म्याग्दीको दुर्गम गाउँ दुवारीमा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
जलसरोकार
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित दुवारीमा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत वितरण लाइन विस्तार गरी ट्रान्सफर्मर चार्ज गरिएको हो ।
उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा मुख्य तथा शाखा लाइनका पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने काम पूरा भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए । उनका अनुसार प्रसारण लाइनको परीक्षण र ट्रान्सफर्मर चार्ज भइसकेको छ । मिटरबक्स जडान र घरघरमा वायरिङ सम्पन्न भएपछि केन्द्रीय लाइनको बिजुली नियमित रूपमा बालिनेछ ।
दुवारी, ढाँड र पात्लेखर्कमा करिब ९० घरपरिवारको बसोबास रहेको छ । वडाध्यक्ष गमान छन्त्यालका अनुसार हालसम्म यहाँका बासिन्दा लघु जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइन पुगेपछि स्थानीयको दैनिकी सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँको योजना सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं–४ ओखरबोटका करिब ६ सय, च्युरीबोटका करिब १ सय, धवलागिरि गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरधुरीमा विद्युतीकरण सम्पन्न भइसकेको छ ।
यस्तै, ३७० घरपरिवारको बसोबास रहेको लुलाङमा गत जेठ महिनामा तथा १५० घरपरिवार रहेको मल्कवाङ र १५० घरपरिवार बसोबास रहेको महभिरमा गत मङ्सिरमा ट्रान्सफर्मर चार्ज भइसकेको छ ।
म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले यस ठेक्कामार्फत धवलागिरि गाउँपालिका–१ को गुर्जाबाहेकका सबै बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुग्ने बताए । उनले धवलागिरि गाउँपालिका–४ का खिवाङ, चेचुङ, नाउरा, बगर, सिम्कोश र नेरवाङमा विद्युत् विस्तारको काम तत्काल सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँ सोच र नयाँ नेतृत्वसहित देश अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ
-
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
-
म्याग्दीको दुर्गम गाउँ दुवारीमा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
-
१४ वर्षपछि गति लिँदै कमला पुल निर्माण, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
-
तराईमा हुस्सु–कुहिरो, पहाडी भेगमा आंशिक बदली
-
भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरण अघि बढ्यो, अन्तरराष्ट्रिय बोलपत्र आह्वान