काठमाडौं, – गत आसोज १० देखि १२ गतेसम्म आएको अबिरल वर्षाका कारण बाढीपहिरोबाट जलविद्युत आयोजना तथा प्रसारण प्रणालीमा क्षति पुग्दा ठूलो परिमाण बिजुली प्रणालीमा ल्याउन सकिएको छैन ।
गत असोजमा गएको बाढी पहिरोका कारण सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित विद्युत उत्पादन गरिरहेका ११ जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।
४५६ मेगावाटको अपर तामाकोशी, २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना, ८६ मेगावाटको सोलु दूधकोशी, माइखोला क्यासडेड (३ मेगावाट), माइखोला (९.६ मेगावाट), फेमे खोला (१ मेगावाट), सिउरी खोला (५ मेगावाट), खानी खोला (२ मेगावाट), टुङ्गुन ठोस्ने (४.३६मेगावाट), तल्लो हेवाखोला (२२.१ मेगावाट) र हेवाखोला–ए (१४.९ मेगावाट) मा क्षति पुगेको थियो।
यी आयोजनाको कुल जडित क्षमता ६२५.९६ मेगावाट हो । आपतकालीन अवस्थामा विद्युत गृहहरूको उत्पादन बन्द गर्नुपर्दा करिब ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको थियो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार‘ बाढीपहिरापछि पनि अझै ७०० मेगावाट बिजुली प्रणाली बाहिर रहेको छ । त्यसलाई प्रसाणमा ल्याउनु छ । पाँच वटा टावर क्षतिग्रस्त छन् । यी बिजुली प्रणालीमा ल्याउन धेरै काम गर्नुपर्छ । समय त लाग्छ । अस्थायी रूपमा बिजुली प्रणालीमा जोड्ने काम पनि गरिरहेका छौं। जतिसक्दो छिटो काम गर्न प्रयत्नशील छौं,’ प्रबन्ध निर्देशक घिसिङले भने ।
बाढी तथा पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ।
बाढीले काबेली करिडोर अन्तर्गत दमक गोदक १३२ केभी प्रसारण लाइनमा क्षति पुगेको छ। यो करिडोरको गोदक सबस्टेसनमा जोडिएको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको ३३ केभी लाइनको करिब १० वटा पोल बगाएको थियो। त्यस्तै, सुपरमाई ए क्यास्केड आयोजनाको ३३ केभी लाइनको ३ वटा पोल बगाएको थियो।
काबेली बी १ क्यास्केडको ३३ केभी लाइनको एउटा पोल ढलेको थियो। यो करिडोरमा मात्रै पाँच करोड २५ लाखको क्षति भएको अनुमान छ। सोलु करिडोरमा तीन वटा पोल ढलेको थियो ।
बाढीले गण्डकी प्रदेशमा १५ वटा ट्रान्सफर्मर, लुम्बिनीमा ४१ हाइटेन्सन पोलमा र १०२ लोटेन्सन पोलमा क्षति पु¥याएको थियो। यो प्रदेशमा चार वटा ट्रान्सफर्मरमा क्षति पुगेको तथ्यांक छ ।
कर्णाली प्रदेशमा २१२ हाइटेन्सन पोल, २६० लोटेन्सन, सुदूरपश्चिममा ४२ वटा हाइटेन्सन पोल, ३७ लोटेन्सन पोल र ८ वटा ट्रान्सफर्मरमा क्षति पुगेको थियो ।
कोशी प्रदेशमा १८२ हाइटेन्सन, १६१ लोटेन्सन पोल र ३ वटा ट्रान्सफर्मर, मधेसमा १४८ हाइटेन्सन पोल, १८० लोटेन्सन पोल र दुइटा ट्रान्सफर्मर, बागमतीमा ३९४ हाइटेन्सन पोल, ३७३ लोटेन्सन पोल र १५ ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
दसैंको समयमा पनि क्षति पुगेका संरचना निर्माणको कामलाई निरन्तरता दिइएको घिसिङले बताए ।
गत असोज ११ गते भारतमा निर्यातका लागि गरिएको बिडअनुसार बिजुली दिन नसक्दा भने जरिवाना पेनाल्टी समेत रकम फिर्ता गर्नु परेको प्रबन्ध निर्देशक घिसिङले बताए ।
‘हामीले १० करोडको बिजुली निर्यात गर्न बिड गरिसकेका थियौं। त्यो रकम र त्यसको ५–१० प्रतिशत पेनाल्टीसमेत रकम फिर्ता गर्नुपर्ने भएको छ,’ घिसिङले भने ।
अहिले भारतमा निर्यात भइरहेको बिजुलीको परिमाण पनि घटेको छ ।
सामान्य अवस्थामा भारतमा दैनिक ९ सय मेगावाट हाराहारीमा विद्युत निर्यात भइरहेकोमा बाढी पहिरोपछि निर्यात परिमाण खुम्चिएको हो। केही समय दैनिक डेढ सय मेगावाट बिजुली मात्रै निर्यात भइरहेकोमा अहिले फेरि थोरै बढेको छ। घिसिङका अनुसार दैनिक ३०० मेगावाट बढी बिजुली निर्यात भइरहेको छ।
प्राधिकरणले गत साउन र भदौमा भने देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत भारततर्फ निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा भारतमा सात अर्ब ५४ करोड ६१ लाख रूपैयाँको विद्युत निर्यात गरेको हो ।
साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रूपैयाँको विद्युत निर्यात गरेको हो। भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रूपैयाँको विद्युत निर्यात गरेको हो। साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो। भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत निर्यात गरिएको हो।
दुई महिनाको विद्युत निर्यातको औसत दर प्रतियुनिट सात रूपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रतियुनिट औसत दर ८ रूपैयाँ ११ पैसा थियो भने भदौमा ६ रूपैयाँ ६२ पैसा छ।
भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रूपैयाँको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते) मा ६९ करोड ८ लाख रूपैयाँको विद्युत निर्यात गरिएको छ।
भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू) मा हुने गरेको छ। त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत बिक्री भएको हो।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ।
गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत आयात गरिएको थियो। सोही वर्ष १७ अर्ब ६ करोड रूपैयाँको विद्युत निर्यात भएको थियो।
गत आवमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात