पश्चिम सेती करिडोर ४०० केभी प्रसारण लाइनमा निजी लगानी आह्वान
जलसरोकार
काठमाडौं : पश्चिम सेती करिडोर ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनामा निजी क्षेत्रको सहभागिताका लागि लगानी आह्वान गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल)ले पुस २३ गते सर्वाजनिक सूचना जारी गर्दै उक्त लागनीको आशयपत्र पेश गर्ने आह्वान गरिएको हो ।
सार्वजनिक-निजी साझेदारी (एएए) मोडेलमा निर्माण गर्न लागिएको यस आयोजनाले सुदूरपश्चिम क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ ।
बझाङको चैनपुरदेखि डोटीको बनलेक (पश्चिम सेती) हुँदै कैलालीको दोदोेधरासम्म करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । यसमध्ये बझाङ-बनलेक खण्ड ६० किलोमिटर र बनलेक-डोडोधरा खण्ड ८५ किलोमिटर लामो हुनेछ । आयोजनाबाट करिब २ हजार ५ सय मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने क्षमता रहने कम्पनीले जनाएको छ ।
यस प्रसारण लाइनअन्तर्गत बझाङको चैनपुर र डोटीको बनलेकमा दुईवटा ४००/१३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसन निर्माण गरिनेछ । चैनपुर सबस्टेसनबाट सेती नदी-३, चैनपुर सेती, बझाङ अपर सेतीलगायत आयोजनाबाट उत्पादन हुने करिब ५१३ मेगावाट विद्युत् संकलन गरिनेछ भने बनलेक सबस्टेसनबाट पश्चिम सेतीलगायत अन्य आयोजनाबाट सन् २०३५ सम्म ८०० मेगावाटभन्दा बढी विद्युत् संकलन हुने अपेक्षा गरिएको छ ।
करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको लक्ष्यित सञ्चालन मिति आर्थिक वर्ष २०८८/८९ राखिएको छ । आरपीजीसीएलका अनुसार आयोजनाको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ ।
आरपीजीसीएलले जारी गरेको सूचनाअनुसार लगानी गर्न इच्छुक कम्पनी वा संस्थाले कम्पनीले जारी गरेको “विद्युत् प्रसारण आयोजना लगानी साझेदारी सम्बन्धी कार्यविधि, २०८२” अनुसार आवश्यक कागजातसहित सिलबन्दी दरखास्तका साथ आशयपत्र पेश गर्नुपर्नेछ । आशयपत्र दर्ताका क्रममा कम्पनीको बैंक खातामा १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस आयोजनाले सुदूरपश्चिम क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजनाको विद्युत् सुरक्षित र भरपर्दो रूपमा राष्ट्रिय ग्रिडमा जोड्न सहयोग पुग्ने तथा क्षेत्रीय आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँ सरकारको बाटो: ऊर्जा, उद्योग र रोजगारी
-
सार्वजनिक कम्पनी, तर सूचना अझै अँध्यारोमा: पुरानै वित्तीय विवरणमा अडिएको भुगोल इनर्जीमाथि पारदर्शिताको गम्भीर प्रश्न (वित्तीय विश्लेषणसहित)
-
नेप्सेमा उच्च गिरावट, ४६.७८ अंकले घट्दा कारोबार रकम पनि घट्यो
-
डोल्ती पावर लिमिटेड : सञ्चालकको विवरण छैन, एजीएम रिपोर्ट छैन, फोन उठ्दैन, तर हकप्रद उठाउने तयारी
-
‘स्वच्छ हावा’का लागि विश्व बैंकसँग फेरि ७ अर्ब ६० करोड रुपैयाँ ऋण
-
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयरमा ‘लक–इन’ अवधि सकिँदै