पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ । हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो ।
ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्याङ्कीमा सङ्कलन गरिएको छ । यहाँ निर्माण गरिएका २० र ६० हजार लिटर क्षमताका दुईवटा ट्याङ्कीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले बताए । ‘मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ’, खानेपानी वितरणको अगुवाइ गरिरहनुभएका अध्यक्ष इधिङ्गोले भने, ‘पानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौँ ।’ यहाँ वैशाख १५ देखि ट्याङ्करको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले बताए।
तीन सयभन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन् । स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक एक घण्टाभन्दा समय खर्चनु परेको बाध्याता सुनाउँछन् । स्थानीयवासीले ट्याङ्करबाट खानेपानीको प्रबन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हिलिहाङ–७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देनलगायत स्थानीयवासीलाई सहयोग गर्दै आएका छन् ।
खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सातवटै वडाका लागि बृहत् सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ । हिलिहाङ–७ को साविक भारपा गाविसका लागि उक्त बृहत् आयोजनाअन्तर्गत नै साँचेखोला ‘बी’ योजना निर्माण भइरहेको छ । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार बृहत् आयोजनाको निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकेको छ । साँचेखोला ‘बी’ उपयोजनाको मुहानभन्दा पाइप लाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन नसक्ने अवस्थामा छैन ।
साविक भारपा गाविस वडा नं ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो । उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण सुरु भएको थियो । पुरानो साँचेखोला योजनाभन्दा करिव दुई सय ५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो । यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता पेयजल प्राप्तिको आधारभूत सुविधाबाट वञ्चित भएका छन् ।
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का