हुनु पर्ने हो। पहिलो पक्षमा केही तलमाथि गर्न सकिने भए पनि जनसुरक्षाको हिसाबले यो उपत्यका सुरक्षित हुनु पर्छ भन्ने कुरा निर्विवाद छ। काठमाडौं उपत्यकालाई बाढीबाहेक असुरक्षित पार्न सक्ने तथा “हराभरा काठमाडौं” का बीचमा आउन सक्ने अर्को मुख्य विषय भनेको यहाँको भूकम्पीय सुरक्षा हो। काठमाडौंको भूकम्पीय सुरक्षाको कुरा गर्दा काठमाडौं खाल्डोको भू-बनावटमा तालमा थुप्रिएको माटो र नदीजन्य सेडिमेन्टले ओगटेका नदी किनारहरूलाई कदापि बिर्सनु हुँदैन। किनभने, यस्तो बनावट भएको भूगर्भमा सबैभन्दा बढी खतरा भूकम्पका कारण माटोको तरलीकरण (Liquefaction) हुनसक्ने हुन्छ। हामीले २०७२ सालको भूकम्प सम्झँदा सो भूकम्प भूमिगत जल उच्च तहमा भएको साउन-भदौको महिनामा गएको भए माटोको तरलीकरण र त्यसको असरका कारण २०७२ सालको भूकम्पलाई हेर्ने हाम्रो नजरिया नै अलग हुने थियो जस्तो मलाई लाग्छ। त्यसैले, “हराभरा काठमाडौं” को वकालत गर्दा यो नारालाई मूर्तरुप दिँदा काठमाडौं उपत्यकाको कुन ठाउँमा अधिकतम कति माथिसम्म भूमिगत जलको सतह (Level) पुर्याउँदा काठमाडौं सहर खतरामुक्त हुन्छ भन्ने राम्रोसँग हेक्का राख्नुपर्छ। अन्यथा अनर्थ हुन सक्छ।
अन्त्यमा, सफा र हराभरा काठमाडौंको बारेमा यो आलेख यस अभियानका अग्रज नेता (पायोनियर) श्री हुतराम वैद्यको जन्म जयन्तीका अवसरमा उहाँप्रति उहाँको आदरस्वरूप समर्पण गर्न चाहन्छु।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने
-
प्राकृतिक प्रकोप न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : ऊर्जा मन्त्री खड्का
-
चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो
-
बागमती नदीको सफाइ, हराभरा काठमाडौं र चोभारको गल्छी
-
पाकिस्तानका बौद्ध सम्पदाबारे लेखिएको पुस्तकको नेपाली संस्करण विमोचन
-
नेपालको अर्थतन्त्रमा सुधारका चम्किला संकेतहरू, चुनौतीहरूलाई सामना गर्दै