काठमाडौं– ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्वाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।
अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताए ।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले यो सँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताए । देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उनले विद्युत् आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो ।
हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षण प्रसारण अवलोकनका लागि पुगेको थियो ।
लगातार छैटौं दिन घट्यो सेयर बजार
लोडसेडिङ गर्न कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गर्यो : डा.सिंह
विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे प्रतिनिधि सभामा कुरो उठ्यो
सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा