ओखरपौवा–तीनपिप्ले खण्डमा २२० केभी प्रसारण लाइन निर्माण हुँदै
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा–तीनपिप्ले खण्डमा उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । उक्त प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) को तयारी गरेको जनाएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री–बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागिएको हो। सो प्रसारण लाइन काठमाडौँको तीनपिप्लेमा जोडिनेछ । तीनपिप्ले क्षेत्रमा प्राधिकरणले सवस्टेशन निर्माणको कामसमेत अघि बढाइरहेको छ ।
प्रस्तावित प्रसारण लाइन धादिङ जिल्लाको धुनीबेँसी, नुवाकोट जिल्लाको ककनी हुँदै काठमाडौँ महानगरपालिकाको तारकेश्वरस्थित तीनपिप्लेसम्म विस्तार हुने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन तथा सवस्टेशन आयोजना कार्यान्वयनका क्रममा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरण, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित प्रभावको अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययनका आधारमा तयार पारिएको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदालाई सरोकारवालाबाट प्राप्त सुझाव समेटेर थप परिमार्जन गर्ने तयारी गरिएको हो ।
यसैक्रममा प्राधिकरणले आज धुनीबेँसी नगरपालिका–१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने जनाएको छ । यसअघि सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेको प्राधिकरणले जानकारी दिएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुहरू प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको स्पष्टोक्ति छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा