एडिबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान


काठमाडौँ : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो ।
अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत र सन् २०२६ मा चार दशमलव सात प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।
त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा दुई दशमलव तीन र सन् २०२६ मा दुई दशमलव दुई प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति दुई दशमलव छ प्रतिशत थियो ।
नेपालको मुद्रास्फीति भने सन् २०२५ मा पाँच दशमलव दुई र सन् २०२६ मा पाँच प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।
“अप्रिलको सुरुआतमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ”, प्रतिवेदनमा भनिएको छ ।
साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन–रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडिबीले अनुमान गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
-
यस्तो थियो दोस्रो योजना (२०१९–२०२३) कालमा नेपालको विद्युत् अवस्था
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा
-
राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल
-
यस्तो रहनेछ आजको मौसम, (मौसम शब्दावलीका अर्थसहित)
-
पहिलो आवधिक योजना (२०१३–२०१८) मा विद्युत् : देशको जडित क्षमता २० मेगावाट पुर्याउने लक्ष्य