विकट गाउँ साम्पाङमा विद्युत् सेवा विस्तार
जलसरोकार
भोजपुर: भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।
केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजरा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताए ।
विद्युत् विस्तारले उज्यालोसँगै कुटानी,पिसानी तथा दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अँध्यारोमा रात काट्नुपर्ने अवस्थामा अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।
“अँध्यारोमा रात कटाइरहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ”उनले भने,“हाम्रो क्षेत्र भौगोलिक रुपमा निकै विकट भए पनि वडाले खेलेको भूमिकाका कारण बत्ती बल्यो । विद्युत्ले दैनिक जीवनयापनमा सहजता छ ।
ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।”दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी निर्मा शेर्पाले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिनसक्ने अवस्था बनेको उनको भनाइ छ ।
“विद्युत्ले हाम्रो दैनिकी फेरिदियो” उनले भने, विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो । विद्युत्ले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । राज्य तहबाट भएको यो काम प्रशंसायोग्य छ । वडाको सक्रियतामा भएको विद्युत् विस्तारको काम उदाहरणीय छ ।”
भौगोलिक रुपमा विकट रहेकाले धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्चीे शेपाले बताए । निर्वाचनमा स्थानीयलाई विद्युत्को उज्यालोमा राख्छु भनेर गरेको प्रतिबद्धता पूरा हुने चरण पुगेको उनको भनाइ छ । आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ ।
“म वडाको जिम्मेवारी आउँदा यहाँको केही स्थानमा मात्र विद्युत् पुगेको अवस्था थियो” वडाध्यक्ष शेर्पाले भन्नुभयो,“अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ । बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम गरिरहेका छौँ । अव चाँडै नै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।”
सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । नौ सय ४१ घरपरिवार रहेको यो वडाको कूल जनसङ्ख्या तीन हजार दुई सय ८३ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा