भारी वर्षापछि क्षतिग्रस्त सडक र पुल मर्मतका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
जलसरोकार
काठमाडौं : इलाममा गत १८ र १९ असोजमा परेको भारी वर्षाका कारण क्षतिग्रस्त भएका सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको योजनामा अर्थ मन्त्रालयले आवश्यक रकमको अनुमति प्रदान गरेको हो ।
क्षतिग्रस्त संरचनामा मेची राजमार्ग, माइखोला पुल (राजदुवाली र बेलवासे), पुवाखोला पुल, जोगमाईखोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माण समावेश छन् । चालू आर्थिक वर्षका लागि तत्काल आवश्यक ५४ करोड रुपैयाँ पनि निकासा गरिएको छ । स्रोत सुनिश्चित भएपछि सडक तथा पुल पुनर्निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल टेण्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । कार्यान्वयन सडक विभाग मातहतको इलाम सडक डिभिजनले गर्नेछ ।
गत विपद् घटनामा ३९ जनाको मृत्यु भएको थियो र ठूलो भौतिक संरचनामा क्षति पुगेको थियो । सरकारले २३ असोजमा इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।
सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ सुनिश्चित गरिएको छ । यसअनुसार, माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माणका लागि ५÷५ करोड र मेची करिडोरका लागि १४ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ ।
चालू आवमा आवश्यक रकमका रूपमा मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली र बेलासेका लागि क्रमशः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ निकासा गरिएको छ। दुई बेली ब्रिज निर्माणका लागि सम्पूर्ण रकम उपलब्ध गराइएको छ ।
मन्त्री घिसिङले टोलीको निरीक्षणपछि विपद्बाट प्रभावित जनजीवन सामान्य बनाउन तत्काल राहत, संरचना मर्मत तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु