भोटेकोशी बाढीमा जलविद्युत् आयोजनाका ९०९ कर्मचारी अझै सम्पर्कविहीन
जलसरोकार
काठमाडौँ : तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेका छन्।
बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनाको कुल उत्पादन क्षमता ६६९ मेगावाट रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
इप्पानका अनुसार बाढीबाट आठ वटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन आयोजना प्रभावित भएका हुन्। तीमध्ये ११ वटा आयोजनामा कार्यरत ९०९ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। बाढीपछि आयोजनास्थलमा ठूलो क्षति हुनुका साथै दर्जनौँ किलोमिटर पहुँचमार्ग, आवास तथा कार्यालय भवन र सुरुङ संरचनामा क्षति पुगेको छ।
बाढीबाट रसुवागढी, माथिल्लो त्रिशूली–१, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोलालगायतका जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा मानवीय तथा भौतिक क्षति सबैभन्दा ठूलो देखिएको छ।
माथिल्लो त्रिशूली–१ आयोजनामा बाढी आउनुअघि एक हजार ४३३ जना कार्यरत थिए। कम्पनीका अनुसार हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने १० जनाको शव फेला परेको छ। अझै सम्पर्कविहीन रहेकाको खोजी तथा उद्धारका लागि आयोजनाको सुरुङभित्र जमेको लेदो हटाउने काम जारी छ।
उक्त आयोजनामा सम्पर्कविहीनमध्ये नौ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ। विदेशी नागरिकसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएपछि आयोजनास्थलमा खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा फसेका कामदारको खोजी पनि जारी छ। उनीहरूसम्म पुग्न पहुँच सुरुङ सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ। मेसिन प्रयोग गरेर दैनिक करिब ७० मिटर सुरुङ सफा गर्ने गरिएको र फसेका कामदारसम्म पुग्न अझै करिब तीन दिन लाग्ने अनुमान गरिएको छ।
यता, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र पारिएको छ। आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा तीन वटा ठूला मेसिन प्रयोग गरी उत्खनन भइरहेको छ। उक्त आयोजनाबाट मात्रै १७८ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीबाट पूर्णरूपमा प्रभावित आयोजनासँगै त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली, मिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजनासमेत प्रभावित भएका छन्। यी आयोजनामा गरी १७५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीले आयोजनाका उत्पादन तथा निर्माण संरचनासँगै आवास, कार्यालय, पहुँचमार्ग र सुरुङमा क्षति पुर्याएपछि विद्युत् उत्पादन र निर्माणका काम प्रभावित भएका छन्। ठूलो संख्यामा कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेकाले आयोजनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। विशेषगरी सुरुङ तथा भूमिगत संरचनामा फसेकाको उद्धार कठिन बनेकाले प्रभावित आयोजनामा प्राविधिक जनशक्ति र उपकरण परिचालन गरेर खोजीलाई तीव्र पारिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा निर्णायक चरणतर्फ : १२५ मिटरमा पानी, तीन पम्पबाट निकास; पावरहाउसतर्फ अघि बढ्ने तयारी
-
अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने
-
साताको पहिलो कारोबार दिन नेप्से २५ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ६८ करोड
-
भोटेकोशी बाढीमा जलविद्युत् आयोजनाका ९०९ कर्मचारी अझै सम्पर्कविहीन
-
तीजको दिन घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला ३ लाख १ हजार
-
अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयरसहित लाभांश पारित गर्न साधारण सभा बोलायो