लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता
जलसरोकार
सिरहा: नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम ४४ करोड रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८२÷८३ को साउन मसान्तसम्ममा बाँकी बक्यौता रकम रु ४४ करोड ९२ लाख ५७ हजार १८४ पुगेको तथ्याङ्कले देखाएको छ ।
कार्यालयले विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म रु १७ लाख ३२ हजार ३१२ असुल गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।
कृषि सिँचाइ मिटरअन्तर्गत मात्र लहान नगरपालिकाले रु १ करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी रहेको छ । “गत असार २५ गते पत्र काटिएको भए पनि अहिलेसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन,” प्रमुख गुप्ताले बताए ।
उनका अनुसार प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको अवस्था छ । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक अर्को विकल्प छैन,” उनले चेतावनी दिए ।
यसैबीच, केन्द्रअन्तर्गत विद्युत् चुहावट दर समेत बढ्दो क्रममा रहेको छ । आव २०८०÷८१ मा चुहावट दर ३१.६५ प्रतिशत, आव २०८१÷८२ मा बढेर ३८.१० प्रतिशत, चालु आव २०८२÷८३ को साउन मसान्तसम्म ४४.४६ प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिए ।
प्राधिकरणले चुहावट नियन्त्रण अभियानअन्तर्गत ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको जनाएको छ ।
सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाममा गरी तीन वितरण केन्द्र छन् । लहान केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह