तनहुँ जलविद्युत् आयोजना : दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान, ५० प्रतिशत काम सकियो
जलसरोकार
तनहुँ : तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँ र चितवनका विभिन्न वन क्षेत्रमा रुख कटानको काम तीव्र पारिएको छ। प्रसारण लाइनको मार्गमा पर्ने रुख हटाउने काम हालसम्म करिब ५० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा आवश्यक स्वीकृति लिएर रुख कटान भइरहेको छ। विशेषगरी चितवनको भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन, सतनचुली सामुदायिक वन तथा भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुख हटाउने काम भइरहेको छ। ती क्षेत्रमा मात्रै एक हजार २६३ वटा रुख कटान गर्नुपर्नेछ।
मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा गरी कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको थियो। स्वीकृत वन क्षेत्रमध्ये चितवनमा २५ दशमलव २७ हेक्टर र तनहुँमा ६७ दशमलव ४६ हेक्टर वन क्षेत्र रहेको छ। उक्त वन क्षेत्रमा रहेका कुल नौ हजार १२७ वटा रुख हटाउन सरकारले अनुमति दिएको थियो।
वन क्षेत्र प्रयोग तथा रुख कटानका लागि आवश्यक सरकारी स्वीकृति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको काम अघि बढाइएको हो। वन क्षेत्रमा प्रसारण लाइनका टावर निर्माण, तार तान्ने तथा अन्य संरचना निर्माणका लागि आवश्यक स्थान व्यवस्थापन गर्न रुख कटान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।
प्याकेज–३ अन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ। करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ।
आयोजना प्रमुख भण्डारीका अनुसार ९४ वटा टावरमध्ये हालसम्म ८३ वटा टावरको जग निर्माण सम्पन्न भइसकेको छ भने ८१ वटा टावर जडान भइसकेका छन्। प्रसारण लाइनको कुल ३४ दशमलव ७० किलोमिटर लम्बाइमध्ये हालसम्म दुई दशमलव २ किलोमिटर क्षेत्रमा तार तान्ने काम सम्पन्न भएको छ।
टावरको जग निर्माण र जडानको काम उल्लेख्य रूपमा अघि बढे पनि वन क्षेत्र व्यवस्थापन र रुख कटानको कामसँगै तार तान्ने कार्यलाई थप गति दिनुपर्ने देखिएको छ। आयोजनाका अनुसार प्रसारण लाइन निर्माणको समग्र भौतिक प्रगति भने ८३ दशमलव ५ प्रतिशत पुगेको छ।
तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दमौली–भरतपुर प्रसारण लाइनलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ। कुल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न आवश्यक संरचनामध्ये यो प्रसारण लाइन प्रमुख हिस्सा हो।
प्रसारण लाइन निर्माणसँगै वन क्षेत्रमा रहेका रुख कटान, टावर निर्माण र तार तान्ने काम सम्पन्न भएपछि आयोजनाबाट उत्पादित विद्युत्लाई भरपर्दो रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न थप सहज हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १० अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
तनहुँ जलविद्युत् आयोजना : दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान, ५० प्रतिशत काम सकियो
-
ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी गरिएको ऊर्जा मन्त्रालयको दाबी
-
घुन्सा खोला ईपीसी निर्माणमा डिजाइन परामर्शदाता नियुक्त, ठेकेदार र परामर्शदाताको जिम्मेवारी कस्तो?
-
हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा तापक्रम ३२ डिग्रीसम्म पुग्ने
-
यसकारण असफल भयो प्रधानमन्त्रीको भारत भ्रमण