सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी

किर्तिपुर-उदीपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, वैकल्पिक विद्युत् बिक्री व्यवस्था अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | १०:१०:२६ बजे

काठमाडौं : किर्तिपुर-उदीपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन समयमा निर्माण हुन नसक्दा आशुतोष इनर्जी लिमिटेडले पछिल्ला चार आर्थिक वर्षमा करिब २५ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको जनाएको छ।

कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीले नवौं वार्षिक साधारण सभामा प्रस्तुत गरेको मन्तव्यमा प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण आयोजनाको पूर्ण क्षमतामा विद्युत्‌ उत्पादन तथा बिक्री गर्न नसकिएको उल्लेख गरेका छन्। त्यसका कारण वैकल्पिक व्यवस्थामार्फत विद्युत्‌ बिक्री गर्नुपरेको र त्यसबाट कम्पनीले उल्लेख्य आर्थिक क्षति व्यहोरेको उनको भनाइ छ।

अध्यक्ष कार्कीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ करोड ९२ लाख रुपैयाँ, २०८०/८१ मा ५ करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा ६ करोड २ लाख रुपैयाँ र २०८२/८३ मा ७ करोड ४७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। चार वर्षको नोक्सानी जोड्दा यो रकम २५ करोड १ लाख रुपैयाँ पुग्छ।

कम्पनीले प्रसारण लाइनको समस्या समाधानका लागि आयोजना प्रभावित क्षेत्रका अन्य जलविद्युत्‌ आयोजनाका प्रवर्द्धकसँग समेत सहकार्य गरेको जनाएको छ। अध्यक्ष कार्कीका अनुसार मर्स्याङ्दी, त्रिशूली, न्यादी, दोर्दी र चेपे करिडोरका प्रवर्द्धकहरूसँगको सहकार्यमा किर्तिपुर-उदीपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भइसकेको छ।

अब नेपाल विद्युत्‌ प्राधिकरणसँग गरिएको वैकल्पिक विद्युत्‌ बिक्री व्यवस्थालाई अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको अध्यक्ष कार्कीले सभामा जानकारी दिएका छन्।

यससँगै चालु आर्थिक वर्ष २०८३/८४ देखि आयोजनाले पूर्ण क्षमतामा निर्वाध रूपमा विद्युत्‌ उत्पादन गर्न पाउने अपेक्षा कम्पनीले गरेको छ। प्रसारणको समस्या हटेपछि अघिल्ला वर्षको तुलनामा विद्युत्‌ उत्पादन बढ्ने र त्यसबाट कम्पनीले उच्च प्रतिफल प्राप्त गर्ने विश्वास अध्यक्ष कार्कीले व्यक्त गरेका छन्।

आशुतोष इनर्जीले चेपे खोला साना जलविद्युत्‌ आयोजना सञ्चालन गरिरहेको छ। अध्यक्ष कार्कीले कम्पनीको आगामी यात्रामा नयाँ आयोजनाको विकास तथा लगानी विस्तारलाई समेत प्राथमिकता दिइने बताएका छन्।

चार वर्षको नोक्सानी

आर्थिक वर्षनोक्सानी
२०७९/८०५ करोड ९२ लाख
२०८०/८१५ करोड ६० लाख
२०८१/८२६ करोड २ लाख
२०८२/८३७ करोड ४७ लाख
जम्मा२५ करोड १ लाख

आईपीओमा ढिलाइ, सेबोनको स्वीकृतिको प्रतीक्षामा आशुतोष इनर्जी

प्रसारण लाइनको समस्या समाधानतर्फ अघि बढिरहेको आशुतोष इनर्जीले आईपीओ निष्कासनको प्रक्रियालाई पनि अगाडि बढाइरहेको जनाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको थियो।

अध्यक्ष मोहन विक्रम कार्कीका अनुसार उक्त आवेदन करिब दुई वर्षअघि सेबोनमा दिइएको हो। तर, प्रक्रियागत कारणले स्वीकृतिमा केही ढिलाइ भएको उनले बताएका छन्। कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका सम्बन्धमा निरन्तर समन्वय गरिरहेको र पछिल्लो समय यस विषयमा सकारात्मक खबरको अपेक्षा गरेको जनाएको छ।

कम्पनीका अनुसार आईपीओबाट प्राप्त हुने रकमलाई नयाँ जलविद्युत्‌ आयोजना तथा कम्पनीको वित्तीय आवश्यकता पूरा गर्न उपयोग गर्ने योजना छ। यसबाट कम्पनीको वित्तीय आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।

९० प्रतिशत निर्माण पूरा, नयाँ २ मेगावाट आयोजनामा विद्युत्‌ उत्पादनको तयारी

आशुतोष इनर्जीले नयाँ २ मेगावाटको चेपे खोला क्यास्केड जलविद्युत्‌ आयोजना निर्माणलाई समेत तीव्रता दिएको छ। कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीका अनुसार आयोजनाको भौतिक निर्माणतर्फको प्रगति ९० प्रतिशतभन्दा बढी पुगेको छ।

कम्पनीले एनएमबी बैंक लिमिटेडबाट कर्जा लिएर उक्त आयोजना निर्माणमा लगानी गरिरहेको जनाएको छ। आयोजनाको विद्युत्‌ गृहमा मेसिन तथा उपकरण जडानको काम भइरहेको र बाँकी निर्माण कार्यसमेत पूरा गरी आगामी केही महिनाभित्र व्यावसायिक विद्युत्‌ उत्पादन सुरु गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले बताएका छन्।

अध्यक्ष कार्कीले नयाँ आयोजनाको सफल सञ्चालनले कम्पनीको वित्तीय स्वास्थ्य थप सुदृढ हुने र लगानीकर्तालाई आगामी दिनमा अझ राम्रो प्रतिफल दिन सकिने विश्वास व्यक्त गरेका छन्।

बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग

गत असारमा रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आशुतोष इनर्जीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीले साधारण सभामा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा प्रभावित जनसमुदायप्रति ऐक्यबद्धता जनाउन कम्पनीका तर्फबाट उक्त सहयोग गरिएको जानकारी दिएका छन्।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | १०:१०:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया