बैतडीको दुर्गम गाउँमा विद्युत् सेवा विस्तार
जलसरोकार
बैतडी: बैतडी जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा लामो प्रतीक्षापछि विद्युत् सेवा विस्तार भएको छ। गाउँपालिकाको वडा नं २ शर्माली र वडा नं ३ सौगडामा नेपाल विद्युत् प्राधिकरणले ११ केभी लाइनमार्फत बिजुली पु¥याएपछि स्थानीयवासीको जीवनशैलीमा परिवर्तनको अपेक्षा गरिएको छ ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शर्मालीका ५८ घरमा हालै मात्र बिजुली पुगेको हो । “यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक दिन हो,” अध्यक्ष साउदले भने, “अब गाउँमा उज्यालो मात्र होइन, आर्थिक गतिविधि पनि बढ्नेछ ।” सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको र केही दिनमै सबै घरधुरीमा बिजुली पुग्ने उनले बताए ।
यसअघि शिवनाथ गाउँपालिकाको वडा नं ५ र ६ मा बिजुली पुगेको थियो भने बाँकी वडा नं १ र ४ मा चाँडै नै काम सुरु हुने योजना छ। “हामी बाँकी वडा विद्युतीकरणलाई प्राथमिकतामा राखेर तत्काल काम थाल्छौं,” अध्यक्ष साउदले थपे।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलका अनुसार विद्युतीकरणका लागि ११ केभी प्रसारण लाइन विस्तार गरिएको हो। “भौगोलिक कठिनाइका कारण काम चुनौतीपूर्ण भए पनि स्थानीयको सहयोगले लक्ष्य पूरा गर्न सक्यौं,” पौडेलले भने।
विद्युत् सेवासँगै गाउँमा अन्न कुट्ने–पिस्ने मिल सञ्चालनमा आएका छन्, जसले स्थानीयलाई समय र श्रम दुवै बचत गराइरहेको छ। यसअघि लामो दूरी पैदल वा घोडा–खच्चडमार्फत धान, गहुँ, मकै पीस्न लैजानुपर्ने बाध्यता थियो ।
विद्युत् विस्तारले ग्रामीण उद्यमशीलतामा पनि टेवा पु-याउने अपेक्षा गरिएको छ । स्थानीय युवाहरूले अब टेलरिङ, वेल्डिङ, फोटोकपी, इन्टरनेट सेवा, र चिस्यान गोदामजस्ता साना व्यवसाय सुरु गर्ने तयारी गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स