माथिल्लो त्रिशूली-१ मा अझै ४३९ जना सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
बाढी आएको बेला आयोजनास्थलमा करिब १ हजार ४३३ जना कार्यरत; ८७७ जनाको सकुशल उद्धार, ७८ जना सम्पर्कमा
जलसरोकार
काठमाडौं : रसुवा हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा अझै ४३९ जना सम्पर्कविहीन रहेका छन्। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सम्पर्कविहीन स्वदेशी तथा विदेशी नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
कम्पनीका अनुसार बाढी आएको समयमा प्रवर्द्धक कम्पनी, परामर्शदाता, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) निर्माण व्यवसायी तथा उसका विभिन्न उप-ठेकेदार कम्पनीमा कार्यरत नेपाली, कोरियाली, चिनियाँ, भारतीयलगायत विभिन्न मुलुकका नागरिक गरी करिब १ हजार ४३३ जना जनशक्ति आयोजनास्थलमा कार्यरत थिए।
हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको, ७८ जना सम्पर्कमा आएको र ३९ जना मृत अवस्थामा भेटिएको कम्पनीले जनाएको छ। अझै ४३९ जना सम्पर्कविहीन रहेको विज्ञप्तिमा उल्लेख छ।
बाढीले आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ जाने क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। कम्पनीका अनुसार बाँधस्थलबाट मुख्य सुरुङतर्फ बाढीले ट्रक नै पल्टाएको अवस्थामा फेला परेको छ।

नेपाली सेना, प्रहरी र कोरियाली विज्ञसहितको संयुक्त खोजी
बाढी आएदेखि नै आयोजनाको साइट कार्यालय तथा निर्माणस्थलमा कार्यरत व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली सहभागी संयुक्त खोजी अभियान सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
भूमिगत संरचनाभित्र फसेका सम्भावित व्यक्तिको खोजीका साथै आयोजनास्थलको बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत खोजी जारी छ।
खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तालिमप्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोही उद्धार टोली तथा अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ।
आयोजनाका सुरुङ, भूमिगत विद्युत्गृह तथा अन्य भौतिक संरचनामा मानिस फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भग्नावशेष तथा लेदो हटाउने, सम्भावित खोजी क्षेत्र पहिचान गर्ने र उद्धारका लागि आवश्यक वातावरण बनाउने काम भइरहेको कम्पनीले जनाएको छ।
हेलिकोप्टरबाट मिनी एस्काभेटरदेखि ग्यास-कटिङ उपकरणसम्म
बाढीका कारण आयोजनास्थलसम्म पुग्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खोजी तथा उद्धारका लागि आवश्यक उपकरण हेलिकोप्टरबाट ढुवानी गरिएको छ।
कम्पनीका अनुसार दुईवटा मिनी एस्काभेटर हेलिकोप्टरमार्फत आयोजनास्थल पुर्याएर उत्खनन, खोजी तथा उद्धारमा परिचालन गरिएको छ।
त्यस्तै, सुरुङभित्र जमेको भग्नावशेष हटाउन तथा फलामका रड काट्न आवश्यक पर्ने विद्युत्का लागि जेनेरेटर र ग्यास-कटिङ उपकरण पनि हेलिकोप्टरमार्फत आयोजनास्थलमा पुर्याइएको छ।
आयोजनाको मुख्य सुरुङ निर्माणका लागि बनाइएको अडिट-३ को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो तथा भग्नावशेष एक्साभेटरको प्रयोग गरी हटाउने काम भइरहेको कम्पनीले जनाएको छ।
खोजी तथा उद्धारका लागि आवश्यक एक्साभेटर, मिनी एक्साभेटरलगायत अन्य उपकरणसमेत हेलिकोप्टरमार्फत आयोजनास्थलमा पुर्याइएको छ।
कुकुरसहितको खोजी टोली परिचालन
सम्भावित स्थानमा मानिसको खोजी गर्न तालिमप्राप्त कुकुरसहितको खोजी टोली परिचालन गरिएको छ। उक्त टोलीको आवतजावतका लागि आवश्यक हेलिकोप्टर उडानको अनुमति समेत लिइएको कम्पनीले जनाएको छ।
यसैगरी, मैलुङस्थित आयोजनाको साइट कार्यालय तथा कर्मचारी आवास क्षेत्रमा थुप्रिएको लेदो र भग्नावशेष हटाउने तथा जमेको पानी निकास गर्ने काम पनि भइरहेको छ।
प्राविधिक टोलीले आयोजनाको भूमिगत विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल तथा अन्य सम्बन्धित संरचनाको अवस्था निरीक्षण तथा मूल्याङ्कन गरिरहेको कम्पनीको भनाइ छ।

विकट भूगोल र थप पहिरोको जोखिमबीच उद्धार
खोजी तथा उद्धार कार्यमा आयोजनास्थलको विकट भौगोलिक अवस्था प्रमुख चुनौती बनेको कम्पनीले जनाएको छ।
बाढीबाट भएको व्यापक क्षति, आयोजनास्थलसम्म पुग्ने सडक तथा यातायातको कठिनाइ, आवास तथा आधारभूत सुविधाको अभाव, भूमिगत संरचनाभित्रको जोखिम र थप पहिरोको सम्भावनाका बीच संयुक्त टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।
कम्पनीले खोजी तथा उद्धार टोलीका लागि आवश्यक सम्पूर्ण स्रोतसाधन उपलब्ध गराउँदै आएको जनाएको छ।
शव सनाखतमा परिवारलाई सहजीकरण
आयोजनास्थलबाट निकालिएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुरस्थित नेपाली सेनाको क्याम्पमा ल्याइएकाले मृतकका परिवार तथा आफन्तलाई शव सनाखतका लागि आवश्यक सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको कम्पनीले जनाएको छ।
मृतकका परिवारलाई आफ्नो संस्कृति रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न सहयोग पुग्ने गरी प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्चसमेत उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।
परिवारसँग नियमित सम्पर्क
सम्पर्कविहीन व्यक्तिका परिवारसँग कम्पनीले नियमित सम्पर्क कायम राखेको जनाएको छ।
परिवारबाट प्राप्त सूचना, सकुशल उद्धार भएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतबाट प्राप्त जानकारीका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी खोजी तथा उद्धारमा परिचालित टोलीलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ।
कम्पनीले प्रभावित परिवारलाई आवश्यक जानकारी उपलब्ध गराउने, परामर्श प्रदान गर्ने तथा सम्भव भएसम्म मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयाससमेत जारी राखेको जनाएको छ।
खोजी तथा उद्धारको प्रगति र प्राप्त सूचनाबारे परिवारसँग नियमित सम्पर्क र समन्वय भइरहेको कम्पनीले जनाएको छ।
‘वार रुम’ देखि मन्त्रालयसम्म समन्वय
खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको वार रुम बैठक, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा विद्युत् विकाससम्बन्धी निकायमा कम्पनीका प्रतिनिधिले नियमित सहभागिता जनाउँदै आएको जनाएको छ।
कम्पनीले आयोजनाको अवस्था, खोजी तथा उद्धारको प्रगति, देखिएका चुनौती तथा आवश्यकताबारे सम्बन्धित सरकारी निकायलाई जानकारी गराउँदै आएको छ।
सरकारी निकाय, सुरक्षा संगठन, प्राविधिक विशेषज्ञ, उद्धार टोली तथा अन्य सहयोगी पक्षसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।
कम्पनीले खोजी तथा उद्धारमा संलग्न सरकारी निकाय, सुरक्षा निकाय, प्राविधिक विशेषज्ञ, उद्धार टोली, स्थानीय समुदाय तथा सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि सम्भव सबै उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका अनुसार, ४३९ जना अझै सम्पर्कविहीन रहेकाले माथिल्लो त्रिशूली-१ आयोजनामा खोजी तथा उद्धार अभियानलाई थप तीव्रता दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-१ मा अझै ४३९ जना सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
-
विद्युत्मा लगाइएको भ्याट हटाउने सरकारको तयारी
-
चार वर्षे कार्यकाल सकिएका १०० कित्ते शेयरधनी दीपक कार्कीलाई बैठकमा नबोलाएपछि अपर तामाकोशीमा रडाको
-
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
-
आज शेयरबजार बन्द
-
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २३ लाखभन्दा बढी आवेदकमध्ये ८६ हजार ३२० जनाले पाए १० कित्ता शेयर