बाढीपछि नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा बिजुली फर्कियो, वैकल्पिक ११ केभी लाइनबाट बाँकी क्षेत्र जोडिँदै
जलसरोकार
नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोले विद्युत् संरचनामा ठूलो क्षति पुर्याए पनि नुवाकोटमा विद्युत् आपूर्ति पुनःस्थापनाले गति लिएको छ। नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार हालसम्म जिल्लाका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ भने करिब ९० प्रतिशत ट्रान्सफर्मर चार्ज भइसकेका छन्।
क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न कठिन भएका स्थानमा भने प्राधिकरणले उपलब्ध विद्युत् संरचनालाई वैकल्पिक रूपमा प्रयोग गर्दै आपूर्ति विस्तार गरिरहेको छ। नुवाकोट वितरण केन्द्र प्रमुख राजकुमार रमणका अनुसार बाँकी क्षेत्रमा पोल गाड्ने, तार तान्ने, क्षतिग्रस्त लाइन पुनर्निर्माण गर्ने तथा वैकल्पिक स्रोतबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने काम एकैसाथ अघि बढिरहेको छ।
रमणका अनुसार देवीघाट-चपली ६६ केभी डबल सर्किटमध्ये एउटा सर्किटलाई ११ केभीमा चार्ज गरी विदुर इनारपाटीमा ट्यापिङ गरेर विदुर, बट्टार, गंगटे, पिपलटारलगायत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित गरिएको छ।
त्यस्तै अर्को सर्किटलाई देवीघाट स्विचयार्डमा ११ केभीमा ट्यापिङ गरी कोलनी हुँदै किस्पाङका विभिन्न क्षेत्र तथा देवीघाट-चौघडा हुँदै तारकेश्वरका प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापनाको काम भइरहेको छ।
“बाढीले मूल संरचनामा क्षति पुर्याएका कारण सबै ठाउँमा पुरानै बाटोबाट विद्युत् पुर्याउन सम्भव छैन। त्यसैले उपलब्ध संरचनालाई वैकल्पिक रूपमा प्रयोग गरेर जहाँबाट सकिन्छ, त्यहाँबाट विद्युत् पुर्याउने काम गरिरहेका छौँ,” वितरण केन्द्र प्रमुख रमणले भने।
यसै क्रममा त्रिशूली-बालाजु ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी नुवाकोट हुँदै सूर्यगढीबाट रसुवातर्फ लैजाने लाइन निर्माण भइरहेको छ।
३१ ट्रान्सफर्मर सञ्चालनमा
देवीघाट-चपलीको दुवै सर्किटलाई वैकल्पिक रूपमा प्रयोग गर्ने कामले प्रभावित क्षेत्रको आपूर्ति विस्तारमा महत्वपूर्ण सहयोग गरेको छ। एउटा सर्किट भदौ ११ गतेदेखि सञ्चालनमा रहेकोमा अर्को सर्किटलाई समेत ११ केभीमा सञ्चालनमा ल्याएपछि विदुर-३, १२ तथा तारकेश्वर-१, ५ र ६ का ३१ वटा ट्रान्सफर्मर सञ्चालनमा आएका छन्।
यसअघि नै विदुर-१ को बान्द्रे र सिमुटार क्षेत्रमा विद्युत् पुर्याउन बालाजु-त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी बाँद्रेमा चार वटा पोल जडान गर्ने काम अघि बढाइएको थियो।
त्यसै लाइनलाई चिलिमेको ६६ केभी टावरसमेत प्रयोग गरेर विभिन्न स्थानमा करिब ३५ वटा पोल जडान गरी विदुर नगरपालिका-१० र ११ मा विद्युत् पुर्याउने योजना बनाइएको छ।
यसका लागि तयार गरिएको प्राविधिक विवरणमा विदुर-१ बाट विदुर-१० र ११ तर्फ ११ केभी लाइन विस्तार गर्न ६ हजार मिटर XLPE चालक (५० वर्ग मिलिमिटरको क्रस-लिंक्ड पोलिइथिलिन इन्सुलेसनयुक्त चालक), १ हजार ५० मिटर ACSR चालक (स्टिलले मजबुत बनाइएको एल्युमिनियम चालक) तथा २८ वटा एचटी पोल (उच्च भोल्टेजको विद्युत् लाइन बोक्न प्रयोग गरिने पोल) लगायतका सामग्रीको स्थलगत परिमाण उल्लेख छ। अर्को खण्डमा १२ हजार ५०० मिटर XLPE चालक र ७० वटा एचटी पोल आवश्यक पर्ने देखाइएको छ।
क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माण तीव्र
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि समानान्तर रूपमा अघि बढाइएको छ। बेलकोटगढी-७ देखि खाल्टेसम्म बाढीले बगाएको ११ केभी लाइनमा करिब १५ वटा नयाँ पोल गाड्ने काम भइरहेको छ। उक्त संरचनाबाट त्रिशूली नदी पार गरेर तारकेश्वर गाउँपालिका-२ र ३ मा विद्युत् आपूर्ति सुचारु गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै विदुर-७, तुप्चेबाट किस्पाङतर्फ क्षतिग्रस्त ११ केभी लाइन पुनःस्थापनाका लागि करिब १० वटा नयाँ पोल जडान र ढलेका १२ वटा पोल पुनःस्थापना गर्ने काम भइरहेको छ।
हाल विद्युत् सेवा पुनःस्थापना हुन बाँकी प्रमुख क्षेत्रहरूमा किस्पाङ गाउँपालिकाका सबै क्षेत्र, विदुर नगरपालिका-१ को केही भाग तथा वडा नं. ६, १० र ११ का विभिन्न क्षेत्र, तारकेश्वर गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका केही क्षेत्र तथा बेलकोटगढी-७ र ८ का विभिन्न क्षेत्र छन्।
रमणका अनुसार यी क्षेत्रमा पनि प्राविधिक टोली परिचालन गरेर पोल, तार तथा अन्य विद्युत् संरचना पुनर्निर्माणको काम तीव्र पारिएको छ।
“अहिले हाम्रो प्राथमिकता प्रभावित क्षेत्रमा जतिसक्दो छिटो विद्युत् पुर्याउनु हो। क्षतिग्रस्त संरचना पुनर्निर्माणसँगै वैकल्पिक संरचनाबाट समेत आपूर्ति सञ्चालन गरिरहेका छौँ,” रमणले भने।
बाढीले वितरण प्रणालीमा ठूलो क्षति पुर्याए पनि क्षतिग्रस्त संरचना मर्मत र वैकल्पिक विद्युत् मार्ग निर्माणलाई सँगसँगै अघि बढाएर नुवाकोटमा आपूर्ति सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : सुरुङमा फसेकाको तत्काल उद्धार, जलविद्युत्लाई विशेष प्याकेज देऊ
-
माया खोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको पूर्वस्वीकृति
-
बजारबाट १८ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
बिहीबार सुन प्रतितोला ७ हजार ६०० रुपैयाँले बढ्यो
-
बाढीपछि नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा बिजुली फर्कियो, वैकल्पिक ११ केभी लाइनबाट बाँकी क्षेत्र जोडिँदै
-
भोटेकोशी-त्रिशूली बाढी : एचआइडीसीएलले १ करोड १ लाख सहयोग गर्दै पुनरुत्थानका लागि छुट्टै वित्तीय संरचना बनाउने