सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जामन्त्रीको कार्यकाल समिति बनाएरै बित्ने भयो– नौवटा समिति बनाए, माखो मरेन; समिति गठनको क्रम जारी, अब ऊर्जा नीति बनाउन अर्को समिति

जलसरोकार
बिहीबार, मंसिर १०, २०८३ | १८:५६:५७ बजे

काठमाडौं । चारैतिर पहाडले घेरिएको र बीचको समथर भूभागलाई उपत्यका भनिन्छ भनेझैं सिंहदरबारस्थित ऊर्जा मन्त्रालयकाे पहिलो तलामा चारैतिरबाट ज्ञान नभएका ऊर्जाविज्ञ, पढाइ नमिलेका सल्लाहकार तथा जागिर खान आएका स्वकीय सचिवहरुले घेरिएका ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले तिनै सल्लाहकार तथा विज्ञहरुको सल्लाह/सिफारिस बमोजिम एकपछि अर्को समिति गठन गर्ने क्रमलाई निरन्तरता दिएका छन्। 

ऊर्जा क्षेत्रका समस्या समाधान गर्ने भन्दै कार्यकालको सुरुदेखि नै विभिन्न समिति तथा कार्यदल गठन गर्दै आएका मन्त्री श्रेष्ठले  विद्युत् खरिद सम्झौता (पीपीए), आयोजनाको अनुमतिपत्र, रुग्ण आयोजना, विद्युत् खपत तथा निर्यात रणनीति, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना र समग्र ऊर्जा क्षेत्रका नीतिगत समस्या अध्ययन गर्न उनले पटक-पटक समिति गठन गरेका छन्।

पछिल्लो पटक राष्ट्रिय ऊर्जा नीति तयार गर्न उच्चस्तरीय समिति गठन गरी २१ दिनभित्र मस्यौदा तयार पार्न निर्देशन दिइएको छ। यससँगै ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समिति गठन गर्ने मन्त्रीको क्रम रोकिएको छैन।

तर, ऊर्जा क्षेत्रमा समस्या पहिचान गर्न अध्ययन र समिति गठन भइरहँदा ती समितिका प्रतिवेदनले कति ठोस निर्णय गराउन सके, कति निर्णय कार्यान्वयनमा गए र कति समस्या अझै यथावत् छन् भन्ने प्रश्नले स्वयं मन्त्रीलाई सोधिरहेको छ।

समितिमाथि समिति, कामको परिणाम कहाँ?

मन्त्री श्रेष्ठले कार्यकालको प्रारम्भिक चरणमै ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार गर्न समिति गठन गरेका थिए। उक्त समितिले १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यसहित रणनीति तयार गरेको विवरण सार्वजनिक भएको थियो।

त्यस्तै, अलपत्र तथा रुग्ण आयोजनाको अवस्था समीक्षा गर्न ८ सदस्यीय समिति, पीपीएसम्बन्धी नीतिगत र प्रक्रियागत समस्या अध्ययन गर्न समिति, विद्युत् विकास विभागबाट जारी अनुमतिपत्र समीक्षा गर्न समिति र पीपीए तथा अनुमतिपत्रका अवरोध १८० दिनभित्र टुंग्याउने लक्ष्यसहित अर्को समिति गठन गरियो।

यसरी मन्त्रीले गठन गरेका कतिपय समितिले दिएका प्रतिवेदन मन्त्रीकै दराजमा थन्किरहेका छन् भने उल्टै जलविद्युत् आयोजनाका सर्वेक्षण अनुमति पत्र जारी गर्नमा विद्युत् विकास विभागलाई अवैध फरमान जारी गरिएको छ। जसले गर्दा यी मन्त्री आएदेखि एउटा जलविद्युत् सर्वेक्षण अनुमति पत्र जारी भएन। बरु हजारै मेगावाटका सयौं आयोजनाहरुका लाइसेन्सका लागि दर्ता भएका छन्।

यसरी विभागमा दर्ता भई बसेका कतिपय आयोजनाहरु भने खोला व्यापारी (जसले दर्ता गरेर अग्राधिकार कायम गराउन सफल भए) लाइसेन्स नआउँदै बेचबिखन गरी भ्याइसकेका छन्। यसले कतै मन्त्रालय र खोला व्यापारीको साँठगाँठ त भएको छैन भन्ने प्रश्न उब्जिएको छ।

नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्नसमेत अध्ययन समिति बनाइएको थियो। यी समितिहरूको कार्यादेश हेर्दा ऊर्जा क्षेत्रमा वर्षौंदेखि थाती रहेका समस्या समाधान गर्ने उद्देश्य देखिन्छ।

तर, एउटै विषयमा विभिन्न समिति गठन हुँदा तिनको कार्यादेशमा दोहोरोपन देखिएको छ। पीपीए समस्याबारे एउटा समिति अध्ययन गरिरहेको अवस्थामा पीपीए तथा अनुमतिपत्रका अवरोध हटाउन अर्को समिति बनाइएको छ। पीपीए खुलाउने मापदण्ड तयार गर्न पछि नेपाल विद्युत् प्राधिकरणमा छुट्टै उपसमितिसमेत गठन गरिएको छ।

यसले समस्या समाधानका लागि अध्ययन भइरहेको देखाए पनि एउटै विषयमा विभिन्न तहबाट समिति गठन गर्दा निर्णय प्रक्रियामा झन् ढिलाइ हुने जोखिमसमेत बढाएको छ। कहाँसम्म भने पछिल्लोपटक पीपीएसम्बन्धी एउटा गाजेमाजे मस्यौदा सार्वजनिक भएको छ, जसले प्राधिकरणले पीपीए नगर्ने स्पष्ट लेखेको छ।

तैपनि मन्त्रालयले पीपीए रोक्दैन र खुलाउँछ भन्ने बनावटी सन्देश दिनका लागि मात्रै पनि मन्त्रीले समिति माथि समिति बनाएर झुलाइरहेको आरोप जलविद्युत् प्रवर्द्धकहरुको छ।

प्रतिवेदन बुझाए, निर्णय भएनन्

समिति गठन गर्नु आफैंमा समस्या होइन। ऊर्जा क्षेत्रका जटिल नीतिगत, प्राविधिक र वित्तीय समस्याको समाधानका लागि अध्ययन आवश्यक हुन्छ। तर अध्ययनको निष्कर्ष कार्यान्वयनमा जान सकेन भने समिति गठनको औचित्यमाथि प्रश्न उठ्छ।

पीपीए समीक्षा समिति र अनुमतिपत्र समीक्षा समितिले प्रतिवेदन बुझाएको विवरण सार्वजनिक भइसकेको छ। तर प्रतिवेदन बुझाएपछि ती सिफारिसमाथि के निर्णय भयो र त्यसले ऊर्जा क्षेत्रका समस्या समाधानमा कस्तो परिणाम दियो भन्ने विवरण जगजाहेर नै छ।

नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना अध्ययन समितिको प्रतिवेदनसमेत तोकिएको समयभित्र बुझाइएको थिएन भन्ने समाचार सार्वजनिक भएको थियो। त्यस्तै, ऊर्जा आयोजनाका नीतिगत, कानुनी र कार्यान्वयनसम्बन्धी समस्या समाधान गर्न निजी क्षेत्रसमेत सहभागी गराएर उच्चस्तरीय समिति गठन गरिएको छ। त्यसको प्रतिवेदन र कार्यान्वयनसम्बन्धी प्रगति पनि सार्वजनिक रूपमा स्पष्ट हुन सकेको छैन।

३८ जलविद्युत् आयोजनाको अनुमतिपत्र समीक्षा गरी खारेजी सिफारिस गरिएको विषयमा समेत विवाद देखिएको थियो। मन्त्रीको सचिवालयबाट खारेजी सिफारिस भएको दाबी सार्वजनिक हुँदा समितिका सदस्यहरूले त्यसबारे फरक धारणा राखेका थिए। यसले समिति गठन, प्रतिवेदन र त्यसको निष्कर्ष सार्वजनिक गर्ने प्रक्रियामै विवाद देखिएको थियो। त्यही भएर मन्त्रालय आजका मितिसम्म उक्त प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।

मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री आफैले कतिवटा के विषयका समिति बनाउन लगाएँ र तिनले के भनेर प्रतिवेदन दिए भन्नेसमेत हेक्का छैन । 'ऊर्जाको ज्ञान नै नभएका प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा पीपीए समस्या समाधान गर्न समिति बन्यो, सात दिनभित्र प्रतिवेदन बुझाउन भनियो तर आज चार महिना बितिसक्दा पनि प्रतिवेदन आएन' ती अधिकारीले भने, 'प्रतिवेदन आए पनि कार्यान्वयन हुने हैन।'

राष्ट्रिय ऊर्जा नीति पनि अर्को समितिको जिम्मा

ऊर्जा क्षेत्रमा उत्पादन, प्रसारण, वितरण, खपत र व्यापारलाई समेट्ने दीर्घकालीन नीतिको आवश्यकता रहेको भन्दै अहिले राष्ट्रिय ऊर्जा नीति तयार गर्न अर्को उच्चस्तरीय समिति गठन गरिएको छ। समितिलाई २१ दिनभित्र अवधारणासहित मस्यौदा तयार गरी सरकारलाई बुझाउन भनिएको छ।

नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमताको विस्तार, प्रसारण पूर्वाधारको अभाव, पीपीए रोकिएको अवस्था, बजार सुनिश्चितताको चुनौती, आन्तरिक खपत वृद्धि र भारत तथा बंगलादेशसँग विद्युत् व्यापार विस्तारजस्ता अनेक समस्या एकसाथ सामना गरिरहेको छ। यस्ता समस्या समाधान गर्न नीतिगत स्पष्टता आवश्यक भए पनि नयाँ नीति बनाउने प्रक्रिया मात्रै उपलब्धि होइन।

मन्त्रीको कार्यकाल समिति गठन र प्रतिवेदनमै सीमित हुने हो?

मन्त्री श्रेष्ठले गठन गरेका समितिहरूका कार्यादेश हेर्दा अधिकांशले ऊर्जा क्षेत्रका वास्तविक समस्यालाई सम्बोधन गर्ने जिम्मेवारी पाएका छन्। तर एउटै विषयमा विभिन्न समिति गठन हुनु, प्रतिवेदन बुझाइसकेपछि निर्णयको अवस्था स्पष्ट नहुनु र कार्यान्वयनको परिणाम सार्वजनिक नहुनुले मन्त्रालयको कामकारबाहीमाथि प्रश्न उठाएको छ।

ऊर्जा क्षेत्रमा अहिले अध्ययन गर्नुपर्ने विषयको कमी छैन। पीपीए खुलाउने, रुग्ण आयोजनालाई अघि बढाउने, लाइसेन्सको व्यवस्थापन गर्ने, नेपाल विद्युत् प्राधिकरणको संरचनागत सुधार गर्ने, प्रसारण लाइन निर्माणलाई गति दिने र विद्युत् खपत तथा निर्यात बढाउने विषयमा सरकारसँग पर्याप्त अध्ययन र सुझाव उपलब्ध छन्।

समस्या अध्ययनको अभावभन्दा पनि निर्णय र कार्यान्वयनको अभाव हो भने मन्त्रालयले थप समिति गठन गर्नुको सट्टा पहिले गठन भएका समितिका प्रतिवेदनमाथि निर्णय गरी कार्यान्वयनमा लैजानुपर्ने हुन्छ।

नयाँ राष्ट्रिय ऊर्जा नीति पनि अर्को समितिले तयार गर्नेछ। तर त्यसअघि गठन भएका समितिका प्रतिवेदनहरू कहाँ पुगे, तिनका सिफारिसमाथि के निर्णय भए र ऊर्जा क्षेत्रमा तिनले के परिवर्तन ल्याए भन्ने सार्वजनिक हिसाब नदिने हो भने मन्त्रीको कार्यकाल समिति गठन, अध्ययन र प्रतिवेदन बुझाउने क्रममै सीमित भएको आरोपबाट मन्त्रालय मुक्त हुन सक्ने छैन।

ऊर्जा क्षेत्रलाई अहिले अर्को अध्ययनभन्दा निर्णय गर्ने नेतृत्व, समयमै काम सम्पन्न गर्ने संयन्त्र र कार्यान्वयनको जवाफदेहिता आवश्यक छ। समितिहरू थपिँदै जाने तर समस्या जहाँको त्यहीँ रहने हो भने अन्ततः मन्त्रीको कार्यकाल सकिँदा समितिका प्रतिवेदन मात्रै उपलब्धि बन्ने जोखिम छ।

 

प्रकाशित मिति : बिहीबार, मंसिर १०, २०८३ | १८:५६:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको