म्याग्दीको दुर्गम गाउँ दुवारीमा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
जलसरोकार
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित दुवारीमा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत वितरण लाइन विस्तार गरी ट्रान्सफर्मर चार्ज गरिएको हो ।
उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा मुख्य तथा शाखा लाइनका पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने काम पूरा भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए । उनका अनुसार प्रसारण लाइनको परीक्षण र ट्रान्सफर्मर चार्ज भइसकेको छ । मिटरबक्स जडान र घरघरमा वायरिङ सम्पन्न भएपछि केन्द्रीय लाइनको बिजुली नियमित रूपमा बालिनेछ ।
दुवारी, ढाँड र पात्लेखर्कमा करिब ९० घरपरिवारको बसोबास रहेको छ । वडाध्यक्ष गमान छन्त्यालका अनुसार हालसम्म यहाँका बासिन्दा लघु जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइन पुगेपछि स्थानीयको दैनिकी सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँको योजना सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं–४ ओखरबोटका करिब ६ सय, च्युरीबोटका करिब १ सय, धवलागिरि गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरधुरीमा विद्युतीकरण सम्पन्न भइसकेको छ ।
यस्तै, ३७० घरपरिवारको बसोबास रहेको लुलाङमा गत जेठ महिनामा तथा १५० घरपरिवार रहेको मल्कवाङ र १५० घरपरिवार बसोबास रहेको महभिरमा गत मङ्सिरमा ट्रान्सफर्मर चार्ज भइसकेको छ ।
म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले यस ठेक्कामार्फत धवलागिरि गाउँपालिका–१ को गुर्जाबाहेकका सबै बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुग्ने बताए । उनले धवलागिरि गाउँपालिका–४ का खिवाङ, चेचुङ, नाउरा, बगर, सिम्कोश र नेरवाङमा विद्युत् विस्तारको काम तत्काल सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार