लहान वितरण केन्द्रमा चुहावट ४४ प्रतिशत नाघ्यो
जलसरोकार
सिरहा : सिरहामा विद्युत् चुहावटको मात्रा वर्षैपिच्छे बढ्दै गएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३१.६५ प्रतिशत रहेको चुहावट २०८१/८२ मा बढेर ३८.१० प्रतिशत पुगेको थियो भने चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्ममा झनै वृद्धि भई ४४.४६ प्रतिशतमा पुगेको छ ।
वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले चुहावट बढ्नुको मुख्य कारण विद्युत् चोरी र कृषि मिटरको दुरुपयोग रहेको स्पष्ट पारे । उनका अनुसार १७ हजार कृषि मिटर वितरण गरिए पनि करिब पाँच हजार मात्र खेतमा प्रयोगमा छन्, बाँकी घरमा राखी दुरुपयोग हुँदै आएको छ । यसरी सुरक्षित प्रयोग नगर्दा बर्सेनि जनधनको क्षति समेत भइरहेको उनको भनाइ छ ।
“अब प्राधिकरण चोरी नियन्त्रणमा कडाइका साथ लाग्नेछ,” गुप्ताले भने । विद्युत् चोरीलाई नियन्त्रण गर्न सकेमा चुहावट मात्र कम नहुने, प्राधिकरणको आर्थिक अवस्थामा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
प्राधिकरणले मिटर माग गर्ने उपभोक्तालाई समयमै मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै, विद्युत् चोरीलाई सामाजिक अपराधका रूपमा स्थापित गर्दै स्थानीय तहसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत भइरहेको जनाएको छ ।
विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ अनुसार चोरीबाट वितरण प्रणालीलाई हानि भएमा क्षतिपूर्ति तिर्नुपर्ने र सोही कसुर पुनः दोहोरिएमा वास्तविक क्षतिको २०० प्रतिशतसम्म क्षतिपूर्ति बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम सिरहा गरी तीन वितरण केन्द्र छन् । लहान केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका तथा बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिका पर्दछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली