ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने, १३ करोड लगानीमा स्मार्ट स्ट्रिट लाइट जडान
जलसरोकार
ललितपुर : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानलाई प्राथमिकताका साथ अघि बढाएको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ क्षेत्रमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।
महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा मुख्य सडकहरूमा समेत स्मार्ट बत्ती जडानको अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७.९ किलोमिटर चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने योजना कार्यान्वयनमा रहेको छ ।
परियोजनाका लागि ललितपुर महानगरपालिकाले रु १० करोड र नेपाल विद्युत् प्राधिकरणले रु तीन करोड सहयोग गरेको छ । यसरी कुल रु १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट परियोजना अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन का अनुसार आधुनिक बत्ती जडानपछि चक्रपथ क्षेत्र रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहजता हुने तथा दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।
परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, आठ मिटर अग्ला १९५ वटा पोल, सात मिटर अग्ला २२४ वटा पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ। यसबाट महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७.९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने विश्वास लिइएको छ ।
महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म स्मार्ट बत्ती सञ्चालनमा ल्याउने र त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने योजना बनाएको छ । नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै यस परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
-
फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड
-
बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार
-
४१० मेगावाट प्रणालीबाहिर, हिउँद व्यवस्थापनमा प्राधिकरणको तयारी
-
डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
-
देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना