बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम
जलसरोकार
काठमाडौं: बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।
बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको)लाई हटाएर योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ ।
विद्युत् प्राधिकारणका अनुसार करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउण्डेसन) निर्माण भइरहेको छ । फाउण्डेसनको काम १५ दिनभित्रमा सकिने छ । मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ । उक्त सडक खण्डमा ३०÷३० मिटरका दुईवटा र ३२÷३२ मिटरका दुईवटा मोनोपोल जडान गरिने छ ।
चालू रहेको उक्त प्रसारण लाइनलाई करिब १५ दिन बन्द गरेर मोनोपोल जडान गरिने प्राधिकारणले बतायो । उक्त खण्डमा रहेका पुरानो टावरलाई हटाइने छ । साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी सुरुहुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरेका छन् । गर्मी सुरुभएपछि बुटवल क्षेत्रमा विद्युत्को माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसभन्दा अघिनै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रीड महाशाखालाई निर्देशन दिए ।
सडक र प्रसारण लाइन (तार) बीचको कम हुँदा सडकमा गुड्ने ठूला गाडीहरुले लाइन छोएमा हुन सक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको प्राधिकारणका निर्देशक घिसिङले बताए । उनले भने, हाल सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ । मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी करिब नौ मिटर हुनेछ ।
प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो रहेको छ । हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर रहेको छ । मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ । यसले गर्दा सडक पनि फराकिलो हुनेछ । साथै, मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ–बायाँ रहेका घरहरु पनि थप सुरक्षित हुनेछन् ।
मोनोपोल निर्माणका लागि ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगागी जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्बिमा कम्पनीको शेयरमा सकारात्मक सर्किट, नेप्सेमा सामान्य वृद्धि
-
नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी अर्थतन्त्रको आधार बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
-
सानिमा मिडिल तमोर हाइड्रोपावरको नाफा दोब्बरभन्दा बढी, पहिलो त्रैमासमै कमायो ४२ करोड ९६ लाख
-
सात वर्षदेखि सरकारी गाडी निजी प्रयोगमा ? सिंचाईंका सि.डि.ई. नारायणप्रसाद सुवेदीमाथि प्रश्न
-
सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो
-
खानीखोला र माया खोला हाइड्रोपावरको नाफामा उछाल, दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार