सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी

जलसरोकार
शनिबार, असार ०६, २०८३ | ०७:०६:३३ बजे

काठमाडौं : देशका अधिकांश भूभागमा मनसुनी प्रभाव कायम रहे पनि पश्चिमी तथा मध्य तराईका केही जिल्लामा अत्यधिक गर्मी र तातो हावाको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार (असार ६ गते) का लागि जारी गरेको मौसम पूर्वानुमान तथा चेतावनी बुलेटिनमा लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका केही तराई जिल्लामा गर्मीको प्रभाव रहने जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालका कोशी प्रदेशका केही भूभागमा मनसुनी वायु सक्रिय रहेको छ भने देशको अन्य भूभागमा स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।

शनिबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

यद्यपि देशका अधिकांश तराई भूभागमा वर्षाको सम्भावना न्यून रहेको छ। विशेषगरी लुम्बिनी प्रदेश, मधेस प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा अधिकतम तापक्रम बढ्ने र तातो हावाको प्रभाव देखिन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

महाशाखाले जारी गरेको दुईदिने चेतावनी नक्सामा बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, रूपन्देही, नवलपरासी (पश्चिम), दाङ, रौतहट, बारा, पर्सा तथा आसपासका जिल्लालाई ‘सचेत रहनुपर्ने’ (Yellow Alert) श्रेणीमा राखिएको छ। यी क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनस्वास्थ्य, कृषि तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

मौसमविद्हरूका अनुसार मनसुन अझै देशभर समान रूपमा सक्रिय हुन नसकेकाले पूर्वी तथा पहाडी क्षेत्रमा वर्षा भइरहँदा पश्चिमी र तराई भूभागमा गर्मीको प्रभाव कायम रहेको हो। उनीहरूले अत्यधिक घाम लाग्ने समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष हेरचाह गर्न सुझाव दिएका छन्।

विभागले मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा अवलोकन गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : शनिबार, असार ०६, २०८३ | ०७:०६:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया