जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशुली थ्री बीको लट २ को प्रतिस्पर्धाबाट एण्ड्रिज हाइड्रो बाहिरियो, लट १ को ठेक्का फेवा कन्स्ट्रक्सनलाई

आगामी २०८३ को असारमा आयोजना पूरा हुने

जलसरोकार
बुधबार, भदौ २६, २०८१ | १७:११:२८ बजे

काठमाडौं : लागत अनुमानभन्दा एक तिहाईभन्दा बढी रकमको कबोल परेपछि त्रिशुली जलविद्युत् कम्पनीले लट २ को ठेक्का रद्द गरेको छ । 
त्रिशुली जलविद्युत् कम्पनीले निर्माण गरेको त्रिशुली थ्री बीको लट २ को ठेक्कामा एन्ड्रिच हाइड्रोको मात्र एकल प्रस्ताव परेको थियो । 
कम्पनीले गत आइतबार लट २ को पूरै ठेक्का रद्द गर्ने निर्णय गरेको सूचना जारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बताए । ‘सारभूत रुपले अनुमान गरेभन्दा बढी नै परेकाले बिडिङ नै रद्द भयो,’ ढुंगेलले बुधबार जलसरोकारसित भने, ‘अन्तर्राष्ट्रिय बिडिङ भएकाले अलिकति समय लाग्ला ।’
कम्पनीले बिड गरेको रकमभने सार्वजनिक गरेको छैन । ढुंगेलका अनुसार अब एक साताभित्र लट २ को पुनः अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउन कम्पनी लागिपरेको छ ।
लट २ को डिजाइन ठेकेदार नै गरेको र कम्पनीले स्वीकृत गरिसकेको थियो । केही सामान तथा उपकरणहरु चीनमा उत्पादन पनि भइसकेका थिए । केही सामान साइटमा ल्याइसकेको पनि थियो । ‘अब पहिले गरेका डिजाइन र सामान केही काम लाग्दैनन्, पुनः सुरु गर्नुपर्ने हुन्छ,’ ढुंगेलले भने, ‘अब नयाँ ठेकेदारले नै डिजाइन गर्नेछ ।’ 
चिनियाँ कम्पनी Shuifa ANHE Group Co. Ltd.  ले गत २०१८ को फेब्रुअरीमा यो आयोजनाको इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सनको ठेक्का लिएको थियो । ठेकदारले गतिलोसँग काम नगरेपछि उसकै कारण कम्पनीले गत २०२३ डिसेम्बर १६ देखि लागू हुने गरी उक्त ठेक्का रद्द गरेको थियो । 
ठेक्का रद्द हुँदा ३७ मेगावाटको उक्त आयोजनाको निर्माण कार्य ६० प्रतिशत पूरा भएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०, ३० प्रतिशत शेयर रहेको त्रिशुली थ्री बीको बाँकी कामका लागि कम्पनीले नयाँ ठेक्का आव्हान गरेको थियो । लट १ (सिभिल) र लट २ (इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल) को ठेक्का भएको थियो ।
लट १ को सिभिलतर्फको ठेक्का नेपालको चर्चित निर्माण कम्पनी फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ । ढुंगेलका अनुसार फेवा कन्स्ट्रक्सनले एक अर्ब ८४ करोड रुपैयाँमा पाएको हो । 
लट १ को प्रतिसपर्धामा ७ कम्पनी सहभागी थिए । तीमध्ये ६ वटा मात्र प्रतिस्पर्धाका लागि आर्थिक र प्राविधिक रुपले योग्य ठहरिएका थिए । ठेक्का पाएको फेवा कन्स्ट्रक्सनले साइटमा गएर काम पनि सुरु गरिसकेको छ ।
यता ठेक्का रद्द भएको साइट भएकाले साविकको ठेकेदारका मालसामान (यन्त्र उपकरण आदि) पन्छाउने काम भइरहेको पनि ढुंगेलले बताए । 
उनका अनुसार पुरानो ठेकेदारले आपूर्तिकर्ता (भेन्डर) हरुको भुक्तानी नगरी हिंडेकाले उनीहरु मर्कामा परेका छन् ।
‘नयाँ ठेकेदारले साइटमा उपकरण, जनशक्ति धमाधम लग्दैछ,’ ढुंगेलले भने, ‘अब निर्माण सुरु गर्ने तयारी गर्दैछ ।
पछिल्लो संशोधित अनुमान अनुसार यो आयोजना २०८३ असारमा पूरा हुनेछ ।


नेबिल बैंकको धरौटी पनि चिनियाँ ठेकेदारले खाइदियो
मेलम्ची खानेपानीमा धरौटी बापत रकम राखेको रकम चिनियाँ ठेकेदारले नदिएपछि बैंक अफ काठमाडौं र हिमालय बैंकले धेरै वर्ष तनाव खेप्नु परेझैं त्रिशुली थ्री बीको ठेकेदारले पनि नबिल बैंकको धरौटी रकम फिर्ता नदिईकन चीनको अदालतमा मुद्दा हालेको छ ।
चिनियाँ ठेकेदार कम्पनीसँग ठेक्का तोडिएपछि त्रिशुली जलविद्युत् कम्पनीले नबिल बैंकले राखेको ग्यारेन्टीबापतको धरौटी ठेक्का रद्द भएको तीन महिनापछि दिएको थियो । तर त्रिशुलीलाई धरौटी रकम दिएपछि चिनियाँ कम्पनीले नबिललाई नदिई मुद्दा हाल्न पुगेको हो । यो रकम एक अर्ब रुपैयाँ छ ।
सार्वजनिक खरिद ऐन, २०७३ अनुसार काम गर्दागर्दै ठेकेदारका कारण बीचमा ठेक्का रद्द भएमा बाँकी कामको रकम पनि सोही ठेकेदारबाट असुल गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार चिनियाँ कम्पनीले नबिल बैंकमा राखेको धरौटी लिएको हो ।  
चिनियाँ कम्पनीले नबिल बैंकलाई मात्र होइन, त्रिशुली जलविद्युत् कम्पनीलाई पनि मुद्दा हालेको छ । कम्पनीले ठेक्का दिंदा नेपालको कानुन लाग्ने भएकाले त्यसको प्रतिवाद गर्न आफूहरु नजाने ढुंगेलले बताए ।
तर नबिल बैंक अब मुद्दा लड्न चीन जानुपर्ने भएको छ । रकम फिर्ता ल्याउने र मुद्दा लड्ने प्रयोजनका लागि त्रिशुली जलविद्युत् कम्पनीले नबिल बैंकलाई आवश्यक सहयोग गर्ने ढुंगेलले बताए  ।


के हो त्रिशुली थ्री बी ?
नेपाल विद्युत् प्राधिरणले निर्माण गरेको माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट) ले बिजुली उत्पादन गरी निकालेको पानी सोझै सुरुङमा ओइर्याउने (क्यासकेड) गरी यो आयोजना निर्माण सुरु भएको हो । 
आयोजनामा मुहान (इनटेक) बनाउनु नपर्ने तर हेड पोण्ड (टेलरेसबाट निस्केको पानी जम्मा गर्ने पोखरी) बनाई सुरुङ हुँदै विद्युत् उत्पादन गर्ने गरी यो आयोजना डिजाइन गरिएको हो ।
माथिल्लो त्रिशुली थ्री ए लाई ६० मेगावाटबाट ९० मेगावाट बनाउँदा त्रिशुली थ्री बीको पनि क्षमता वृद्धि भई ४२ मेगावाट हुन्थ्यो । तत्कालीन खिलराज रेग्मी सरकारको पालामा ऊर्जा मन्त्रालयले माथिल्लो त्रिशुली थ्री एलाई ६० बाट ९० मेगावाट क्षमता वृद्धि गर्ने निर्णय गरेको पनि थियो । तर प्राधिकरणका राजनीतिक दल आबद्ध ट्रेड युनियनका कर्मचारीहरुको विरोधका कारण फिर्ता लिनुपरेको थियो । 
माथिल्लो त्रिशुली थ्री एमा विशुद्ध प्राधिकरणको मात्र शेयर रहेको आयोजना हो । यो कम्पनीमा प्राधिकरणका कर्मचारीहरुको शेयर छैन । शेयर नभएकै कारण कर्मचारीहरुले विरोध गरेका थिए । 
आयोजना प्रवर्द्धक कम्पनीमा प्राधिकरण, टेलिकम, नुवाकोट र रसुवाका स्थानीय वासिन्दा तथा वित्तीय संस्था र सर्वसाधारणको शेयर छ । 
याे आयाेजनाकाे अनुमानित लागत निर्माण अवधिको ब्याजसहित ८ अर्ब २२ कराेड ७० लाख रुपैयाँ छ । 

प्रकाशित मिति : बुधबार, भदौ २६, २०८१ | १७:११:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया