सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीले प्रसारण हब बगाएपछि साञ्जेन डेढ महिनामै ७ करोड ७१ लाख घाटामा

जलसरोकार
आइतबार, कात्तिक ३०, २०८३ | १३:१८:५१ बजे

काठमाडौं : गत भदौ १० गते आएको बाढीले चिलिमे हब र त्रिशूली-३ बी हबका प्रसारण संरचना बगाएपछि विद्युत् उत्पादन ठप्प भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले करिब डेढ महिनाकै अवधिमा ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। भदौ १० देखि असोज मसान्तसम्म उत्पादन बन्द हुँदा विद्युत् बिक्रीबाट हुने आम्दानी प्रभावित भए पनि बैंक ऋणको ब्याज तथा अन्य वित्तीय दायित्व यथावत् रहँदा कम्पनी नाफाबाट घाटामा पुगेको हो।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिमा १५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। तर यस वर्षको पहिलो त्रैमासिकमा कम्पनीले ७ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो त्रैमासिकमा पनि कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

रसुवाको भोटेकोशीमा आएको बाढीले चिलिमे हब र त्रिशूली-३ बी हबका प्रसारण संरचनामा क्षति पुर्‍याएपछि साञ्जेनका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकिएको हो। आयोजनाका उत्पादन संरचनामा प्रत्यक्ष क्षति नपुगे पनि प्रसारण पूर्वाधार अवरुद्ध हुँदा विद्युत् उत्पादन तथा बिक्री प्रभावित भएको छ।

विद्युत् बिक्री आम्दानीमा ठूलो गिरावट

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विद्युत् बिक्रीबाट २५ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। यसमध्ये साञ्जेन जलविद्युत् आयोजनाबाट १९ करोड ४ लाख रुपैयाँ र माथिल्लो साञ्जेनबाट ६ करोड ८४ लाख रुपैयाँ आम्दानी भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले विद्युत् बिक्रीबाट ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्षको पहिलो त्रैमासिकमा यस्तो आम्दानी ५३.६ प्रतिशतले घटेको छ।

कम्पनीले विद्युत् बिक्रीबाट २१ करोड ९६ लाख रुपैयाँ कुल मुनाफा कमाएको छ। कर्मचारी सुविधा, सञ्चालन तथा प्रशासनिक खर्च र सम्पत्तिको मूल्यह्रास कटाउँदा सञ्चालन मुनाफा ६ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।

तर कम्पनीको वित्तीय खर्च मात्रै १५ करोड ९ लाख रुपैयाँ पुगेको छ। अन्य आम्दानी ४३ लाख २८ हजार रुपैयाँ र वित्तीय आम्दानी १ लाख ७१ हजार रुपैयाँ भए पनि वित्तीय खर्चको भार थेग्न नसक्दा कम्पनी ७ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको हो।

गत वर्षको सोही अवधिमा कम्पनीको वित्तीय खर्च १८ करोड ८७ लाख रुपैयाँ थियो। यस वर्ष वित्तीय खर्च केही घटे पनि विद्युत् बिक्री आम्दानीमा आएको ठूलो गिरावटले कम्पनीको वित्तीय परिणाम नकारात्मक बनाएको छ।

९१८ करोडभन्दा बढी बैंक ऋण

साञ्जेनको वित्तीय विवरणमा ऋणको भार पनि उल्लेख्य देखिन्छ। असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन बैंक ऋण ८२६ करोड ८९ लाख रुपैयाँ र अल्पकालीन ऋण ९१ करोड ५० लाख रुपैयाँ छ। यसरी कम्पनीको कुल बैंक ऋण ९१८ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल सम्पत्ति १ हजार २४१ करोड ३० लाख रुपैयाँ रहेको छ। चुक्ता पुँजी ३६५ करोड रुपैयाँ भए पनि सञ्चित कोष तथा जगेडा कोषमा ६८ करोड २ लाख रुपैयाँ सञ्चित नोक्सानी छ। यसअनुसार कम्पनीको कुल इक्विटी २९६ करोड ९८ लाख रुपैयाँ रहेको छ।

आयोजनाबाट विद्युत् उत्पादन र बिक्री हुन नसके पनि ठूलो परिमाणको बैंक ऋणको ब्याज तथा अन्य वित्तीय दायित्व भने निरन्तर रहने अवस्था छ। पहिलो त्रैमासिकमा १५ करोड ९ लाख रुपैयाँ वित्तीय खर्च हुनु त्यसैको एउटा संकेत हो।

प्रसारण पूर्वाधारको जोखिमले आयोजनाको आम्दानी अनिश्चित

साञ्जेनका आयोजनामा प्रत्यक्ष भौतिक क्षति नभए पनि प्रसारण पूर्वाधारमा आएको क्षतिले उत्पादन तथा आम्दानीमा गम्भीर असर पारेको छ। यसले जलविद्युत् आयोजनाको निर्माण र उत्पादन क्षमतासँगै विद्युत् प्रसारण संरचनाको सुरक्षा तथा वैकल्पिक व्यवस्थाको महत्त्व पनि उजागर गरेको छ।

अर्बौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका जलविद्युत् आयोजना सञ्चालनमा रहन प्रसारण लाइन र सबस्टेसनको उपलब्धता अनिवार्य हुन्छ। एउटा प्रसारण हबमा आएको क्षतिले त्यसमा निर्भर आयोजनाको उत्पादन नै रोक्न सक्ने जोखिम साञ्जेनको घटनाले देखाएको छ।

प्रसारण संरचना पुनर्निर्माण तथा वैकल्पिक व्यवस्था हुन ढिलाइ भए कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गुमाउने क्रम लम्बिन सक्छ। त्यसको प्रत्यक्ष असर कम्पनीको नगद प्रवाह, ऋणको ब्याज भुक्तानी क्षमता र समग्र वित्तीय अवस्थामा पर्नेछ।

यसैले साञ्जेनको अहिलेको वित्तीय संकटलाई कम्पनीको उत्पादन क्षमताको मात्र विषयका रूपमा हेर्न मिल्दैन। जलविद्युत् आयोजनामा अर्बौं लगानी गरेपछि त्यसलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने पूर्वाधारको सुरक्षा र विपद्पछिको शीघ्र पुनर्स्थापनाको सुनिश्चितता पनि उत्तिकै आवश्यक रहेको यो घटनाले देखाएको छ।

प्रकाशित मिति : आइतबार, कात्तिक ३०, २०८३ | १३:१८:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया