सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

उद्धार सफल भएपछि प्राधिकरणका इन्जिनियरले सम्झिए श्रीराम न्यौपानेलाई : ‘फोटो खिच्न मात्र गएका थिए’ भन्ने आरोपमाथि प्रश्न

जलसरोकार
शनिबार, भदौ २०, २०८३ | १२:०८:०३ बजे

काठमाडौं : माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवित उद्धारपछि उद्धार अभियानमा कसले कस्तो भूमिका खेल्यो भन्ने विषयमा विभिन्न चर्चा भइरहेका बेला नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको एनइए इन्जिनियरिङ कम्पनीका सीइओ इन्जिनियर चिरन्तन राणाले सार्वजनिक रूपमा सांसद श्रीराम न्यौपानेको भूमिकालाई समेत स्मरण गरेका छन्।

उद्धार कार्यमा प्रत्यक्ष संलग्न रहेको  प्राधिकरणको इन्जिनियरिङ टोलीका सदस्य राणाले सामाजिक सञ्जालमार्फत आफूले विपद् प्रतिकार्य तथा उद्धार टोलीसँग काँधमा काँध मिलाएर काम गर्न पाएकोमा गर्व लागेको उल्लेख गरेका छन्।

उनले संकटका बेला नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरिङ टोलीले तीव्र र समन्वयात्मक रूपमा काम गरेको र विशेषगरी फिल्ड तथा कार्यालयमा रहेका जनशक्तिको संयुक्त प्रयासबाट केबल सुरुङको प्रवेशद्वार पत्ता लगाउन सफलता प्राप्त भएको बताएका छन्।

त्यही उद्धार प्रयासका क्रममा सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको उल्लेख गर्दै राणाले उक्त सफलता उद्धारमा संलग्न सबैका लागि अत्यन्त खुसी र राहतको क्षण भएको बताएका छन्।

तर, उद्धारको सफलतासँगै ठूलो संख्यामा ज्यान गुमाउनुपरेको पीडालाई पनि उनले स्मरण गरेका छन्। आफ्नो कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित उद्धार तथा आयोजना क्षेत्रमा खटिएका अन्य व्यक्तिप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

धन्यवाद सूचीमै सागर र श्रीराम

उद्धार कार्य सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै राणाले गृह मन्त्रालय, नेपाली सेना, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण टोलीलगायत सांसद सागर ढकाल र श्रीराम न्यौपानेको नामसमेत स्पष्ट रूपमा उल्लेख गरेका छन्।

उनले उद्धारमा प्रत्यक्ष रूपमा संलग्न भई सफलता सम्भव बनाउन भूमिका खेल्ने टोलीप्रति धन्यवाद व्यक्त गर्ने क्रममा दुवै सांसदको नाम लिएका हुन्।

राणाको यो सार्वजनिक अभिव्यक्ति त्यस्तो समयमा आएको छ, जतिबेला उद्धारस्थलमा श्रीराम न्यौपानेको उपस्थितिलाई लिएर सामाजिक सञ्जालमा आलोचना र विवाद पनि भइरहेको छ। केहीले उनलाई उद्धार कार्यमा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको आरोप लगाएका छन्।

तर, उद्धारमा प्रत्यक्ष संलग्न नेपाल विद्युत् प्राधिकरणका इन्जिनियरले नै उद्धार सफल भएपछि सार्वजनिक रूपमा धन्यवाद दिँदा श्रीराम न्यौपाने उद्धारस्थलमा केवल दर्शक वा प्रचारका लागि मात्र पुगेका थिए भन्ने आरोपमाथि प्रश्न उठेको छ।

विशेषगरी केबल सुरुङको प्रवेशद्वार पत्ता लगाउने, सुरुङभित्र पुग्ने वैकल्पिक बाटो खोज्ने तथा उद्धार कार्यलाई अगाडि बढाउने क्रममा विभिन्न प्राविधिक टोली, सुरक्षा निकाय, आयोजना तथा नेपाल विद्युत् प्राधिकरणबीच समन्वय आवश्यक परेको थियो। यस्तो अवस्थामा उद्धारस्थलमा रहेका विभिन्न व्यक्ति र टोलीको भूमिका एउटै प्रकृतिको नभए पनि संयुक्त प्रयासले नै दुई जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको देखिन्छ।

सफलता सामूहिक, तर योगदानको अवमूल्यन किन ?

माथिल्लो त्रिशूली थ्री ‘ए’ को उद्धार कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव भएको दाबी गर्न मिल्दैन। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर तथा प्राविधिक, आयोजना व्यवस्थापन र अन्य उद्धारकर्मीको संयुक्त प्रयासबाट उद्धार सम्भव भएको हो।

तर, सामूहिक उद्धार अभियानमा सहभागी कसैको योगदान स्वीकार गर्नु भनेको अरूको योगदान अस्वीकार गर्नु होइन।

चिरन्तन राणाको सार्वजनिक अभिव्यक्तिले यही कुरा स्मरण गराएको छ। उद्धार सफल भएपछि प्रत्यक्ष रूपमा काम गरेका प्राविधिक टोलीका सदस्यले धन्यवाद सूचीमा श्रीराम न्यौपानेको नाम उल्लेख गर्नुले उद्धार अभियानमा उनको कुनै भूमिका थिएन भन्ने दाबीलाई भने कमजोर बनाएको छ।

उद्धार कार्यको सफलता पछि कसले बढी श्रेय लिने भन्ने बहसभन्दा पनि, अत्यन्त कठिन परिस्थितिमा सुरुङभित्रबाट दुई जनालाई जीवितै बाहिर निकाल्न सम्भव बनाउने प्रत्येक व्यक्ति र टोलीको योगदानलाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने देखिन्छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ मा जीवन र मृत्युको बीचमा चलेको उद्धार अभियान सफल भएपछि, त्यहाँ प्रत्यक्ष रूपमा खटिएका प्राविधिककै सार्वजनिक अभिव्यक्तिले एउटा कुरा भने स्पष्ट पारेको छ—उद्धारमा संलग्न धेरै हातमध्ये श्रीराम न्यौपानेको नामलाई पनि ती हातहरूको सूचीबाट हटाउन सकिँदैन।

प्रकाशित मिति : शनिबार, भदौ २०, २०८३ | १२:०८:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया