गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिनको उद्घाटन, सिँचाइमा पाँच गुणा वृद्धि हुने
जलसरोकार
नवलपरासी : पश्चिम नवलपरासीको सेमरीमा निर्माण सम्पन्न भएको गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’ सञ्चालनमा आएको छ ।
दुई वर्षभन्दा बढी समय लागेर निर्माण सम्पन्न भएको यो परियोजनाको लागत रु ३५ करोड रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त ‘सेटलिङ्ग बेसिन’ को औपचारिक उद्घाटन आज गरेका हुन् ।
उक्त कार्यक्रम नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयद्वारा आयोजना गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले लामो समयदेखि भोग्दै आएको डुबान र सिँचाइ अभावको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘यहाँ रहेका छ वटा नदीमा तटबन्ध निर्माण आवश्यक छ र त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्न गम्भीर तयारी गरिरहेको छ ।’
मन्त्री खड्काका अनुसार आफू यो क्षेत्रमा दोस्रोपटक आएका हुन् र यहाँका समस्यासँग भिजेका छन्।
सिँचाइ क्षमता पाँच गुणाले वृद्धि
सांसद चौधरीले सेटलिङ्ग बेसिनको निर्माणपछि गण्डक नहरले पहिलेभन्दा पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा दिनसक्ने जानकारी दिए।
उनले भने, ‘३५ वर्षदेखि किसानले भोग्दै आएको सिँचाइ अभावको पीडा अब अन्त्य भएको छ। यस परियोजनाले किसानको जीवनस्तर उकास्नेछ ।’
सांसद चौधरीले डुबान समस्या समाधान गर्न दीर्घकालीन योजना अनुसार बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रीलाई यसमा पहल गर्न आग्रह गरे ।
सेटलिङ्ग बेसिन निर्माणको महत्त्व
वि.सं. २०३९ मा निर्माण भएको गण्डक पश्चिमी नहरको सिँचाइ क्षमता ८,७०० हेक्टर भए पनि नहरको मुहानमै बालुवा जम्ने समस्याका कारण हालसम्म केवल २० प्रतिशत जमिनमा मात्र सिँचाइ भइरहेको थियो।
नवीनतम सेटलिङ्ग बेसिन निर्माणपछि, बालुवा प्रवाह रोकिने भएकाले अब सम्पूर्ण क्षमताका साथ ८,७०० हेक्टर भूमिमा सिँचाइ सुविधा पुगोस् भन्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति
-
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदार आन्दोलन, काम ठप्प
-
महाकाली सिँचाइ आयोजना : नहर निर्माण पूरा, पानी प्रवाह अझै अन्योलमा