काबेली कोरिडरका १८० मेगावाट बिजुली प्रणालीबाट आउट
जलसरोकार
काठमाडौं : अस्ति बिहीबारदेखि परेको अबिरल वर्षाका कारण पूर्वको काबेली कोरिडर अन्तर्गत १३२ केभी प्रसारण लाइनको तीनवटा टावर बाढीले क्षतिग्रस्त पारेपछि प्रणालीबाट १८० मेगावाट बिजुली बाहिरिएको छ ।
बाढीले गोदक सवस्टेशन अन्तर्गत पर्ने टावर नं. ५१ लाई पूर्ण रुपमा क्षति तुल्याएको र त्यसको तारले तानेर टावर नं. ५० र ५३ मा आंशिक क्षति पु¥याएको विद्युत् प्राधिकरणको दुहबी ग्रीडका प्रमुख रोशन खड्काले जानकारी दिए ।
उनका अनुसार बाढी अघि काबेली कोरिडर अन्तर्गतको प्रसारण लाइनबाट १८० मेगावाट बिजुली आइरहेकामा हिजोबाट ती सबै बन्द भएका छन् ।
गोदक सवस्टेशनका फोरमयान महेशकुमार शाहका अनुसार खोलामा रहेको टावर नं. ५१ पोहोरदेखि नै धरापमा परेको र प्राधिकरणले ग्याबिन वाल लगाएर अड्याएको थियो । ‘यसपालि बाढीले ढालिदियो,’ उनले आइतबार जलसरोकारसँग भने, ‘अब बनाउन कति समय लाग्छ, कति क्षति भएको छ, त्यसको स्थलगत निरीक्षण गर्न हाकिम साबहरु टावर ढलेको स्थल जानुभएको छ, आज बिहानै ।’
यो प्रसारण लाइन निर्माण गर्न एघार वर्ष लागेको थियो । विश्व बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी (३ करोड १० लाख अमेरिकी डलर) मा सन् २००६ मा यसको थालनी भएको थियो । स्थानीय वासिन्दाको अवरोध, रुख कटानमा वन कार्यालयले पैदा गरेको झन्झट, ठेकेदारको ढिलासुस्तीलगायतका कारण यो कोरिडर अत्यन्त ढिला भएको हो ।
कोरिडरको पहिलो चरण लखनपुर (झापा) – गोदक (इलाम) र दोस्रो चरण इलाम–फिदिम पूरा भएको थियो । यो कोरिडरबाट इधवा खोला, काबेली, हेवा खोला, तल्लो हेवा खोला लगायत १८० मेगावाट बिजुली प्रवाहित भइरहेको थियो ।
दुहबी ग्रीड प्रमुख खड्काका अनुसार बाढीले पुर्याएको क्षतिको मूल्यांकन गर्ने र वैकल्पिक उपायबाट बिजुली प्रसारण गर्नेबारे छलफल भइरहेको छ ।
प्राधिकरणका प्रविधिकहरुका अनुसार क्षतिग्रस्त टावर पुनः ठड्याई बिजुली आपूर्ति गर्न कम्तीमा पनि एक महिना लाग्ने देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधिमण्डल भेटघाटमा व्यस्त
-
म्याग्दीमा जलविद्युत्काे सम्भावना र चुनावी मुद्दा
-
महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
-
नेपाल–कतार व्यापार सहकार्य विस्तार गर्न कतारी टोली काठमाडौं आइपुग्यो
-
आज पनि बढ्यो सुनको भाउ, बजारमा कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बहुसूचक सर्वेक्षण : ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, गण्डकीमा धेरै, कर्णालीमा कम