जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मुडभरी एण्ड जोशीले भन्सार महसुल तिर्न नसक्दा इनरुवा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजना पर धकेलियो

जलसरोकार
सोमबार, भदौ ३१, २०८१ | १८:३९:०१ बजे
तस्वीर : नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : सवस्टेशन बनाउने ठेक्का पाएको मुडभरी एण्ड जोशी कम्पनीले भारतबाट झिकाएको सामानको भन्सार शुल्क एक वर्षदेखि तिर्न नसक्दा कुशाहा (इनरुवा) — विराटनगर १३२ केभी प्रसारण लाइन निर्माण पर धकेलिएको छ ।
उक्त आयोजनाअन्तर्गत सवस्टेशनको ठेक्का पाएर सामान भारतबाट झिकाएको ५५ टन स्टील स्ट्रक्चर सामान एक वर्षदेखि भैरहवा भन्सारमा पडेकाले आयोजना निर्माण ढिलाई हुन पुगेको आयोजना प्रमुख परमार धिरसेनले बताए ।
‘सामान आएदेखि चार, पाँच महिनामा सवस्टेशन निर्माण कार्य सकिन्छ,’ धिरसेनले जलसरोकारसँग भने, ‘आर्थिक संकटका कारण ठेकेदार कम्पनीले समयमै साइटमा सामान झार्न पाएन ।’
धरिसेनका अनुसार मुडभरी एण्ड जोशीले हुलास स्टीलबाट आपूर्ति हुने स्थानीय सामानहरु ल्याइसकेको छ । कोरोना महामारी र राष्ट्र बैंकले एलसी खोल्न गरेको कडाइका कारण वित्तीय संकटले गर्दा आफूले भनेको समयमा भन्सार छुटाउन नसकेको जानकारी आयोजनालाई दिएको छ ।
यो आयोजनामा प्रसारण लाइन र सवस्टेशन गरी दुई प्याकेज छन् । कुसाहादेखि विराटनगरसम्म २२ किलोमिटर १३२ केभीको प्रसारण लाइन निर्माणको ठेक्का भने भारतीय कम्पनी आरएस इन्फ्रा इण्डियनले पाएको छ । 
यो आयोजनाको मुख्य उद्देश्य सुनसरी र मोरङको विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाई औद्योगिक, व्यापारिक र गार्हस्थ्य ग्राहकहरुले झेलिरहेका समस्या समाधान गर्नु हो ।
विद्यमान दुहबी ग्रीड सवस्टेशन, मोरङको रानी सवस्टेशन र टंकीसिनवारी सवस्टेशनको ओभरलोडमा चलेका छन् । ‘विद्युत् भएर पनि लाइन नभएका कारण भनेजति बिजुली पठाउन सकिएको छैन,’ धिरसेनले भने, ‘यो पूर्वाधार निर्माण सम्पन्न भएपनि मोरङ र सुनसरीको विद्युत् आपूर्ति सुदृढ हुनेछ ।’
इनरुवाको ४००/२००/१३२ केभी सवस्टेशनदेखि विराटनगरमा निर्माणाधीन १३२/३३ केभी, १२६ एमभीए र सुनसरीको रामगञ्ज बेलगछिका ३३/११, १६ एमीएका पावर ट्रान्सफर्मरमा लगेर जोडिंदैछ । 
धिरसेनका अनुसार हालसम्म प्रसारण लाइनतर्फ ७८ वटा टावर फाउन्डेसन तयार भइसकेको छ । गत वर्ष स्थानीयले दुईवटा टावर खडा गर्न दिएका थिएनन् भने सुनसरी खोलाको किनारमा ५ वटा टावर गाड्न बाँकी थियो ।  यी सात टावरमध्ये दुईवटा तयार भइसकेको छ भने विवाद भएको ठाउँमा जिल्ला प्रशासन कार्यालय, इनरुवाको अग्रसरतामा समाधान गरिएको छ । 
कुल २२ किलोमिटर लामो प्रसारण लाइनमध्ये ८ किलोमिटर क्षेत्र (विराटनगर सवस्टेशनदेखि चिम्दीसम्म) मा तार तानिइसकेको धिरसेनले बताए । यसैगरी १८ किलोमिटर ओपीजी (चट्याङबाट लाइनलाई जोगाउने र सवस्टेशनहरुमा टेलिफोन गर्न मिल्ने) तान्ने काम पूरा भएको हो । 
सवस्टेशनतर्फ स्टाफ क्वार्टर निर्माण सम्पन्न भएको, रानीस्थित ३३/११ केभी सवस्टेशनको जग खन्ने काम भएको र सोही क्षमताको टंकिसिनवारीस्थित सवस्टेशनको जग खन्ने काम ८० प्रतिशत सकिएको धिरसेनले बताए । 
‘१३२/३३ केभी क्षमताको विराटनगर सवस्टेनको स्वीचयार्डको फाउण्डेसन  र नियन्त्रण भवन निर्माण कार्य अन्तिम चरणमा छन्, ’ उनले भने ।
कुल एक करोड ९० लाख अमेरिकी डलर लागत रहेको यो आयोजना आव २०८१/८२ भित्र सम्पन्न गर्ने लक्ष्य छ । ‘मुुडभरीले सामान ल्याएको चार, पाँच महिनामा सवस्टेशन निर्माण कार्य सम्पन्न हुन्छ, भने प्रसारण लाइनमा अब समस्या छैन,’ उनले भने ।

 

प्रकाशित मिति : सोमबार, भदौ ३१, २०८१ | १८:३९:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया