जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युतीय गाडीले अहिले नै वार्षिक २ अर्ब ८८ करोडको पेट्रोलियम प्रतिस्थापन

कमल धिताल
शनिबार, चैत १०, २०८० | १२:२४:४२ बजे

काठमाडौं : देशभरका विद्युतीय सवारी साधनले आजभोलि दैनिक ८० हजार युनिट बिजुली खपत गरिरहेका छन् । एक युनिटबाट आठ किलोमिटर चल्ने विद्युतीय सवारी साधनले दैनिक ८० हजार लिटर पेट्रोलियम विस्थापित गर्दै आएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले देखाएको छ । सामान्यतया एक लिटर पेट्रोलियमबाट आठ किलोमिटर गाडी चल्छ ।

८० हजार लिटर पेट्रोलियमको भन्सार मूल्य प्रतिलिटर एक सय रुपैयाँ (सरकारी करबाहेक) का दरले ८० लाख रुपैयाँ पर्न आउँछ । देशभर रहेका विद्युतीय सवारी साधनले दैनिक ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगाएका छन् । यस हिसाबले मासिक २४ करोड रुपैयाँ र वार्षिक रुपले २ अर्ब ८८ करोड रुपैयाँ (२ करोड २१ लाख अमेरिकी) डलर जोगिएको प्राधिकरणको एक तथ्यांकले देखाएको छ ।

 प्राधिकरणको सिस्टममा देखिएको ५१ चार्जिङ स्टेसनको १ दिनको तथ्यांक ।[/caption]

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगसँगै यसले वातावरणीय एवं पेट्रोलियम पदार्थ विस्थापितमा समेत मद्दत पुग्न थालेको हो । नेपाल विद्युत् प्राधिकरणले देशभर बनाएका ५१ वटा चार्जिङ स्टेसनसँगै देशभर विद्युतीय सवारीप्रति एकातिर आर्कषण बढ्दै गएको छ भने अर्कातर्फ यसले कार्बन उत्सर्जन र पेट्रोलियम पदार्थ माग कम भई डलर सञ्चितिमा सहयोग पुगेको प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवाली बताउँछन् ।

विद्युतीय गाडीको प्रवद्र्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको छ । यसले वातावरण प्रदुषण कम गर्नुका साथै पेट्रोलियम पदार्थको मागमा समेत कमी आएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको साउनदेखि माघसम्मका सात महिनामा मात्रै ६ हजार १५९ वटा चारपांग्रे बिजुली गाडी (कार, जीप) भित्रिएका तथ्यांकले पनि विद्युतीय सवारीमा आर्कषण बढेको देखिन्छ ।

विद्युतीय सवारीको बढ्दो प्रयोगले एकातिर कार्बन उत्सर्जन समेत कम भएको प्राधिकरणका सहायक प्रबन्धक ज्ञवाली बताउँछन् । हाल प्राधिकरणको चालू ५१ वटा चार्जिङ स्टेसनमा दैनिक २ हजारको हाराहारीमाा गाडी चार्जिङ भइरहेको र  निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसन समेत जाेड्दा ६८ टन कार्बन उत्सर्जन कम भएको उनी बताउँछन् ।

‘हाल प्राधिकरणको देशका विभिन्न स्थानमा ५१ चार्जिङ स्टेसन सञ्चालनमा छ । यस्तै ११ वटा सञ्चालनको तयारीमा छ । यी स्टेसनमा दैनिक २ हजारको हाराहारीमा गाडी चार्ज हुन्छ,’ ज्ञवालीले सोमबार जलसरोकारसँग भने, ‘निजी क्षेत्रबाट सञ्चालित ३०० वटा चार्जिङ स्टेसनमा पनि दैनिक ८ देखि १० हजार विद्युतीय सवारी साधन चार्ज भइरहेको र यसले कार्बन उत्सर्जनका साथै पेट्रोलियम पदार्थको खपत समेत घटाएको छ ।’

प्राधिरकणले विकास गरेको सफ्टवेरबाट देशभर रहेको ५१ वटा चार्जिङ स्टेसनको रियल टाइम डाटाबाट कति सवारी साधन चार्ज भइरहेको र यसले के कति विद्युत् खपत र कार्बन उत्सर्जन कम भएको समेत देखाउँछ ।

उक्त प्रणालीको माध्यमबाट दैनिक चार्जिङ संख्या, बिजुलीको माग, कार्बन उत्सर्जन कति कम भएको छ भन्ने लगायतको जानकारी लिन सकिने ज्ञवालीले जनाए ।
‘प्राधिकरणको ५१ सहित निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनमा चार्ज हुने सवारी साधनको संख्या हेर्दा पछिल्लो एक वर्षमा देश नै विद्युतीय सवारी साधनमय भएको छ,’ उनले भने, ‘यसबाट एकातर्फ कार्बन उत्र्सजन त कम भएकै छ अर्कोतर्फ पेट्रोलियम पदार्थको समेत आयात घट्दा यसले डलर सञ्चितिमा समेत ठूलो सहयोग गरेको छ ।’

गाडी आयातमा देखिएको उत्साहअनुरुप जुन रुपमा चार्जिङ स्टेसन निर्माण हुनुपर्ने हो त्यो नभएको ज्ञवाली बताउँछन् । हामीकहाँ विद्युतीय सवारी र चार्जिङ सम्बन्धी कार्यविधि तयार नभएर पनि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपर्ने हो त्यो नभएको उनको भनाइ छ ।

चार्जिङ रहेकाे स्थान र सङ्ख्या
१ धार्के धादिङ २
२ मुग्लिङ चितवन १
३ साझा सेवाबल्खु काठमाडौं २
४ साझा सेवापुल्चोक ललितपुर १
५ नेपालविद्युतप्राधिकरण, रत्नपार्क काठमाडौं १
६ नेपालपुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
७ पारस बसपार्क चितवन २
८ खुर्कोट सिन्धुली २
९ सिन्धुलीबसपार्क सिन्धुली १
१० इलाकाप्रहरी कार्यालय बर्दिबास महोत्तरी २
११ हरिवन सर्लाही २
१२ इनरुवाबसपार्क सुनसरी १
१३ प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
१४ कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
१५ पर्यटक बसपार्क पोखरा कास्की १
१६ दमक बसपार्क झापा २
१७ बेलकानगरपालिका उदयपुर २
१८ बिर्तामोड बसपार्क झापा २
१९ सुर्खेत बसपार्क सुर्खेत २
२० हेटौडा, रातमाटे मकवानपुर २
२१ विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
२२ प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
२३ बेगनास ताल, पोखरा कास्की १
२४ बुटवलबसपार्क रुपन्देही २
२५ इटहरी सुनसरी १
२६ विराटनगर मोरङ १
२७ कोहलपुर नयाँबसपार्क बाँके २
२८ धनगढी कैलाली २
२९ त्रिशूलीहावा घर नुवाकोट १
३० बट्टार, त्रिशूली नुवाकोट १
३१ कुश्मा पर्वत १
३२ लमहीबसपार्क दाङ २
३३ लम्की कैलाली १
जम्मा ५१
स्रोत: नेपाल विद्युत प्राधिकरण ।

प्रकाशित मिति : शनिबार, चैत १०, २०८० | १२:२४:४२ बजे

लेखकको बारेमा

कमल धिताल
पत्रकारितामा सक्रिय धिताल आर्थिक क्षेत्रमा कलम चलाउँछन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका उनी जलसरोकामा कार्यरत छन् ।

प्रतिक्रिया