एमसीसी कम्प्याक्टअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नतिका लागि सम्झौता
जलसरोकार
काठमाडौँ : मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत आयोजना कार्यान्वयनका लागि एमसिए–नेपालले करिब २ करोड ३७ लाख अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि र पूर्वाधार विकासलाई अघि बढाउने लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा फुल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरी सडक स्तरोन्नति गर्न शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।
यसैगरी, सोही सडक स्तरोन्नति तथा नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि एमसिए–नेपालले इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६.६ लाख अमेरिकी डलर बराबरको अर्को सम्झौता गरेको छ ।
आयोजना अन्तर्गत धान खोलादेखि लमहीसम्मको सडक खण्डमा सात मिटर क्यारिज वे र २.५ मिटर शोल्डरसहित सडकलाई १२ मिटर चौडा बनाइनेछ भने नारायणघाट–मुग्लिङ सडक खण्डमा आवधिक मर्मत गरिनेछ । यी दुवै आयोजनामा प्रयोग हुन लागेको प्रविधि नेपालमा पहिलोपटक लागू गर्न लागिएको हो ।
सम्झौता हस्ताक्षर समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यी आयोजनाले अमेरिका–नेपाल साझेदारीको सुदृढता र एमसीसी कम्प्याक्टको प्रगतिलाई प्रतिबिम्बित गर्ने बताउनुभयो । उहाँले आधुनिक प्रविधिमार्फत सडक पूर्वाधार सुधार गर्दा यात्राको गुणस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।
अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नयाँ प्रविधिले दिगो, प्रभावकारी र मितव्ययी सडक मर्मतमा मार्गप्रशस्त गरेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले सडक प्रणालीको गुणस्तर सुधारमा एमसिए–नेपालको पहल महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सम्झौताअन्तर्गतका कामले यातायात तथा व्यापार लागत घटाउने, सडक सुरक्षा बढाउने र यात्राको गुणस्तर सुधार गर्ने विश्वास व्यक्त गरे ।
सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत सञ्चालनमा रहेको कार्यक्रम हो, जसको उद्देश्य नेपालका प्रमुख सडकको अवस्था सुधार गरी यातायात लागत घटाउनु रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु