नेपाल र बंगलादेशबीच सुनकोसी–३ संयुक्त रुपमा निर्माण गर्ने सहमति (आयोजनाको पृष्ठभूमिसहित)


काठमाडौं : नेपाल–बंगलादेशबीच सुनकोशी–३ जलविद्युत् आयोजना (६८३ मेगावाट) विकास गर्ने सहमति भएको छ । यो आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरिने भएको छ ।
बुधबार नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति (जेएससी) को छैटौं बैठकमा यस्तो सहमति भएको हो ।
बैठकपछि ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्राधिकरण र बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता (जेभीए) मा अर्काे बैठक अगाडि नै टुंगो लगाउने सहमति भएको छ ।
बैठकले सुनकोसी–३ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्याउने सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्नेसमेत निर्णय भएको विज्ञप्तिमा छ ।
गत मार्च २०२१ मा नेपालका राष्ट्रपतिको भ्रमणको क्रममा, बंगलादेशका प्रधानमन्त्रीले बंगलादेश–भुटान–भारत–नेपाल (बीबीआईएन) कनेक्टिभिटी अन्तर्गत नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय सम्झौतामा जोड दिएका थिए ।
जुन २०२१ मा, बंगलादेशको विद्युत्, ऊर्जा र खनिज स्रोत मन्त्रालय राज्यमन्त्रीले बंगलादेशले नेपालबाट सात सय मेगावाट जलविद्युत आयात गर्ने योजना बनाएको सार्वजनिक गरेका थिए ।
बंगलादेश सरकारले सन् २०२२ को जुलाईमा दुई देशको संयुक्त कार्यदल र निर्देशन समितिको बैठकमा आयोजनाको लगानी योजना प्रस्ताव गरेको थियो ।
नेपालका लागि बंगलादेशका राजदूतले गत १३ जुलाई २०२२ मा सुनकोसी–३ को बाँध, विद्युत् गृह र प्रभावित क्षेत्रको भ्रमण गरेका थिए आयोजना निर्माणमा बंगलादेशको ठूलो चासो रहेको पुष्टि गरेका थिए ।
नेपालको काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा ५,५२० वर्ग किलोमिटर जलाधार क्षेत्र भएको सुनकोसी–३ जलाशययुक्त आयोजना हो ।
यो आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–९ र रामेछाप जिल्लाको काँडादेवी गाउँपालिका–१ को लुभुघाट बीचको सुनकोशी नदीमा १६० मिटर चौडा र १८० मिटर अग्लो बाँध निर्माण गर्नुपर्छ ।
नेपाल विद्युत् प्राधिकरणले गरेको आयोजनाको अध्ययनअनुसार बाँधबाट करिब ४०० मिटर टाढा तेमाल गाउँपालिका–९ स्थित तित्रेटारमा निर्माण हुने विद्युतगृहबाट दुईवटा पेनस्टकबाट ५७० घनमिटर प्रतिसेकेन्ड (क्युमेक) पानी प्राप्त गरी विद्युत् उत्पादन हुन्छ ।

हालको योजना अनुसार ६८३ मेगावाटको जडित क्षमताको विद्युत् गृह निर्माण गर्न सकिने तर कोशी नदीको गुरुयोजना अध्ययन (सन् १९८५) र भण्डारण प्रकारको जलविद्युत विकास विकाससम्बन्धी राष्ट्रव्यापी गुरुयोजना अध्ययन सन् २०१४ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ५३६ मेगावाट क्षमताको सुनकोशी–३ जलविद्युत आयोजना निर्माण हुने सिफारिस गरेको थियो ।
जाइकाले सन् १९८५ मा कोशी नदी जलस्रोत विकासको लागि गुरुयोजना अध्ययन गरेको थियो । गुरुयोजनाले सुनकोशी नदीमा सुनकोशी–१, सुनकोशी–२ र सुनकोशी–३ गरी तीनवटा जलविद्युत आयोजना र जलविद्युत् आयोजनाहरू विकास गर्न सिफारिश गरेके थियो ।
सन् २०१४ मा एसियाली विकास बैंक (एडीबी) ले बेलायतको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीएफआईडी) बाट बंगलादेश र नेपालमा विद्युत् व्यापारको सम्भाव्यता अध्ययन गर्न प्राविधिक सहायता अनुदानको रूपमा अमेरिकी १० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो ।
गत १६ अक्टोबर २०१६ मा, बंगलादेशका वाणिज्य मन्त्री र उनका नेपालका समकक्षीले सरकार–देखि–सरकार (जीटूजी) अन्तर्गत दुई जलविद्युत आयोजनाहरू अर्थात् १११० मेगावाट सुनकोशी–२ र (तत्कालीन जडित क्षमता) ५३६ मेगावाटको सुनकोशी–३ निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
तर मन्त्रालयहरुबीच समन्वय नहुँदा यो योजना असफल भएको थियो । सन् २०१८ अगष्टमा दुबै देशले ऊर्जा क्षेत्र सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौतापछि ४ डिसेम्बर २०१८ मा भएको सचिवस्तरीय बैठकमा संयुक्त प्राविधिक समिति गठन गरिएको थियो ।
यो आयोजना निर्माण गर्न खोला र तालसहित कुल १३ लाख ६४ हजार एकड जग्गा अधिग्रहण गर्नुपर्नेछ ।
नेपाल विद्युत् प्राधिकरणले यो आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिका लागि टेण्डर प्रक्रिया अगाडि बढाइसकेको छ भने यसमा तीन अन्तर्राष्ट्रिय परामर्शदातृ कम्पनीका प्रस्ताव परेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
६० को दशकमा नेपालको जलविद्युत् : टुकुचा पनि 'दर्ता' हुन्थ्यो