बाढी आएको १० दिन बितिसक्दा पनि अझै ९३६ जना सम्पर्कविहीन
जलसरोकार
काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको १० दिन बितिसक्दा पनि प्रभावित जलविद्युत् आयोजनामा कार्यरत ९३६ जनाको अवस्था अझै अज्ञात रहेको छ। बाढीबाट प्रभावित ११ जलविद्युत् आयोजनामा कार्यरत उनीहरू सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विवरणमा उल्लेख छ।
इप्पानका अनुसार बाढीबाट प्रभावितमध्ये केही आयोजनामा ठूलो संख्यामा कामदार तथा कर्मचारी भूमिगत संरचना, हेडवर्क्स तथा सुरुङ क्षेत्रमा फसेको आशंका गरिएको छ। कतिपय आयोजनामा भने सम्पर्कविहीन व्यक्तिहरू कुन संरचनामा छन् भन्ने यकिन हुन सकेको छैन।
सम्पर्कविहीनको संख्या सबैभन्दा धेरै माथिल्लो त्रिशूली-१ आयोजनामा छ। २१६ मेगावाटको निर्माणाधीन आयोजनामा ५५१ जना सम्पर्कविहीन रहेको र तीमध्ये ११५ जना हेडवर्क्स तथा मुख्य सुरुङमा फसेको आशंका गरिएको छ। आयोजनामा प्रवर्द्धक, परामर्शदाता तथा विभिन्न निर्माण कम्पनीका ठूलो संख्याका कर्मचारी तथा कामदार कार्यरत थिए।
त्यस्तै माथिल्लो त्रिशूली-३ ‘बी’ मा १९१ जना सम्पर्कविहीन रहेको विवरण छ। ३७ मेगावाटको यस आयोजनामा सतहबाट उत्खनन तथा अडिट सुरुङबाट थप मेसिनरी लैजाने प्रयास भइरहेको भए पनि लगातारको वर्षा, नदीको पानीको सतह र पहुँचको समस्याका कारण उद्धार कार्य कठिन बनेको छ।
रसुवागढी जलविद्युत् आयोजनामा पनि ९३ जना सम्पर्कविहीन छन्। भूमिगत विद्युत्गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन नसकेको इप्पानको विवरणमा उल्लेख छ। बाढी आएको दुई दिनपछि भूमिगत डिसेन्डरबाट आफैं बाहिर निस्किएका चार जनासहित केही व्यक्तिको भने उद्धार भइसकेको छ।
लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन रहेको पछिल्लो विवरणमा उल्लेख छ। यस आयोजनाबाट १९ जनाको उद्धार भइसकेको र दुई जनाको शव फेला परेको जनाइएको छ। नेपाली सेनाले सुरुङभित्र प्रवेश गरेर खोजी जारी राखेको छ।
त्यस्तै चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा ६ जना फसेको विवरण छ। आयोजनास्थलमा कार्यरत अन्य ७१ जना साइट कार्यालयमा रहेको र अरूले सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएको इप्पानको विवरणमा उल्लेख छ।
यसबीच माथिल्लो त्रिशूली-३ ‘ए’ बाट भने बाढी आएको करिब २१६ घण्टापछि दुई जनाको सकुशल उद्धार भएको छ। सञ्जय साह र कबीर महर्जनलाई उद्धार टोलीले बाहिर निकालेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको विवरणमा उल्लेख छ।
बाढीले रसुवामा मात्रै १२ वटा जलविद्युत् आयोजना प्रभावित बनाएको छ। तीमध्ये ८ वटा सञ्चालनमा रहेका आयोजना हुन् भने ४ वटा निर्माणाधीन थिए। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको इप्पानको विवरणमा उल्लेख छ।
दश दिन बितिसक्दा पनि ठूलो संख्यामा मानिसको अवस्था पत्ता नलाग्नुले उद्धार अभियानको कठिनाइ अझै कायमै रहेको देखाउँछ। विशेषगरी भूमिगत विद्युत्गृह, सुरुङ तथा हेडवर्क्समा फसेका हुनसक्ने व्यक्तिसम्म पुग्न पहुँचमार्ग, पानी तथा लेदो हटाउने काम र भारी उपकरण आयोजनास्थलसम्म पुर्याउने चुनौती मुख्य अवरोध बनेका छन्।
बाढीपछि उद्धारका लागि निरन्तर प्रयास भइरहे पनि १० दिन बितिसक्दा ९३६ जनाको अवस्था अझै अज्ञात रहनु प्रभावित परिवारका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-१ को सुरुङबाट विदेशी नागरिकको जीवित उद्धार
-
१० दिन बित्दा पनि रसुवागढीको विद्युत्गृहमा पुग्न सकेन मिनी एक्साभेटर
-
उद्धार सफल भएपछि प्राधिकरणका इन्जिनियरले सम्झिए श्रीराम न्यौपानेलाई : ‘फोटो खिच्न मात्र गएका थिए’ भन्ने आरोपमाथि प्रश्न
-
रसुवागढीको भूमिगत रहस्य : ९३ जना अझै सम्पर्कविहीन, विद्युत्गृहमा कति फसे यकिन छैन
-
माथिल्लो त्रिशूली-१ मा गहिरिँदो संकट : ५५१ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङमा फसेको आशंका
-
बाढी आएको १० दिन बितिसक्दा पनि अझै ९३६ जना सम्पर्कविहीन