रोल्पाको थबाङमा पहिलोपटक केन्द्रीय विद्युत् प्रसारण लाइन, करिब २५० घरधुरी उज्यालोमा
जलसरोकार
रोल्पा: दस वर्षे सशस्त्र जनयुद्धको आधारभूमि मानिने रोल्पाको थबाङ गाउँपालिकामा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ ।
थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठूलो गाउँमा विद्युत आपूर्तिको औपचारिक सुरुआत गरिएको हो । लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले स्विच थिचेर विद्युत प्रवाह सुरु गरेका हुन् ।
सांसद पुनका अनुसार, २०६४ सालअघि रोल्पामा विद्युत पहुँच १९ प्रतिशतमा सीमित थियो, तर पछिल्लो दशकमा ३६ हजारभन्दा बढी घरमा बिजुली पुगेपछि अहिले यो दर ७५ प्रतिशत नाघेको छ । उनले अर्थमन्त्री रहँदा रोल्पाको विद्युत विस्तारका लागि बजेट ल्याउन सहज भएको र त्यसकै परिणाम स्वरूप थबाङसम्म केन्द्रीय लाइन पुगी आर्थिक रूपान्तरणको बाटो खुलेको बताए ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका प्रमुख अशेश्वर शाहले वर्षौंको प्रयासपछि थबाङसम्म केन्द्रीय लाइन पु¥याउन सफल भएको बताए । “बत्ती बाल्नु मात्रै होइन, यो थबाङको आर्थिक रूपान्तरणको सुरुआत हो,” उनले भने ।
हाल थबाङमा करिब २५० घरधुरी प्रत्यक्ष रूपमा बिजुलीको पहुँचमा आएका छन् । गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार विद्युत पुगेसँगै पढाइ, सञ्चार, स्वास्थ्य र व्यवसायिक गतिविधि सबैमा सहजता आउने अपेक्षा गरिएको छ ।
विद्युत प्राधिकरणले बाँकी वडामा आगामी वर्षसम्म प्रसारण लाइन विस्तार गर्ने तयारी गरेको छ । रोल्पा जिल्लामा हालसम्म करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको बजेट विद्युत विस्तारमा खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु