जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चोरेको बत्तीले ‘मेयर उज्यालो कार्यक्रम’

जलसरोकार
शनिबार, असोज १९, २०८१ | १८:१४:५० बजे

काठमाडौं : देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ वटा नगरपालिका छन् । यसमा गाउँपालिको संख्या ४ सय ६० छ । यी कुल स्थानीय तह ७५३ मध्ये ३ सय ३८ स्थानीयतहले सडक बत्तीको पैसा तिरेका छैनन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सडक बत्तीबापतको बक्यौता मात्र ६ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यसमा जरिवाना (थप दस्तुर) पनि लिने हो भने यो रकम ८ अर्ब ६६ करोड रुपैयाँ हुन आउँछ ।
पैसा नतिर्ने अधिकांश स्थानीय तह (विशेष गरेर नगरपालिकाहर) ले पोल पोलमा बत्ती राखेका छन् । तर अधिकांशले चोरेको बिजुलीले ‘मेयर उज्यालो कार्यक्रम’ नै चलाएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘अधिकांश नगरपालिकाहरुले चोरेको बत्तीले सडक उज्यालो तुल्याएका छन्,’ सिलवालले शनिबार जलसरोकारसँग भने, ‘हरेक पोलमा बत्ती बलिरहेछ, त्यो बत्ती उहाँहरुले जबर्जस्ती राख्नुभएको हो ।’
यसरी राखिएको बत्ती दिउँसो पनि बल्ने गरेको सिलवाल बताउँछन् । ‘यस्तो प्रवृत्ति अधिकांश नगरपालिकाहरुमा छ,’ सिलवालले भने । 
६ महानगरपालिकाका बक्यौता
महानगरपालिकाहरुमा सबैभन्दा बढी बक्यौता काठमाडौंको छ । आव २०८०/८१ सम्म काठमाडौं महानगरपालिकाको बक्यौता १ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ छ । ३२ वडा रहेको काठमाडौं महानगरपालिकाका प्रायः सबै वडामा सडक बत्ती छन् । महानगरपालिकाले २०७३ सालभन्दा पनि अघिदेखि तिर्न छाडेको हो ।
काठमाडौंपछि ललितपुर महानगरपालिकाको सडक बत्तीको बक्यौता ३० करोड ७० लाख ३९ हजार रुपैयाँ छ । ललितपुर महानगरले पनि उपमहानगर हुनुभन्दा पनि अघिदेखिकै बक्यौता छ । यो महानगरपालिकाका अधिकांश सडकका पोलमा बत्ती छ ।
धेरै बक्यौता भएको तेस्रो अग्रस्थानमा वीरगञ्ज महानगरपालिका आउँछ । बीरगञ्ज महानगरपालिकाको आव २०८०/८१ सम्मको बक्यौता १९ करोड ६९ लाख १३ हजार रुपैयाँ छ । 
वीरगञ्जपछि अत्यधिक बक्यौता भएको चौथो नम्बरमा पोखरा महानगरपालिका पर्छ । आव २०८०/८१ असार मसान्तसम्म पोखरा महानगरपालिकाले सडक बत्तीबापत विद्युत् प्राधिकरणलाई १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ तिर्न बाँकी छ । 
भरतपुर महानगरपालिका पनि बक्यौता नतिर्ने पाँँचौं नम्बरमा पर्न आउँछ । भरतपुरले २०८०/८१ को असार मसान्तसम्म सडक बत्तीको बक्यौता बापत १३ करोड ४८ लाख १० हजार रुपैयाँ तिर्न बाँकी छ । 
महानगरपालिकाहरुमध्ये सबैभन्दा कम सडक बत्ती भएको विराटनगर हो । विराटनगरमा गत असार मसान्तम्म सडक बत्तीको बक्यौता ११ करोड ७४ लाख ६१ हजार रुपैयाँ तिर्न बाँकी छ । 
११ उपमहानगरपालिका
आव २०८०/८१ को असार मसान्तम्ममा धरान उपमहानगरपालिकाको सडक बत्ती बक्यौता ३ करोड ११ लाख, इटहरी उपमहानगरपालिाकाको ३ करोड ५३ लाख, जनकपुर उपमहानगरपालिकाको ४ करोड ७९ लाख, हेटौंडा उपमहानगरपालिकाको ९० लाख ५५ हजार, जीतपुर सिमरा १ करोड ६३ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी घोराही उपमहानगरपालिकाको सबैभन्दा कम २३ हजार  एक सय, वीरेन्द्रनगर उपमहानगरपालिकाको ४ करोड ४९ लाख रुपैयाँ छ ।
पैसा नतिरे लाइन काटिने
प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवालले नेपाल सरकारलाई प्राधिरणले तिर्नु बुझाउनुपर्ने हिसाबमा यो बक्यौता रकम मिलान गरिदिन अनुरोध गरिने बताए । विगतमा २०७३/७४ सालसम्म यसरी स्थानीय तहका सडक बत्ती बक्यौता मिलान हुँदै आएको थियो ।
त्यसबाहेक प्राधिकरणले हरेक महिना एक, एक थान सडक बत्तीको बिलिङ गरी प्रमाणीकरण गरी पठाउने गरेको पनि उनले बताए । ‘हामी उहाँहरु (स्थानीय) लाई बक्यौता उठाउन पत्राचार गर्छाैं, नमाने लाइन काट्छौं,’ सिलवालले बताए ।,  
 

 

प्रकाशित मिति : शनिबार, असोज १९, २०८१ | १८:१४:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया